कोरोना कहर : आजसम्म ४८,८१५ पिसिआर परिक्षण, १९ थपिए, ८७ जना निको भए, जम्मा संक्रमित ६०३

मूलखबर संवाददाता
काठमाडौं, ११ जेठ ।

नेपालमा कोरोना भाइरसको परिक्षणको दर बढिरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  आज मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अहिलेसम्म जम्मा पिसिआर परिक्षणको संख्या ४८ हजार ८ सय १५ रहेको छ भने आरडिटी परिक्षणको संख्या ९० हजार २६ पुगेको छ । २४ घण्टाभित्र पिसिआर विधिबाट २ हजार ८ सय ५६ वटा र आरडिटि विधिबाट ३ हजार ७ सय ९१ वटा परिक्षण गरिएको छ ।

त्यसैगरी देशभर गरी आजसम्म ३९ हजार ८ सय ४ जना क्वारेन्टाइनमा रहेको तथा कोरोना पुष्टि भएका र आइसोलेसनमा रहेका ५१३ जना रहेका छन् ।  त्यसैगरी आज सम्म कोरोना जितेर उपचार पछि  ८७ जना डिस्चार्ज भएका छन् ।

आज पिसिआर विधिबाट कोरोना पुष्टि भएका नयाँ संक्रमितको संख्या १९ जना थपिएको छ । जसमा मोरङ, बारा, पर्सा, रुपन्देही, नुवाकोटलगायतका जिल्लाका रहेका छन् ।

यस सँगै आज सम्म नेपालमा कोरोना संक्रमितको संख्या जम्मा ६०३ जना पुगेको छ  । त्यसैगरी कोरोना संक्रमणबाट प्रभावित जिल्ला ४२ पुगेको छ । मन्त्रालयका सहसचिव विकास देवकोटाले संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।