लकडाउनको ७८ औं दिन : घटेन कोरोना संक्रमण, थपिए ३२३, जम्मा ४०८५

मूलखबर संवाददाता
काठमाडौं, २७ जेठ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमणको रोकथामको लागि जारी गरिएको लकडाउनको नेपालमा ७८ औं दिन पुगेको छ ।

सरकारले गत चैत ११ गतेबाट घोषणा गरेको लकडाउनलाई सातौं पटक थप गरी जेठ ३२ सम्म जारी गरेको छ । लकडाउन बढिरहँदा जनजीवन प्रभावित भइरहेको छ तर कोरोना संक्रमणको दर भने घट्नुको बदला बढिरहेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसबाट थप ३ सय २३ सङ्क्रमित भएका छन् । योसँगै सङ्क्रमितको कुल सङ्ख्या चार हजार ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिएका छन् ।

त्यसैगरी गत २४ घण्टामा थप ९६ जना डिस्चार्ज भएका छन् । आजसम्म कुल डिस्चार्ज हुनेको सङ्ख्या ५८४ पुगेको छ । त्यसैगरी, आजसम्म कोरोना भाइरसको सङ्क्रमणबाट १५ जनाको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

पछिल्लो अवधिमा चितवनमा भरतपुर ११ का मृत्यु भएका एक पुरूषमा कोरोना भेटिएको छ । हिजो पोजेटिभ भेटिएकोमा बिहान मृत्यु भएको जानकारी दिइएको छ ।