पाकिस्तानमा एयरबस दुर्घटना, ८६ जनाको ज्यान गयो

मूलखबर संवाददाता
काठमाडौं

पाकिस्तान, १० जेठ

कोरोनाका कारण भएको २ महिना लामो लकडाउन खोलेर केही दिन अघि मात्रै शुरु भएको पाकिस्तान विमान सेवाको एक यात्रुवाहक विमान शुक्रबार दिउँसो दुर्घटनामा पर्दा करिब ९० जनाको ज्यान गएको छ ।
पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना हुँदा कम्तीमा ८६ जनाको मृत्यु भएको हो । विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।

पाकिस्तान अन्तर्राष्ट्रिय वायुसेवाको एअरबस ए३२० विमान कराची शहरको सघन आवासीय क्षेत्र मोडेल कोलोनीमा दुर्घटनाग्रस्त भएको थियो।

फ्लाइट पीके ८३०३ मा ९१ जना यात्रु र आठजना चालकदलका सदस्यहरू थिए र उक्त विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने प्रयासमा थियो।

अधिकारीहरुले अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या अझ बढी रहेको जनाइएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको उनले जनाए ।

विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको परिवारका सदस्यहरुले उनीको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३।२ किलोमिटर बाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विमान स्थानीय समयअनुसार दिउँसो २।३० बजे दुर्घटनामा परेको हो ।

उक्त विमानका चालकले इन्जिनको शक्ति गुमेको जानकारी गराएका थिए र त्यसपछि विमान संकटमा रहेको सूचना मेडे जारी गरेका थिए।

विमान दुर्घटना हुनुको कारण पुष्टि हुन बाँकि छ। पीआइएका प्रमुख कार्यकारी एअर भाइस मार्शल अर्शद मलिकले भनेका छन् विमान चालकले ट्राफिक कन्ट्रोललाई उक्त विमानले केही प्राविधिक समस्याहरू बेहोरिरहेको बताएका थिए।

विमानले दुर्घटनामा पर्नु अघि एक पटक विमानस्थलमा अवतरण गर्ने प्रयास पनि गरेको थियो तर विमानचालकहरूले दोस्रो पटक प्रयास गर्ने निर्णय लिएका थिए।

ब्यांक अफ पन्जाबका अध्यक्ष जफर मसुद उक्त विमानका एकजना यात्रु थिए र उनी बाँच्न सफल भएका बताइएको छ। अर्का जिवित व्यक्तिको नाम मुहम्मद जुबैर रहेको बताइएको छ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफू उक्त दुर्घटनाबाट स्तब्ध र दुस्खी भएको बताउँदै यस विषयमा तत्काल अनुसन्धान थाल्ने प्रतिबद्धता जनाएका छन्।

कोरोनाभाइरस महामारीका कारण अवरुद्ध आन्तरिक वायुसेवा दुई महिनापछि भर्खरै सञ्चालनमा आएको थियो।