नेकपा सचिवालय बैठक अाजपनि : राष्ट्रिय सभामा उम्मेदवार मुख्य एजेन्डा
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बिनानिष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठक कुनै निर्णय नगरी सकिएको हो । नेकपा प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान पुनः बस्ने गरी बैठक सकिएको बताउनुभयाे ।
‘आजको बैठकमा राष्ट्रिय सभाका उम्मेदवारबारे छलफल भएको हो, छलफल जारी नै छ, त्यसबाहेक अन्य एजेन्डा थिएन,’ प्रवक्ता श्रेष्ठले भन्नुभयाे, ‘अरू कुनै एजेन्डामा छलफल भएको छैन, भोलि बिहान ८ बजे पुनः बैठक बस्ने गरी टुंगिएको छ ।’
९ माघमा राष्ट्रिय सभा निर्वाचन हुँदै छ । शुक्रबारको बैठकले उम्मेदवार टुंगो लगाउने बताइएको छ । २० पुसमा उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरिसकेको छ ।
तर, बिहीबारको बैठकमा चार घण्टा लामो समयसम्म छलफल भए पनि उम्मेदवारको टुंगो लाग्न सकेन । बैठकमा उम्मेदवारको मापदण्ड निर्माणदेखि उम्मेदवारको छनोट प्रक्रियामा बिवाद भएको एक सचिवालय सदस्यले बताए ।
१८ जना सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ । जसमा सत्तारूढ नेकपाका ८, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका ७, राजपाका २, समाजवादीका १ र एक जना राष्ट्रपतिबाट मनोनीत (अर्थमन्त्री युवराज खतिवडा) को कार्यकाल आगामी फागुनमा सकिँदै छ ।
यसअघि नेकपाले उम्मेदवारको टुंगो लगाउँदा तल्लो कमिटीबाट उम्मेदवारको सिफारिस मागेर टुंगो लगाउने गरेको थियो ।