लमजुङमा संक्रमित छैनन्, काठमाडौंमा बस्ने बालक रहेछन् : प्रजिअ
लमजुङका प्रमूख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्काले लमजुङमा कोही पनि कोरोना भाइरस कोभिड १९ को संक्रमित नरहेको स्पष्ट पारेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको र उनीहरुमध्ये एक लमजुङका भएको बताएको थियो । त्यसले जिल्लामा संक्रमित कहाँको भन्ने चासो बढेको तर संक्रमित लमजुङ स्थायी घर भएका भए पनि हाल त्यहाँ नरहेको उनले स्पष्ट पारेका हुन् ।
प्रजिअ० लक्ष्मणबहादुर खड्काका अनुसार संक्रमित ३ वर्षीय बालक रहेको र उनी काठमाडौं महानगरपालिका वडा नं १६ बनस्थलिमा बसिरहेको जानकारी पाइएको छ । उनले भने ‘लमजुङका एक व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयबाट थाहा पाएँ । तर उनी यहाँबाट नमुना संकलन गरिएका व्यक्ति होइनन् । काठमाडौंभित्रै नमुना संकलन गरिएको लमजुङ घर भएका बालक हुन् ।’
उनका अनुसार, पीसीआर विधिबाट कोरोना परीक्षण गर्न जिल्लाबाट ६१ नमुना संकलन गरिएको थियो । ती नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पोखरा पठाइएको थियो । यीमध्ये ५३ जनाको रिपोर्ट नेगेटिभ आइसकेको छ ।
पोखरा प्रयोगशालामा पठाइएका ८ जनाको रिपोर्ट भने आउन बाँकी छ ।