नेकपा स्थायी समिति: प्रचण्डको प्रतिवेदन पारित, केन्द्रीय समिति २३ पुसमा, अरु के के भए निर्णय ?
एक वर्ष पछि बसेको सत्तारुढ नेकपा स्थायी समितिको बैठक महत्वपूर्ण निर्णय गरी सम्पन्न भएको छ । आइतबार सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकले २३ पुसबाट केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको छ ।
धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा सम्पन्न बैठकले २३ पुसबाट केन्द्रीय कमिटीको बैठक बस्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
बैठकले नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पेश गरेको राजनीतिक प्रतिवेदन पनि पारित गरेको छ । प्रतिवेदनमाथि विभिन्न नेताहरुले दिएको सुझावसहित समावेश गरेर पारित गरिएको बताइएको छ ।
त्यसैगरी बहुचर्चित र विवादित बनेको एमसीसी सम्झौताको विषयमा निर्णय गर्न सचिवालयले छलफल गरेर केन्द्रीय कमिटीमा प्रस्ताव पेश गर्ने आइतबारको बैठकले निर्णय गरेको छ । आइतबार सकिएको नेकपा स्थायी कमिटीको बैठकले यसबारे अमेरिकासँग सम्वाद गर्न सरकारलाई आग्रह गरेको छ । बैठकपछि नेता भीम रावलले भन्नुभयाे, अमेरिकी सरकारले यो इण्डो प्यासिफिकको अंग होइन भन्ने प्रष्ट गर्नुपर्छ । र, यससम्बन्धमा प्रधानमन्त्री र सचिवालयका सदस्यहरु बसेर स्पष्ट भएपछि मात्र संसदबाट अनुमोदन हुनसक्छ ।’
बिहीबारदेखि बसेको बैठकमा नेताहरुले एमसीसी इण्डो प्यासिफिक रणनीति अंग भएको आशंका गरेका थिए । यदि होइन भने पनि संसदमा पेश भएको सम्झौता परिमार्जन गरेर मात्र अनुमोदन गर्न सकिने नेताहरुको मत थियो ।
त्यसैगरी बैठकले महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गरी केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सोहि अनुसार सचिवालय सदस्य बामदेब गौतमलाई उपाध्यक्ष बनाउने निर्णय पनि स्थायी समितिले गरेको छ ।
स्थायी कमिटी बैठकले महाकालीको मूल लिम्पियाधुरा रहेको भन्दै लिम्पियाधुरासहित लिपुलेक र कालापानी नेपालको भूभाग रहेको भन्दै भारतले एकपक्षीय रुपमा निर्णय गरेर सार्वजनिक गरेको नक्सालाई अस्वीकार र अमान्य घोषणा गरेको छ ।
नेपाली भूभागबाट भारतीय सुरक्षाकर्मी र सुरक्षा शिविरहरु हटाउनका सरकारले गरेको पहल र तयारीलाई स्वागत गर्ने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।