अब तीन दिन हावाहुरी, चट्याङ र वर्षा !
प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए ।
उनले भने, “प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।” मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपरान्ह तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।
आगामी तीन दिन अपरान्ह तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ । सामान्यतया नेपालमा जुन १० देखि मनसुन सुरु हुने गर्छ । मनसुन भित्रन अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशको पूर्वी भूभाग तथा मध्य पहाडी भूभागको केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मध्यान्हपछि मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति देशको पूर्वी तथा मध्य भूभागमा केही स्थानका साथै पश्चिमी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार देशको पश्चिमी भूभागका केही स्थान र मध्य तथा पूर्वी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले औँल्याएको छ । शुक्रबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली भई पूर्व र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।
महाशाखाको पछिल्लो विवरणअनुसार बुधबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव ३ डिग्री र अधिकतम् तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस रहने छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ४१ दशमलव ३ डिग्री सेल्सियस रहने छ ।