कोरोना कहर : लकडाउन सातौ पटक थप, जेठ २० सम्म थपियो
सरकारले जारी लकडाउनलाई १५ दिन थप गरी जेठ २० सम्म पुर्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार सम्पन्न मन्त्रीपरिषदको बैठकले नेपालमा कोरोना रोकथाम र नियन्त्रणको लािग जारी गरीएको लकडाउनलाई सातौ पटक थप गर्ने निर्णय गरेको हो ।
आजै बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले लकडाउन समय थप्न र थप व्यवस्थित बनाउन सिफारिस गरेको थियो । नेपालमा कोरोनाकै कारण २ जनाको ज्यान गएको पुष्टि भएपछि सरकारले लकडाउनलाई थप कडा र फराकीलो बनाउने निर्णय गरेको हो ।
आज सिंहदरबारमा बसेको बैठकले कोरोनाको रोकथामका लागि लकडाउनको उपादेयता भएको उल्लेख गर्दै यसलाई थप व्यवस्थित र कडाइ गर्न सिफारिस गरिएको समितिका सचिव नारायण बिडारीले बताएका थिए ।
समितिले जथाभावी रुपमा गरिएका थुनछेक अवरोध हटाउने र सबै स्थानमा प्रहरी परिचालन गनुपर्ने तथा आपूर्ति व्यवस्थालाई थप व्यवस्थित गर्नेजस्ता विषयमा पनि सिफारिस गरेको थियो ।
यस्तै स्थानीय स्तरमा क्वारेन्टाइन थप्न पनि बैठकले सिफारिस गरेको छ । लकडाउनको विषयमा अन्तिम निर्णय मनत्रीपरिषदको बैठकले गरेको हो ।