स्यावास् ! खानेपानी मन्त्रीका स्वकिय सचिव भट्टराई र व्यवसायी कँडेल जसले गरे यस्तो सहयोग

मूलखबर संवाददाता
काठमाडौं, १८ चैत

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को प्रकोपको रोकथाम गर्न नेपाल सरकारले एक हप्तादेखि देशभर लकडाउन गरेको छ । कोरोना रोकथामको लागि गरिएको लक डाउनका कारण सम्पूर्ण शैक्षिक संस्था, कल कारखाना, उद्योगधन्दा र प्रतिष्ठानहरु बन्द छन् जसले गर्दा नागरिकको जिवन झन पछि झन कष्टकर बनिरहेको छ । सरकारले कोरोना रोकथाम र उपचारको लागि कोष खडा गरेको छ भने अर्कातिर आफ्नो घरमा भाडामा बस्नेहरुलाई घरभाडा छुट दिन अपील पनि गरेको छ ।

सरकारले गरेका यी दुबै पहलमा साथ र सहयोग दिने मानिसहरुको संख्या भने त्यति बढेको छैन । यसै सन्दर्भमा खानेपानी मन्त्री विना मगरका स्वकिय सचिव विजयदेब भट्टराई र चितवन इच्छाकामना गाउँपालिका मुग्लीनका युवा व्यवसायी रामहरी कँडेलले आफ्नो समस्यालाई थाती राख्दै अरुको समस्यामा मल्हम लगाउने घोषणा गरेका छन् ।

स्वकिय सचिव भट्टराईले कोरोना रोकथाम र उपचार कोषमा आफ्नो पारिश्रमीकबाट १० हजार रुपैंया सहयोग गरेका छन् । केही दिन अघि नै आफूले चेकमार्फत १० हजार प्रदान गरेको घोषणा गरेका उनले आफूजस्तै मन्त्रीका स्वकिय सचिव र राजनैतिक नियुक्तमा आसिन सबैलाई कोषमा सहयोग गर्न अपील गरेका छन् ।

त्यसैगरी युवा व्यवसायी कँडेलले आफ्नो घरको एक महिनाको भाडा छुट दिने घोषणा गरेका छन् । कँडेलले एक महिनामा ५० हजार भाडा पाउने गर्दथे । उनले आफ्नो घरमा व्यवसाय गरिरहेका व्यवसायीलाई लकडाउनले समस्यामा पारेको कुरा मनन गर्दै उनलाई थोरै भएपनि राहत होस् भनेर भाडा छुटको निर्णय गरेको बताएका छन् । उनले सरकारले अपील गरेको कुराको स्वागत गर्दै त्यसलाई लागु गर्न सबै घर धनीहरुलाई आग्रह पनि गरेका छन् ।

स्वकिय सचिव भट्टराई र युवा व्यवसायी कँडेल दुबै जना उस्तै पृष्ठभुमि भएका र पीडा भएका नागरिक पनि हुन् । दुबैजनालाई माओवादी जनयुद्धको समयमा माओवादी प्रति आस्था राखेकै आधारमा तत्कालिन राज्इ पक्षले विना पुर्जि गिरफ्तार गरी अमानविय यातनाका साथ सेनाको भैरवनाथ गणमा बन्दी बनाएको थियो ।

पुर्व माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष समेत रहेका स्वकिय सचिव भट्टराइ शहीद परिवार पनि हुन् उनका दाजु विष्णु भट्टराईलाई सोही समयमा सेनाले काठमाडौ।मा गोली हानी हत्या गरेको थियो भने कँडेल वेपत्ता परिवार हुन् । उनका कान्छा भाई अमृत कँडेललाई तत्कालिन राज्य पक्षले गिरफ्तार गरी भैरवनाथ गणबाटै बेपत्ता पारेको थियो ।

दुबै जना युवाले आफ्ना र आफ्ना परिवारका सदस्यको अभावको पीडा र आफ्नो तत्कालिन पीडा र समस्यालाई एकातिर पन्छाएर कोरोनाविरुद्धको अभियानमा सहयोग गरेका हुन् । कँडेल ग्रील सटर उद्योग व्यवसायी हुन् । लकडाउनले उनको पनि व्यवसाय चौपट भएको छ । तर पनि उनी मुग्लीनबाट यो सन्देश दिइरहेका छन् की जतिसुकै पीडा भएपनि आफ्नो पीडालाई एकातिर पन्छाएर अरुको पीडामा मल्हम लगाऔं ।

हाम्रो पनि धन्यवाद मनकारी यी युवाहरुलाई ।