एकैदिन २१ जना डिस्चार्ज, निको हुने ७० पुगे, नयाँ ३० थपिए, जम्मा संक्रमित ४८७

मूलखबर संवाददाता
काठमाडौं, ९ जेठ

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को संक्रमण नेपालमा बढिरहँदा निको हुनेको संख्या पनि बढिरहेको छ । आज एकैदिन बाँकेका २१ जना संक्रमित उपचारपछि निको भएर घर फर्केपछि नेपालमा निको हुनेको संख्या ७० पुगेको छ ।

बाँकेको खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसनमा रहेका २७ जना कोरोना संक्रमितमध्ये २१ जनाको दोस्रो रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको हो ।
दोस्रो पटक पनि कोरोना जाँच गर्दा नेगेटिभ नतिजा आएपछि उनीहरुलाई शुक्रबार घर पठाइएको डाक्टर राजन पाण्डेले बताए । डिस्चार्ज हुनेहरुमा ९ जना महिलासहित १२ जना पुरुष रहेका छन् । जसमा तीन जना बालक रहेका छन् ।

डिस्चार्ज हुनेमा पहिलो संक्रमित भनिएका भएका ६० वर्षीय वृद्ध पनि छन् । उनीहरु सबै नेपालगन्ज उपमहानगरपालिका–८ अन्सारी टोलका रहेको डा। पाण्डेले बताए । आइसोलेसनबाट डिस्चार्ज हुँदै गदाए उनीहरु सबैको अनुहारमा खुसी छाएको थियो ।

देशमै पहिलोपटक ठूलो संख्यामा कोरोना संक्रमित निको भएर घर फर्किएका हुन् । आजै देशभर गरी ३० जना नयाँ संक्रमित पुष्टि भएका छन् । योसँगै नेपालभर स‌ंक्रमण पुष्टि भएका ४८७ जना पुगेका छन् । जसमध्ये निको हुनेको संख्या ७० पुगेको हो । कोरोनालाई जितेर घर फर्किंदा उनीहरुमा मुहार बेग्लै उत्साह थियो । निको भएर घर फर्कनेहरुलाई पालैपालो स्वास्थ्यकर्मीले गम्छा अनि हातमा फूल दिएर विदाई गरेका थिए ।

स्वास्थ्यकर्मीले उनीहरले घरमा बसेर के गर्ने, के नगर्ने भन्ने तालिका दिएर पठाएका छन् । कोरोनामुक्त हुनेहरु सबै नेपालगन्जका हुन ।

बाँकेमा गत वैशाख १९ गते पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाका ६० वर्षीय वृद्धमा कोरोना पोजेटिभ पाइएको थियो । बाँकेमा अहिलेसम्म १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये नरैनापुरका २५ वर्षीय युवकको मृत्यु भएको थियो ।

आजै चितवन र काठमाडौंमा प्रयोगशालामा गरिएको परिक्षणमा नयाँ संक्रमितको पुष्टि भएको हो । भरतपुर महानगरपालिका वडा नं ६ केशरवागका एक वृद्ध दम्पतीमा कोरोना पुष्टि भएको हो । उनीहरु उपचारको लागि भारत गएर फर्केका थिए ।
शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा थप ३० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ४ सय ८७ पुगेको हो ।

शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा नवलपरासी, चितवन, कपिलवस्तु, सर्लाहीका रहेका मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । संक्रमितहरुमा सर्लाहीकै मात्र १५ जना भएको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुमा (नवलपरासी बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेढी गाउँपालिकाका ४५ वर्षीय पुरुष, चितवनको भरतपुर महानगरपालिका ६ निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिला रहेका छन् । त्यस्तै नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका(५ र रामग्राम नगरपालिका ३ र १८ निवासी ३३ वर्षीय तथा ३५ वर्षीय पुरुष र १५ वर्षीया किशोरी रहेका छन् । कपिलवस्तुको वाणगंगा नगरपालिका र मायादेवी गाउँपालिकाका ८ वर्षीया बालिकासहित ९ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै सर्लाहीको गौडेता नगरपालिका र रामनगर बहुअर्वा गाउँपालिका ७ निवासी १५ जना रहेको मन्त्रालयले जनाएको छ । शुक्रबार संक्रमण पुष्टि भएकाहरुको उमेर समूह ८ देखि ७४ वर्ष रहेको छ ।