विद्युत प्राधिकरणको ९ अर्ब भ्रष्टाचार छानविन गर्न उच्चस्तरिय समिति गठन

मूलखबर संवाददाता
काठमाडौं, २२ पुस

चरम लोडसेडिङका बेला ठूलो औद्योगिक घरानालाई नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड लाईन दिएको विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन मन्त्रिपरिषदको बैठकले समिति बनाएको छ ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर लिएर त्यसबापतको महसुल उद्योगिहरुबाट नउठाएपछि महालेखा आयोगले ९ अर्ब भन्दा बढी अनियमितता भएको कुरा प्रतिवेदनमा उल्लेख गरेको थियो । सोही विषयलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले समेत प्रश्न उठाएको थियो ।

प्रतिनिधिसभाको बैठकमा पनि सांसद महेश बस्नेत लगायतले प्राधिकरण भित्र अनियमितता भएको भन्दै अख्तियारको ध्यानाकर्षण गराएका थिए ।

लेखा समितिमा सांसदहरु अमनलाल मोदी, राजन केसी, लेखराज भट्ट, मिनेन्द्र रिजाल, प्रेम आले लगायतले कुरा उठाएपछि लेखा समितिले उपसमिति बनाएर अध्ययन गरेको थियो । लेखा समितिमा छलफलका क्रममा सांसदहरू मोदी, भट्ट, केसी तथा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङबीच चर्काचर्की नै परेको थियो ।

उता उद्योगीहरुले भने आफुहरुले डेडिकेटेड लाईन प्रयोग नगरेको भन्दै अतिरिक्त महसुल नतिर्ने बताउदै आएका थिए । सोही विषयमा सर्बोच्च अलादतमा मुद्दा समेत परेको थियो । अदालतले महसुल उठाउन आदेश दिएपनि प्राधिकरणले ९ करोड भन्दो धेरै महसुल उठाउन सकेको छैन । विगतमा दिईएको डेडिकेटेड फिडर र भोलीका दिनमा के गर्ने भन्ने विषयमा समेत अध्ययन गरेर १५ दिनभित्र प्रतिवेदन बुझाउन मन्त्रिपरिषदले म्याण्डेड दिएको छ ।

सोमबार साँझ बसेका मन्त्रिपरिषद बैठकमा सचिवस्तरिय समिति गठन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनेगरी समिति गठन भएको हो । समितिमा ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, उद्योग मन्त्रालयका सचिव याम कुमारी खतिवडा र अर्थ मन्त्रालयका सचिव डा. राजन खनाल, विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ, सदस्य सचिव प्रविण कुमार अर्याल रहेका छन् ।