जनयुद्धले गणतन्त्र अाएकाे हाे, जनयुद्धलाई अपमान गर्ने छुट कसैलाई छैन : अनन्त

मूलखबर संवाददाता
काठमाडौं

ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले माओवादी १० वर्षे जनयुद्धकै कारण नेपालमा गणतन्त्रसहितका राजनीतिक परिवर्ततन भएको बताएका छन् । उनले राजनीतिक परिवर्तनका लागि जनयुद्धको भूमिका नबिर्सन आग्रह गरे ।

शहिद वेपत्ता योद्धा सन्तती फाउण्डेसनको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै उनले जनयुद्ध इतिहासको आवश्यकताका आधारमा चलाइएको राजनीतिक र सामाजिक अभियान भएको बताए ।

शहिदको सपना पूरा गर्ने अभियानमा सरकार लागिरहेको उनले स्पष्ट पारे । देशका पछिल्ला परिवर्तनहरु शहिदहरुको कारण पूरा भएको भन्दै शहिद तथा बेपत्ता परिवारलाई रोजगारी दिलाउन सरकार प्रयत्नशील रहेको मन्त्री पुनले बताए । ‘नेकपाको सरकार यसअघि पनि शहिदको पूरा गर्नतिर लागेको छ । शहिदहरुले बलिदान नगरेको भए देशमा यो परिवर्तन सम्भव थिएन’, मन्त्री पुनले भने, ‘शहिद तथा वेपत्ता परिवारका सदस्यलाई रोजगारी दिलाउनका निम्ति पूर्ण रुपमा प्रतिबद्ध छौं, लागिरहेका छौं ।’ मन्त्री पुनले सहिदका सपना साकार पार्नकै लागि तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको स्पष्ट गरे ।

जनयुद्धबाट आएका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गर्दा केहीले जनयुद्ध गलत भएको टिप्पणी गरेको उल्लेख गर्दै उनले जनयुद्धका नेता स्वीकार गर्ने र जनयुद्धलाई अस्वीकार गर्नेहरु गलत भएको बताए ।

ऊर्जामन्त्री पुनले भने, ‘जनयुद्धको बेसमा आएको गणतन्त्र सबैका लागि स्वीकार्य हुने, जनयुद्धका नेताहरु उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्री बन्दा स्वीकार्ने तर, गणतन्त्र ल्याउने जनयुद्ध र जनयुद्धका योद्धाहरु चाहिं किन अस्वीकार्य हुने ? ’,

फाउण्डेशनको प्रथम साधारणसभालाई नेकपा कार्यालय कोटेश्वर पेरिसडाँडामा उद्घाटन गर्दै नेकपा स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पुनले जनयुद्धलाई अस्वीकार गर्नु राजनीतिक बेइमानी भएको टिप्पणी गरे ।

मन्त्री पुनले जनयुद्धले नेपाली समाजमा ठूलो कायापलट ल्याएको भन्दै त्यो इतिहास कसैले अस्वीकार गर्दैमा अस्वीकार्य नहुने बताए । उनले आफुहरु संयोगले जनयुद्धबाट बाँचेर आएको भन्दै सहिदहरुको सपना बाँचेकाहरुले पूरा गर्नुपर्नेमा जोड दिए ।

आफ्ना अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएकै बेला जनयुद्धका सहिदलाई सहिद घोषणा गरिएको स्मरण गर्दै मन्त्री पुनले राजपत्रमा प्रकाशित नहुँदा अन्योल कायम रहेकाले उक्त निर्णयलाई वर्तमान सरकारले राजपत्रमा प्रकाशित गरेर लखन थापादेखि जनयुद्धसम्मका सहिदलाई राष्ट्रिय सहिदको सूचीमा समावेश गर्ने काम छिट्टै गर्ने बताएका छन् ।