नेपालको नयाँ नक्सा सार्वजनीक, अब पुरानो नक्सा सबैतिर विस्थापित
नेपालको नयाँ अद्यावधिक राजनीतिक तथा प्रसासनिक नक्सा आज सार्वजनीक गरिएको छ । भारतले आफ्नो नक्सामा पारेको र नेपालको नक्सामा विगतदेखि नदेखिएको नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग समेटको नयाँ नक्सा सरकारले आज औपचारिक रुपमा सार्वजनिक गरेको हो ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री पद्यमा अर्यालले नक्सा सार्वजनिक गर्नुभएको हो ।
यसअघि मन्त्रिपरिषद्को बैठकले नेपालका ती भूभाग समेट्ने गरी नयाँ नक्सा प्रकाशित गर्ने निर्णय गरेको थियो । भने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या देवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितका भुभाग समेटिएको नक्सा बनाइने बताउनुभएको थियो ।
नक्सा सार्वजनीक गर्दै मन्त्री अर्यालले आजका मितिदेखि उप्रान्त सबै सरकारी कार्यलय, पाठ्य सामग्री र स्थानहरुमा पुरानो नक्साको सट्टामा नयाँ नक्सा उपयोगमा ल्याउन निर्देशन समेत दिनुभएको छ । मन्त्री अर्यालले नेपालको इतिहासमै धेरै ठूलो उपलव्धी भएको भन्दै प्रधानमन्त्री के पी शर्मा ओलीको प्रशंसा गर्नुभएको थियो भने यस कार्यमा दबाब दिने, सुझाव सल्लाह दिने र नक्सा तयार गर्ने काममा लाग्नुभएको सबैलाई धन्यवाद दिनुभएको थियो ।