नेपालमा कोरोना : ६ जना भारतीय उपचार पछि कोशी अस्पतालबाट डिस्चार्ज
विराटनगर , २४ बैसाख
कोरोना संक्रमणपछि कोशी अस्पताल विराटनगरको कोभिड–१९ उपचार केन्द्रमा उपचारतः ६ जना भारतीय नागरिक उपचार पछि निको भएर डिस्चार्ज भएका छन् । उनीहरुले कोरोना भाईरस परास्त गरेपछि बुधबार डिस्चार्ज गरिएको हो।
कोरोना संक्रमणपछि गत बैशाख ५ र ६ गते अस्पताल भर्ना भएका उनीहरु डिस्चार्ज भएका हुन् । उदयपुरमा भेटिएका उनीहरुसँगै संक्रमण पुष्टि भएका बाँकी ७ जनामा अझै पोजेटिभ देखिएपछि उनीहरुको अस्पतालमै राखेर उपचार भईरहेको छ ।
अस्पतालले १३ जना संक्रमित अस्पताल भर्नापछिको १४ दिनमा पहिलो स्वाब गत शुक्रबार संकलन गरेको थियो । पहिलो स्वाबमा ६ जनामा नेगेटिभ र ७ जनामा पोजेटिभ देखिएको थियो । त्यसपछि दोस्रो र तेस्रो स्वाब संकलन गरेर परीक्षण गर्दा समेत ६ जनामा नेगेटिभ नै देखिएपछि उनीहरुको डिस्चार्ज गर्न सिफारिस गरिएको फिजिसियन डा. दिपक सिग्देलले बताउनुभयो ।
उहाँका अनुसार डिस्चार्ज भएकाहरुलाई १४ दिनसम्म क्वारेन्टाइनमा राखिने छ । उनीहरु भारतीय नागरिक भएका कारण विराटनगर रानीस्थित मदर्सामा राखेर अवस्था निगरानी गरिने भएको छ ।
सामान्य अवस्था रहिरहे १४ दिनपछि एउटा आरडिटी परीक्षण गरेर उहाँहरुलाई कोरोना भाइरस मुक्त प्रमाणपत्र दिनेछौं, डाक्टर सिग्देलले भन्नुभयो, कुनै समस्या बीचमा देखिए तत्काल परीक्षण हुनेछ ।