सिन्धुपाल्चोकमा फेरि बस दुर्घटना : १३ जनाको मृत्यु, क्षती बढ्न सक्ने
सिन्धुपाल्चोकमा एक महिनाको बीचमा फेरि यात्रुबाहक बस दुर्घटना भएर मानविय क्षती भएको छ । दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो ।
सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलो भन्ने स्थानमा बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको भएर मानवय क्षती भएको प्रहरीले पुष्टि गरेको छ ।
सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले १३ जनाको ज्यान गइसकेको र कैयन हताहत रहेको अनलाइनखबरलाई बताए । ‘डीएसपीले मलाई दिएको जानकारी अनुसार घटनास्थलमा १३ जनाको शव भेटिएको छ । घाइतेहरूलाई विभिन्न अस्पतालमा उपचार गर्न पठाइएको छ’, दुर्घटनामा अहिलेसम्म ४ जनाको मृत्यु भइसकेको जानकारी प्राप्त भएको छ’, प्रहरी श्रोतले भनेको छ ‘कैयन यात्रु हताहत भएकाले क्षतिको यकिन विवरण संकलन भइसकेको छैन ।’
गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।
प्रहरीका अनुसार कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको हो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने यकिन नभएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ । प्रहरी र स्थानीय अहिले घाइते यात्रुको उद्धारमा जुटेका छन् ।