कोरोनाको मनोवैज्ञानिक उपचार

मूलखबर संवाददाता
काठमाडौं, २७ बैसाख ।

कोरोना अर्थात कोभिड १९ को महामारीबाट विश्व नै आतंकीत छ । एक जिवाणुको संक्रमणले मानव जिवन एकै चोटी यतिधेरै आतंकीत बनेको यो पहिलो पटक नै हो । अत्यन्तै चाँडो फैलिन सक्ने यो भाइरस चिनको वुहानमा देखिएको यो भाइरसको संक्रमण ६ महिनामा विश्वको लगभग सबै देशमा पुग्नुले यसको संक्रमणको गति मापन गर्न सकिन्छ । चिनबाट युरोप हुँदै फैलिएको यो भाइरसले अमेरिका, अष्ट्रेलिया, एशीया अफ्रिका सबैलाई तबाह तबाह बनायो र यसबाट नेपाल पनि अछुतो बन्न सकेन ।

यो लेख लेखिरहँदा विश्वभर ६५ लाख ६७ हजार बढिमा यसको संक्रमण देखिएको छ । नेपालमा पनि २३ सय जनामा यसको संक्रमण देखिएको छ । यसबाट संक्रमितहरुमध्ये ३ लाख ८७ हजार भन्दा वढिले ज्यान गुमाएका छन् भने ३१ लाख ६४ हजार बढिले यसबाट मुक्ति पाएर घर फर्केका छन् । यसबाट सबैभन्दा धेरै अमेरिकी नागरिकले ज्यान गुमाएका छन् भने विश्वभर करिब २ सय नेपालीले समेत ज्यान गुमाएका छन् । भाइरसको पहिलो संक्रमित चिनले यसबाट मुक्तिको घोषणा गर्दै जारी लकडाउन हटाइसकेको छ भने युरोपका देशहरुमा मृत्युदर घटेको र संक्रमण दर घटेको भन्दै लकडाउन खुकुलो गरी दैनिक जनजीवनलाई सञ्चालन गरिसकेका छन् । अमेरिकाले लकडाउन नै नगरी पेलेर अगाडि वढिरहँदा धेरै नागरिकले ज्यान गुमाएका पुष्टि भएको छ ।

विश्वभरको अनुभव र मनोवैज्ञानिक असरलाई दृष्टिगत गरी यस लेखमा कोरोना भाइससको संक्रमण के हो, कसरी बच्न सकिन्छ र कसरी परास्त गर्न सकिन्छ भन्ने विषयमा मनोवैज्ञानिक ढंगले केही चर्चा गर्न खोजिएको छ ।

संक्रमितको संख्या पढेर आतंकीत नबनौं, एक्टीभ केश (बिरामी र उपचाररत) को संख्या हेरेर सतर्क बनौं, कोरोना मुक्त भएर फर्कनेको संख्या र अनुभव पढेर आत्मबल बढाऔं । संक्रमितको पहिचान गर्नु भनेको कोरोनाको प्रभाव क्षेत्र र विस्तार दर थाहा हुन्छ, बिरामी थाहा पाउनु र उसको अवस्थाको बारेमा जानकारी दिनु भनेको कोरोनाले कस्तो अवस्था सिर्जना गर्छ भन्ने जानकारी गराउनु हो र कोरोना मुक्त भएर फर्कनेको संख्या भनेको आशा सञ्चार गराउनु हो । कोरोना संक्रमणबाट मुत्तः हुनेको अनुभव पढौं, उनीहरुलाई कस्ता लक्षण देखिए त्यो सुक्ष्म ढंगले अनुसन्धान गरौं, र आफू र आफ्ना वरपर त्यस्ता लक्षणहरु देखिएका कोही छन् की छैनन् अनुगमन गरौं । कोरोना लागेको कसरी थाहा पाउने देश विदेशका अनुभवहरु अध्ययन गरौं । कोरोना परिक्षणको दायरा बढाइरहँदा संक्रमितको संख्या त बढ्छ नै । त्यसबाट किन आत्तिनु पर्यो ।

कोरोना कुनै अपराध होइन, यो त भवितव्य हो, यो त विश्वव्यापी महामारी हो । कोरोना लाग्दैमा मरिहाल्ने पनि होइन । कोरोना परिक्षणको दुई विधि आरडिटि र पिसिआरमध्ये कुनबाट कोरोनाको जिवाणु देखिएको हो राम्रो सँग बुझौं । आरडिटिबाट देखिएको पोजिटिभ रिपार्टबाट आत्तिनुपर्ने कुनै कारण नै छैन । पिसिआर विधिबाट नाक र घाँटीको स्वाब परिक्षण गरेपछि मात्रै वास्तविक रुपमा कोरोना संक्रमण पुष्टि हुन्छ । त्यसकारण मिडियामा आएका समाचारकै आधारमा आतंकीत नबनौं । आफूले सावधानी अपनाऔं, अरुलाई सावधानी अपनाउन आग्रह गरौं । स्वनियमन र स्वअनुसासनमा बसौं । भिडभाडमा आफूले माक्स प्रयोग गरौं, अरुलाई माक्स प्रयोग गर्न लगाऔं । भिडभाडमा जाँदा एक अर्काबीचको दुरी कायम गरौं, शारिरीक मात्रै होइन, भौतिक दुरी र सामाजिक दुरी भनेअनुसार कायम गरौं ।

सामाजिक दुरी भनेको के हो ?

सामाजिक दुरी भनेको विषयमा धेरैले धेरै कुरा गरेको देखिन्छ । तर वास्तवमा सामाजिक दुरी भनेको एक अर्का बीचको दुरी होइन । एक अर्काबीचको सम्वन्ध नै दुरीमा राख्ने भनेको हो । त्यो भनेको एकले प्रयोग गरेको सामान (खाने भाँडा, टावेल, कपडा, कागज र धातुका सामग्रीहरु) अर्काले प्रयोग नगर्ने, कुनै सामान छोएपछि सावुनले हात धुने, स्यानिटाइजरको प्रयोग गर्ने, एक अर्काबीच कम्तिमा एक मिटर दुरी कायम गरेर भेट गर्ने, भेट गर्दा माक्स अनिवार्य रुपमा लगाउने हो ।

नेपालमा कोरोना संक्रमितमा कुनै लक्षण नै देखिएका छैनन् । यो गम्भीर अवस्था हो । परिक्षणमा पोजिटिभ देखिए पनि लक्षण नदेखिनाले हेलचक्र्याई गर्ने प्रवृत्ति पनि छ तर यस भाइरसको प्रवृति अनुसार व्यवहार गर्न सक्नु पर्दछ । शुरुमा संक्रमण हुने वित्तिकै भाइरस केही दिन घाँटीमै रहने र त्यस अवस्थामा यसको उपचारमा ध्यान दिने तातोपानी खाने र वाफ लिने गर्नाले यसको संक्रमणबाट मुक्त हुन सकिने विज्ञहरुको सुझाव र संक्रमितहरुको अनुभव छ । यदि त्यस अवस्थाबाट भाइरस अगाडि बढ्यो भने वा नियन्त्रण हुन सकेन भने त्यसले गर्ने आक्रमण फोक्सोमा हो । फोक्सोमा संक्रमण विस्तार भएपछि यसले श्वास प्रश्वासमा समस्या ल्याउन सक्छ । त्यतिवेला सहि उपचार पाएमा वा भ्यान्टीलेटर उपलव्ध भएमा उपचार हुन सक्ने देखिएको छ ।

कोरोना संक्रमीतको संख्या बढिरहँदा यसले मनोवैज्ञानिक रुपमा आतंक सिर्जना गर्ने गरेको देखिन्छ । कोरोना अरुलाई देखिँदा सम्म आतंकीत हुने हो भने आफैंमा आयो भने के गर्ने त ? आत्महत्या नै गर्ने त ? विल्कुल त्यसो गर्ने होइन । अरुमा देखिएको समाचार पढेर र हेरेर आतंकित हुने होइन, सतर्क हुने हो । अरुको संक्रमण आफू सम्म आउन नदिन के गर्ने त्यो सावधानी अपनाउने हो । कसरी सर्न सक्छ ती माध्यमहरु उपयोग नगर्ने हो । ज्वरो, रुघाखोकी, घाँटी खसखस गर्ने भएमा स्वास्थ्यकर्मीको सल्लाह लिने र श्वास प्रश्वासमा समस्या देखिए तत्काल अक्सिजन उपल्वध हुने गरी खुल्ला स्थानमा बस्ने, पोजिसन चेन्ज गरिरहने र अझै गाह्रो भएमा अस्पतालमा भ्यान्टीलेटरमा राख्ने व्यवस्था गर्ने हो ।

कोरोना संक्रमण हुने वित्तिकै ज्यान जाने विष होइन । यसको आफ्नो अवधि र परिधि हुन्छ भन्ने कुरा मनन गरौं । लागीहालेमा पनि आतमबल दहे गर्ने, पौष्टिक आहार खाने, इम्युनिटि पावर बढाउने खालका भोजन सेवन गर्ने, शारिरीक व्यायाम गर्ने र नकारात्मक समाचारहरु नसुन्ने नहेर्ने गरेमा कोरोनालाई जित्न सकिन्छ भन्ने कुरा मनन गर्ने । सफलताका कथाहरु पढ्ने, असफलताका कथाहरु नपढ्ने । स्वास्थ्य संस्थाहरुमा विभिन्न माध्यमहरुबाट संक्रमणको जोखिम हुन्छ सकेसम्म र अतवश्यक नभएसम्म स्वास्थ्य संस्थाहरुमा नजाने । बाहिरबाट ल्याएका सामान र सामग्रीहरु निर्मलीकरण र डिसइन्फेक्टेन्ट गरेर मात्रै उपयोग गर्ने, पैसाहरु र कागज, पलाष्टिक उपयोग गर्दा विशेष सावधानी अपनाउने गरेमा संक्रमण हुनबाट बचन सकिन्छ ।

मुख्यत कोरोना केही होइन जितिन्छ भन्ने मनोभाव विकास गरौं, सकेसम्म लाग्नै नदिन सावधानी अपनाऔं, लागिहालेमा आत्मबल दहे र जीवन शैलि परिवर्तन गरी अरुलाई संक्रमण हुन नदिन र आफूबाट संक्रमण हटाउन लागि परौं । सकिन्छ कोरोनालाई जित्न । विश्वभर ८० लाख मानिस संक्रमित हुँदा करीब ३० लाखले कोरोना जितिसकेका छन्, यसबाट मृत्युदर सरदर करीब ३ प्रतिशत मात्रै देखिएको छ । नेपालमै २३ सय संक्रमित देखिएकामा जम्मा ९ जनाको मृत्युमा कोरोना सहायक बनेको पाइएको छ । दिर्घ रोग, निमोनिया र अशक्तहरु यसको शिकार हने तथ्य मात्रै होइन, पौष्टिक तत्वको अभाव, खानेकुराको अभाव, भोक रोग र गरीबी यसको प्रमुख कारक बनेको देखिएको छ ।

क्वारेन्टाइन वा आइसोलेसनमात्रै पनि समस्याको समाधान होइन, लक डाउन मात्रै पनि यसको समाधान होइन, यसबाट सावधानीपुर्वक जुधेर मात्रै यसमाथि विजय प्राप्त गर्न सकिन्छ । सावधानीपुर्वक जुधौं, कोरोना परास्त गरौं ।