पर्वतमा भिषण पहिरो : पुरिएका ८ को शव भेटियो, अझै एक वेपत्ता
पर्वतको कुश्मा नगरपालिका वडा नं. ३, दुर्लुङमा गएराति गएको पहिरोमा पुरिएका आठ जनाको शव भेटिएको छ । शनिबार रातिको पहिरोमा पुरिएका नौ जनामध्ये राति नै तीन जनाको र आइतबार पाँच जनाको शव भेटिएको थियो ।
स्थानीय तुलबहादुर थापा र कमला विकको घर पहिरोमा पुरिँदा नौ जना बेपत्ता भएका थिए । पहिरोमा पुरिएका तुलबहादुर थापा, नीलकुमारी थापा, दीपा थापा, विविशा थापा, विवेक थापा, सम्राट थापा, कमला विक, प्रमिसा विकको शव भेटिएको भेटिएको र बेपत्ता भनिएका कमला विकका छोरा जेनिस विकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
कुश्मा नगरपालिका वडा नं। ३ का वडा अध्यक्ष तेजप्रसाद पाध्याले शनिबार रातभर र आइतबार दिउँसोसम्म उद्धारको काम भइरहेको र बेपत्ता एक जनाको खोजी भइरहेको जानकारी दिनुभयो । राति पनि भीषण वर्षा भएको र अँध्यारोका कारण खोजीकार्य गर्न कठिन भएकाले बिहानैदेखि नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सक्रियतामा खोजीकार्य जारी राखिएको अध्यक्ष पाध्याले बताउनुभयो ।
स्थानीय सागर गिरीका अनुसार पहिरो धेरै माथिको जङ्गलबाट खसेको थियो । घरदेखि माथि ठूला ठूला बारी तथा समथर खरबारी रहे पनि पाहिरोले सबै बगाएको छ । ‘पहिरो नै बगाउने जस्तो भूगोल छैन, पहिरो सुरु भएको माथिल्लो भागमा पनि ठूलाठूला बारी छन्, तल पनि बारी तथा समथर खरबारी छ तर ती सबै बगाएर लगेको छ ।’ गिरीले भन्नुभयो । रासस