युएईबाट पहिलाे उडानमा आए १६८ जना नेपाली
काेराेनाका कारणले समस्यामा परेका नेपाली नागरिकहरूलाई स्वदेश ल्याउने क्रममा युएईबाट पहिलाेपटक जहाज आएकाे छ । जहाज साँझ ६ बजेर १० मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण गरेकाे हाे ।
युएईबाट १ सय ६८ जना नेपाली लिएर एयर अरेबियाको जहाज काठमाडौं आइपुगेको छ। कोरोना भाइरसको महामारीका कारण घर फर्किएका नेपाली लिएर एयर अरेबियाको जी नाइन १७९१ नम्बरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले सो विमानमा १६८ जना नेपाली आएको बताए। उक्त जहाज दिउँसै आउने भनिए पनि नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा जहाज उडानमा ढिलाइ भएको थियो। दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने तयारी भएपछि ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल श्रोतले जनाएको छ।
यूएईबाट नेपाल उडान हुने भनेपछि बिहानैदेखि विमानस्थलमा नेपालीहरु पुगेका थिए । सुरुमा यूएईको स्थानीय समय अनुसार १० बजेर ५५ मिनेटको बोर्डिङपास दिइएको थियो । नेपालीलाई एकपटक जहाजमा राखेर फेरि ओरालिएको थियो । त्यसपछि क्वरेण्टीनमा बस्छु भन्ने कागजमा सही गराएपछि यात्रु लिएर जहाज नेपालतर्फ उडेको हो । फर्कने नेपालीको कोरोना जाँच भएको छैन ।
सरकारले विदेशबाट फर्काइने नेपालीको साथमा कोरोना जाँचको रिपोर्ट अनिवार्य हुनुुपर्ने मापदण्ड बनाएको छ । तर यूएईले आफ्नै खर्चमा एकसय ६८ सिट क्षमताको जहाजमार्फत पठाउने भनिएको उडान भने हुन सकेन । अहिले विमानस्थलमा पुगेका नेपालीहरु भने साथमा पैसा, पासपोर्ट र टिकट हुनेहरु हुन् ।
उनीहरुलाई टिकटको व्यवस्था कम्पनीले गर्यो या आफैं टिकट काटे भन्नेबारे खुलेको छैन । साथमा पैसा र टिकट काट्न सक्नेहरु विमानस्थल पुगे पनि अन्यको हकमा भने अन्यौल भएको छ ।