अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित, यसकाे असर के हाेला ?

मूलखबर संवाददाता
काठमाडौं

अधिकार दुरुपयोग गरेबापत् अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित भएको छ ।

तल्लो सदन हाउस अफ रेप्रेजेन्टेभिभ्सले ट्रम्पले आफ्नो शक्तिको दुरुपयोग गरे भन्ने आरोपको पक्षमा मतदान गरेको छ जसमा महाभियोग लगाउने पक्षमा २३० मत परेको थियो भने विपक्षमा १९७ मत परेको थियो । यससँगै उनले कंग्रेसलाई अवरुद्ध तुल्याएको भन्ने महाभियोगको दोस्रो आरोप पनि लगाइएको थियो जसको पक्षमा २२९ भोट खसेको थियो भने विपक्षमा १९८ मत परेको थियो ।

अब याे मुद्दा माथिल्लो सदन सिनेट प्रवेश गर्नेछ जसले उनी राष्ट्रपति रहने वा नरहने भन्नेबारे निर्णय गर्नेछ ।

तल्लो सदनबाट महाभियोगमा पर्ने डोनल्ड ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुन् ,।

राष्ट्रपति ट्रम्पले त्यसपछि माथिल्लो सदन सिनेटको अर्को महिना सामना गर्नुपर्नेछ ।

ट्रम्पले यसअघि ट्वीटरमा आफूले केही पनि नराम्रो नगरेको बताएका छन् ।

स्थानीय समय अनुसार बुधवार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए।

तल्लो सदनकी सभामुख तथा डेमोक्र्याटिक वरिष्ठ नेता न्यान्सी पेलोसीलाई महाभियोगबारे मतदानको पूर्वसन्ध्यामा ६ पृष्ठ लामो पत्र लेखेका थिए।

आफ्नो धारणा राख्दै पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दुस्खदायी भएको बताइन्।

उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन्।

उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’

तर रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।

 

बीबीसीका पाठकहरूले महाभियोगका बारेमा सोधेका विभिन्न प्रश्नहरूको जवाफ यहाँ छः

सिनेटमा यो मुद्दामा कहिले कारबाही हुन्छ ?

अहिलेसम्म यो निश्चित छैन तर सिनेट हिउँदको बिदाबाट काममा फर्कने बित्तिकै अर्थात जनवरीको दोस्रो सातामै यो विषयमा छलफल सुरु हुनसक्छ।

सिनेटमा अल्पमतमा रहेका डेमोक्र्याट नेता चक सुमरले त्यही समय अनुरोध गरेका छन् ।

रिपब्लिकन नेता मिच म्याककोनेलले आफ्ना अन्य साथीहरूले अनुरोध गरेको समय मन नपराए यही समयमा सहमत हुन सक्छन् ।

यदि ट्रम्पमाथिको महाभियोग पारित भएमा के उनी सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन सक्छन् ?

यो जटिल प्रश्न हो तर यसको उत्तर स्पष्ट छैन।

रिपब्लिकनहरूले महाभियोगको कुराले ट्रम्पलाई पुनः निर्वाचन प्रचारप्रसारकालागि चन्दा सङ्कलनमा सहयोग पुगेको बताउँछन् भने उनका समर्थकहरू अझै उनीमाथि भरोसा गरिरहेका छन् ।

डेमोक्र्याट्हरू भने महाभियोग लागेपछि ट्रम्पको नाममा कालो धब्बा लागेको र त्यसलाई मतदाताहरूले स्वीकार गर्न नसक्ने बताउँछन् ।

ट्रम्पलाई समर्थन गर्ने र उनको विरोध गर्नेहरू पहिले झैँ विभाजित छन् र महाभियोगको कुराले यसलाई खासै फरक पारेको छैन ।

अहिले भन्न सकिने कुरा भनेको सन् २०२० को निर्वाचन महाभियोगको जे नतिजा भएपनि प्रतिस्पर्धात्मक हुनेछ ।

यदि ट्रम्पमाथि महाभियोग लाग्यो र उपराष्ट्रपति पेन्स राष्ट्रपति बने भने के पेन्सले ट्रम्पलाई उपराष्ट्रपति नियुक्त गरेर राजीनामा गर्नु कानुनसम्मत हुनेछ ?

अमेरिकी संविधानमा त्यसबारेमा केही लेखिएको छैन त्यसैले त्यस्तो सम्भव छ ।

तर त्यसमा पहिलो अवरोध माइक पेन्सले ट्रम्पलाई उपराष्ट्रपतिमा नियुक्त गर्न आवश्यक दुवै सदनको स्वीकृति हो ।

डेमोक्र्याटहरूको नियन्त्रणमा रहेको तल्लो सदनले त्यसलाई पारित गर्ने सम्भावन कम छ ।

यदि सिनेटबाट महाभियोग परित भएको अवस्थामा उसले पनि त्यसको अर्थ ट्रम्पले भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर व्याख्या गर्न सक्छ ।

तर महाभियोग लागेपनि ट्रम्प राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार हुन र जितेर ह्वाइट हाउसमा फर्कन कुनै बाधा हुने छैन ।

तर सिनेटले ट्रम्पलाई महाभियोग नलगाउने निश्चितप्रायः भएको अवस्थामा यो सबै प्रक्रियाको के अर्थ हुन्छ ?

डेमोक्र्याट्हरूका अनुसार सिनेटमा महाभियोग पारित हुने सम्भावना कम भएपनि उनीहरू राष्ट्रपतिलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन यो प्रक्रियालाई अघि बढाइएको हो ।

उनीहरूका अनुसार यदि उनीहरूले राष्ट्रपति ट्र्म्पले राजनीतिक प्रतिस्पर्धीमाथि अनुसन्धान गर्न युक्रेनलाई दबाब दिएर पदको दुरुपयोग गरेको भन्ने आरोपलाई बेवास्ता गरियो भने ट्रम्पले यस्तै अन्य कदम चालेर आगामी निर्वाचनमा डेमोक्र्याट्सलाई झन् असर पुर्याउन सक्छन्।

यदि महाभियोग पारित भएन भने के उनी फेरी निर्वाचनमा उठ्न सक्छन् ?

निश्चितरूपमा उठ्न सक्छन्।

यसले उनको निर्वाचित हुने सम्भावनालाई कम गर्न सक्छ तर यसले उनलाई उम्मेदवार बन्न वा निर्वाचित हुन रोक्दैन।

उनी महाभियोग लागेर पदच्यूत भएपनि निर्वाचनमा उम्मेदवार हुन सक्छन् । त्यसलाई रोक्न सक्ने एकमात्र तरिका भनेको सिनेटले उनलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गर्ने हो ।

सिनेटमा महाभियोग बारेको कारबाही किन आजै हुन सक्दैन ?

तल्लो सदनको महाभियोगले सिनेटको कारबाही सुरु गर्ने बाटो खुल्यो तर त्यसको समयावधि र समय सिनेटले निर्धारण गर्छ ।

सिनेटले कुन बेला कुन प्रक्रियाले कारबाही सुरु गर्ने भन्ने तय गर्छ।

महाभियोगको कारबाहीमा नागरिकले कर तिरेको कति पैसा खर्च हुन्छ ?

यसको खर्च यति नै हुन्छ भनेर भन्न सकिन्न ।

रोबर्ट मुलरले गरेको अनुसन्धानमा तीन करोड बीस लाख अमेरिकी डलर खर्च भयो तर युक्रेनबारे संसद्ले गरेको अनुसन्धानमा सोही मानवस्रोत र बजेट चलाइएको थियो ।

डेमोक्र्याट्हरूले तल्लो सदनमा नियन्त्रण कायम गरेपछि सयौँ विधेयकहरू पारित गरेका छन् तर तीमध्ये थोरै मात्र सिनेटबाट पारित भएका छन् ।

वास्तवमा कंग्रेसले अक्टोबरमा सुरु भएको आर्थिक वर्ष २०२० को बजेट पारित गरेको छैन। यदि शुक्रवार मध्यरातसम्म कंग्रेसले सो बजेटमा सहमति जुटाउन सकेन भने अमेरिकी सरकारको खर्च यो वर्ष दोस्रो पटक रोकिने छ ।

महाभियोगको कारबाहीलाई कसले नियन्त्रण गर्ने छ – सिनेटका सदस्य या प्रधान न्यायाधीश ?

अमेरिकी सर्वोच्च अदालतका प्रधान न्यायाधीशले महाभियोग कारबाहीको अध्यक्षता गर्ने संवैधानिक व्यवस्था छ।

सिनेटका सदस्यहरूले कारबाहीको प्रक्रियाबारेमा मतदान गरेपनि कारबाही सुरु भएपछिको दैनिक कार्यसूची प्रधान न्यायाधीश जन रोबर्टले तय गर्नेछन् ।

तर प्रधान न्यायाधीशका कुनैपनि निर्णय सिनेटले साधारण बहुमतबाट उल्टाउन सक्छ। यसको अर्थ यदि रिपब्लिकनहरू एक भए कुनैपनि अवस्थामा नियम परिवर्तन गर्नसक्छन् ।

सिनेटका सदस्यहरूले राजनीतिक आस्थाको आधारमा मत दिन्छन् वा स्वतन्त्ररूपले ?

प्रत्येक सिनेटरले कसरी मत दिने भन्नेबारे आफ्नो निर्णय गर्न सक्छन् ।

केही रिपब्लिकनहरूले अहिल्यै राष्ट्रपतिको पक्षमा मत दिने बताइसकेका छन्।

धेरै डेमोक्र्याटहरूले विपक्षमा मत हाल्ने बताएका छन् ।

उनीहरूले मत हाल्दा राजनीतिक कारण वा व्यक्तिगत विचारका आधारमा मत हाले भन्ने कुरा उनीहरूले मात्रै भन्न सक्छन् ।

बीबीसीबाट