नेकपा अध्यक्ष प्रचण्ड सक्रिय : सचिवालय बैठकमा छ महिने कार्ययाेजना प्रस्तुत गर्दै
सत्तारूढ दल नेकपाकाे सचिवालय बैठक अाज साेमबार बस्दैछ । पार्टीको सम्पूर्ण जिम्मासहित कार्यकारी अधिकार पाएका प्रचण्ड अहिले पार्टीका याेजना निर्माणमा सक्रिय बनेका छन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कामको ६ महिने रूपरेखा तयार पारेका छन्। यससम्बन्धी प्रस्ताव सोमबार बस्ने सचिवालय बैठकमा पेस गर्ने उनको तयारी छ। उनले यसका लागि पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य शीर्ष नेतासँग छलफल चलाएका थिए।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सोमबार दिउँसो बस्ने बैठकमा प्रधानमन्त्री ओली भने सहभागी नहुने महासचिव विष्णु पौडेलले बताए। ‘प्रधानमन्त्री यो सचिवालय बैठकमा सहभागी नहुन सक्नुहुन्छ’, महासचिव पौडेलले भने।
४ मंसिरको सचिवालय बैठकले ‘कार्यकारी’ अध्यक्ष तोकेपछि दाहालले शीर्ष नेताहरूसँगकै परामर्शमा ६ महिनाका लागि पार्टी कामको रूपरेखा तयार पारेको स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले बताए। ‘उहाँ (दाहाल) ले वैचारिक/राजनीतिक प्रस्ताव, संगठनात्मक प्रस्ताव र जनपरिचालनसम्बन्धी प्रस्ताव समेटेर पार्टीको ६ महिने कार्ययोजनाको संक्षिप्त लिखित रूपरेखा तयार पार्नुभएको छ’, नेता सापकोटाले अन्नपूर्णसँग भने।
दाहालले पहिलो पटक कार्ययोजना प्रस्ताव पेस गर्न लागेका हुन्। यसअघि उनीसहित ओलीले गत वर्ष स्थायी समिति बैठकमा संयुक्त रूपमा राजनीतिक प्रतिवेदन पेस गरेका थिए। त्यसबारे छलफल भए पनि कार्यायोजना भने संगठनात्मक एकतामा ढिलाइका कारण अलपत्र परेको थियो। गत वर्ष मंसिर २९ देखि पुस १३ सम्म स्थायी समिति बैठक बसेको थियो। त्यसयता स्थायी समिति बसेको छैन। केन्द्रीय समिति पार्टी एकताको १८ महिनामा एकपटक मात्र बसेको छ।
दाहालले आफ्नो प्रस्तावबारे ओली र महासचिव पौडेलसँग आइतबार साँझ बालुवाटारमा छलफल गरेका थिए। खुमलटारस्थित निवासमा बिहान पनि महासचिव पौडेल, ऊर्जामन्त्री वर्षमान पुन, देवेन्द्र पौडेललगायत नेतासँग उनको कुराकानी भएको थियो। ‘सोमबारको सचिवालय बैठकमा संगठन विभागले पेस गरेको प्रस्ताव, स्थायी समिति बैठक बोलाउने गरी मिति निर्धारण गर्नेदेखिका प्रस्तावमा छलफल हुन्छ’, प्रवक्ता नारायणकाजी श्रेष्ठले भने।
दाहालको प्रस्तावमा तीन महिनामा पार्टी सदस्यता नवीकरण गरी केन्द्रमा अभिलेखीकरण गर्नेलगायत विषय समेटिएका छन्। ‘केन्द्रीय विभाग, जनवर्गीय संगठनमा नेतृत्व मात्र चयन भएको छ। ती सबैको कमिटीलाई पूर्णता दिने, वैचारिक राजनीतिक काम तल्लो तहसम्म एकैसाथ लैजाने, प्रशिक्षणदेखि संगठनात्मक काम, बैठक/भेलाका काम गर्नुपर्नेछ’, नेता सापकोटाले भने, ‘जनपरिचालनका काम पनि गर्नुपर्नेछ। यी विषय अध्यक्षको प्रस्तावमा समेटिन्छन्।’
मंसिर अन्तिममा स्थायी समिति बैठक, त्यसलगत्तै केन्द्र्रीय समिति बैठक बोलाउने अनि माघ–फागुनमा दुईमहिने विशेष राजनीतिक अभियान चलाउने योजना प्रस्तावमा समेटिएको अर्का एक नेताले बताए।
पार्टी एकताको सन्देश जनतामाझ पुर्याउने, पार्टी र सरकारको नीति तथा योजनालाई सार्वजनिक रूपमा स्थापित गर्ने र जनतालाई पार्टीमा गोलबद्ध गर्न दुईमहिने विशेष राजनीतिक अभियान सञ्चालन गर्ने प्रस्ताव दाहालको छ। वैचारिक र भावनात्मक एकतालाई खदिलो बनाएर जाने गरी प्रशिक्षणका कार्यक्रम दाहालले कार्यायोजनामा समेटेका छन्। केन्द्रीय निकाय, विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटीलाई पूर्णता दिने, जनवर्गीय संगठनको केन्द्रदेखि स्थानीय तहसम्मका काम, पार्टी सदस्यता अध्यावधिक र एकीकृत अभिलेख राख्नेदेखि पार्टीका चलअचल सम्पत्ति केन्द्रिकरण गर्नेसम्मका योजना छन्।
पार्टी स्कुल पाठ्यक्रम तयार पारी सञ्चालन गर्नेदेखि प्रभावकारी प्रचार कार्यसम्मका योजना दाहालले तयार पारेको प्रस्तावमा समेटिएको उनीनिकट स्रोतले बताएको खबर रामकृष्ण अधिकारीले अन्नपुर्ण पाेष्टमा लेखेका छन् ।
उपनिर्वाचनको सूक्ष्म समीक्षा गरिँदै
नेकपा सचिवालय बैठकमा उपनिर्वाचन समीक्षा प्रतिवेदन पनि पेस गरिने भएको छ। भक्तपुरको प्रदेशसभा, धरानको उपमहानगरपालिका, चितवन, दाङलगायत कतिपय जित्ने अनुमान गरिएका वडामा नेकपा उम्मेदवार पराजित भएका थिए। नेकपाले उपनिर्वाचनको सूक्ष्म समीक्षा गर्ने भन्दै ३७ वटै जिल्लाका ५२ स्थानकै समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन गरेको थियो।
उपनिर्वाचन भएका स्थानका पार्टी कमिटीले तयार पारेको समीक्षात्मक प्रतिवेदन जिल्ला हुँदै केन्द्रमा आइपुगेका छन्। जिल्ला हुँदै सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कार्यालयमा प्रतिवेदन बुझाएका छन्। त्यसमा पनि सचिवालय बैठकमा छलफल हुने नेताहरूको भनाइ छ।