उपनिर्वाचन २०७६ : को हुन् भक्तपुर १ ‘क’ का उम्मेद्वार डिपी ढकाल

मूलखबर संवाददाता
भक्तपुर, २४ कात्तिक ।

आगामी मंसिर १४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ। प्रदेशसभा सदस्यका लागि भक्तपुर १ ‘क’ मा हुने उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता देवीप्रसाद ढकाल (डीपी) ले उम्मेदवारी दिएका छन्।

पूर्वएमाले र पूर्वमाओवादी एकताबाट नेकपा गठन भएपछि ढकाल भक्तपुरको पार्टी जिल्ला सचिव छन्। उनी जनयुद्धमा प्रत्यक्ष सहभागि पूर्वमाओवादी नेता हुन् । २०३८ सालमा काभ्रेको देउपुरमा जन्मिएका नेता ढकाल नयाँ पुस्ताका उदीयमान बौद्धिक नेता हुन् । उनी भक्तपुरमा क्याम्पस पढ्दापढ्दै अखिल क्रान्तिकारीका नेता भएका थिए।

जीवनको महत्त्वपूर्ण युवा अवस्था जनयुद्धमा सुम्पिएका ढकालले जेलजीवन समेत बिताएका छन्। ढकाल नेकपा भित्र सामान्य जीवन शैलीका युवा नेताका रूपमा चिनिन्छन् । उनले ‘नेपाली क्रान्ति’, ‘कम्युनिस्ट आन्दोलनको बहस’, ‘पूँजीवादी र समाजवादी अर्थराजनीतिक विकासक्रम’ लगायत पुस्तक तथा समसामयीक विषयमा स्तम्भ लेख्ने गरेका छन्।

२०७४ सालमा सम्पन्न प्रदेश सभाको निर्वाचनमा यही क्षेत्रबाट तत्कालिन नेकपा माओवादी र एमालेको आधिकारीक उम्मेदवारको रुपमा उम्मेदवारी दर्ता गराएका ढकालले एमालेबाट बागी उम्मेदवारी दर्ता गराएका हरिशरण लामिछानेलाई समर्थन गर्दै पार्टीको निर्णय अनुसार उम्मेदवारी फिर्ता गरेका थिए । सो घटनाले पनि ढकाल त्यागी र पार्टीको बफादार नेताको रुपमा स्थापित भएका छन् ।

आलोचनात्मक बैचारिक चेत भएका ढकाल असाध्यै मृदुभाषी, मिलनसार र सामाजिक रुपमा स्थापित युवा नेता हुन् । भक्तपुरमा विगत लामो समयदेखि राजनीतिमा सक्रिय ढकाल पुर्व शिक्षक समेत हुन् । साथै उनी लालरक्षक साप्ताहिक, समाचार दैनिक लगायतका संचारमाध्यममा सम्पादनको भुमिका निर्वाह गरेका बहुप्रतिभाशाली युवा हुन् ।

ढकाल भक्तपुरका जनतामाझ स्थापित र लोकप्रीय नेता भएका कारण यसपटकको निर्वाचनमा ढकालको विजय निश्चित भएको विश्लेषण गरिएको छ ।