अन्तत : महरा निर्दोष ठहर, कारागारबाट माला लगाएर गरियो विदाई
काठमाडौं, ५ फागुन ।
पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्ला अदालत काठमाडौंले बलात्कारसम्बन्धी मुद्दामा सफाइ दिएपछि पुर्व माओवादी नेता कृष्णबहादुर महरा रिहा हुनुभएको छ ।
सोमबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए । जिल्ला अदालतले महराविरुद्ध अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
प्रतिवादी कृष्णबहादुर महराले तत्काल अनुसन्धानको क्रममा र अदालतमा दिएको बयान, जाहेरी दिने महिलाले घटना घटेको दिन महरा आफ्नो डेरामा आउँदै नआएको र आफूलाई कुटपिट नगरेको भन्ने बयान दिएको, परीक्षणका लागि पठाइएको गिलास र चश्मामा रहेको औँठाको छाप महराको औँठाको छापसँग तुलनात्मक रुपमा नमिलेकाले महरा निर्दोष ठहर भएको श्रेष्तेदार श्रेष्ठले जानकारी दिए ।
संघीय संसद् सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको थियो।
अदालतले सफाइ दिएसँगै महरा सोमबार नै जेलमुक्त हुने भएका छन्। पूर्वसभामुख महराले आफूमाथि बलात्कार प्रयासको आरोप लागेपछि असोज १४ गते राजीनामा दिएका थिए।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । सरकारी पक्षबाट उमाकान्त खनाललगायत वकिलहरूले जवाफ दिएका थिए ।
जिल्ला अदालत काठमाडौंले गत कार्तिक १८ गते निवर्तमान सभामुख महरालाई बलात्कार प्रयासको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।
जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगे पनि उच्च अदालत पाटनले एक महिनाभित्रै मुद्दाको टुंगो लगाउन आदेश दिएर जिल्ला अदालतको निर्णयलाई सदर गरेको थियो ।
गत असोज १९ गते पक्राउ परेका महरा कात्तिक १८ देखि पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान भएका थिए । महरामाथि असोज १२ गते शाहीलाई बलात्कारको प्रयास गरेको आरोप लागेको थियो ।
महराको स्वागतमा डिल्लीबजार कारागार बाहिर नेकपा नेताकार्यकर्ताको घुइँचो लागेको छ । कारागारबाट महरालाई माला लगाएर विदाई गरिएको छ । महरालाई डिल्लीबजार कारागारमा रहेका नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेश चन्द ठकुरी, सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालालगायतले माला लगाएर विदाइ गरेका हुन् ।