‘ओलीभक्त’ गुरुलाई रेल्वे कम्पनीको जिम्मा, सर्बत्र आलोचना

मूलखबर संवाददाता
काठमाडौं, ३१ जेठ ।

सरकारले रेल्वे कम्पनीको महाप्रबन्धकमा इन्जिनियर गुरु भट्टराईलाई नियुक्त गरेपछि सर्बत्र आलोचना शुरु भएको छ । बिहीबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले भट्टराईलाई रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिएका थिए।

रेल्वे जस्तो बहुआयामिक र रणनीतिक महत्वको क्षेत्रको जिम्मा दिएका व्यक्तिको नियुक्तिमा किन सर्बत्र आलोचना शुरु भयो त ? यसबारेमा उनले नियुक्त भएपछि लेखेको एउटा स्टाटसमात्रै हेर्दा पनि धेरै थाहा हुन्छ । उनी क्षमताले भन्दा पनि प्रधानमन्त्री केपी ओलीको अन्धभक्त भएकै कारण त्यो पद पाएको देखिएको छ ।

अर्थमन्त्री खतिवडाले निर्णय सार्वजनिक गरेको केही बेरमा भट्टराईले ट्वीट गरे- ‘मन्त्रिपरिषदले नेपाल रेल्वेको महाप्रबन्धक पदमा मलाई नियुक्त गरेकाले सम्मानीय प्रधानमन्त्री तथा माननीय मन्त्रीज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। सुखी नेपाली समृद्ध नेपालका प्रमको यो अभियानमा एउटा सारथी बन्ने जिम्मेवारी पाएकोमा गौरवान्वित छु। पाएको जिम्मेवारी निस्स्वार्थ ढंगले पूरा वहन गर्ने प्रण गर्दछु। आफूलाई सधैं नागरिक अडिटमा राख्न चाहन्छु। नेपालमा रेल्वे युगको सुरुवात गर्ने प्रम केपी ओलीको सपनाको सारथी बन्न पाउँदा आफूलाई भाग्यमानी ठानेको छु’

भट्टराईको नियुक्तिको निर्णय सार्वजनिक भएसँगै उनको योग्यतालाई लिएर प्रश्न उठेको छ। त्योभन्दा ठूलो प्रश्न उनको आचरणलाई लिएर उठेको छ।

उनी प्रधानमन्त्री केपी शर्मा ओलीको सार्वजनिक रूपमै भक्तिगान गर्ने, पार्टीभित्र र बाहिर ओलीका आलोचक, प्रतिपक्षी दलका नेता तथा आलोचनात्मक दृष्टि राख्ने पत्रकारलाई सामाजिक सञ्जालमा गाली र निन्दा गर्नमा माहिर छन्।

महोत्तरीको बर्दिबासका भट्टराईले ओलीको प्रशंसामा अनलाइन पोर्टलहरूमा धेरैपटक लेख लेखेका छन्।

सेतोपाटीमा यसबारे एक समाचार प्रकाशीत गर्दै भनिएको छ, प्रधानमन्त्री ओलीसँग असहमत हुने वा उनका आलोचकलाई भने तल्लो स्तरका गाली गर्ने, तथानाम भन्ने, हियाउने र अश्लील तस्बिरसमेत सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन्।

माल्दिभ्सका विभिन्न कम्पनीमा काम गरेर सात महिनाअघि नेपाल फर्किएपछि उनले त्यस्तो निन्दालाई झनै तीव्रता दिएको देखिन्छ। उनको गाली र निन्दाको तारोमा पर्नेमा पत्रकार अग्रपंक्तिमा छन्।

भट्टराईलाई यस्तो सरकारले रेल्वे कम्पनीको महाप्रबन्धक नियुक्त गरेको छ, जसले सामाजिक सञ्जालमा व्यक्तिहरूको मानमर्दन भयो भनेर त्यसलाई नियन्त्रण गर्न सूचना प्रविधि विधेयक संसदमा दर्ता गराएको छ।

सामाजिक सञ्जालमा अर्काको गाली बेइज्जती गर्ने, होच्याउने, हियाउने र अश्लील सामग्री पोस्ट गर्नेलाई कडा कारबाही हुने प्रस्ताव उक्त कानुनमा छ। प्रधानमन्त्री ओली आफैंले पनि पटक(पटक सामाजिक सञ्जाल अशिष्ट भएको भन्दै भाषण गर्ने गरेका छन्।