नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्र जापान ः राष्ट्रपति भण्डारी
टोकीयो, ५ कात्तिक ।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदारमात्रै नभई दुख पर्दा असल मित्र भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको उल्लेख गर्नुभयो । उहाँले गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले नेपाल र जापाबीच सन् १९५६ देखि दौत्य सम्बन्ध भएको र सांस्कृतिक सम्बन्ध अझ बलियो भएको उल्लेख गर्दै आपसी भ्रमणको आदान प्रदानले सम्बन्धलाई थप सुदृढ बनाएको बताउनुभयो ।
जापानी सम्राट नारुहितोको गद्धी आरोहण समारोहका लागि जापान सरकारले आफूलाई निमन्त्रणा गरेकामा जापान सरकारलाई धन्यवाद दिँदै उहाँले जापानी जनताको अनन्त शान्ति, विकास र प्रगतिको कामना गर्नुभयो । राष्ट्रपति भण्डारीले हालै जापानमा गएको आँधीमा परी ज्यान गुमाएका प्रति आफ्नो र नेपाली जनताको तर्फबाट श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।
राष्ट्रपति भण्डारीले वनेपादेखि बर्दिबाससम्मको बिपी राजमार्ग दुई देशबीचको सहयोगको उत्कृष्ट नमूना भएको बताउँदै जापानी सहयोगमा आजै शिलान्यास भएको नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माणले सुरुङ मार्गका क्षेत्रमा नयाँ आयाम थपिएको बताउनुभयो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा परिपूर्ति गर्न बाह्य स्रोतको खाँचो रहेको जानकारी दिँदै उहाँले नेपालको पूर्वाधार, जलस्रोत, पर्यटन, उत्पानदनशील र रोजगारी सिर्जनाका क्षेत्रमा लगानी गर्न जापानी लगानीकर्तालाई आह्वान गर्दै लगानीको सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने विश्वास दिलाउनुभयो ।
राष्ट्रपति भण्डारीले सन् २०२० मा धेरै भन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने र काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले जापानमा रहेका नेपालीले यहाँको रोजगारी र शिक्षामा पु¥याएको योगदानका लागि धन्यवाद दिनुभयो ।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच सोमबार बिहान टोक्योस्थित आकासाका प्यालेस, स्टेट गेष्ट हाउसमा भेटवार्ता भएको छ ।
सो अवसरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी सहभागी हुनुहुन्थ्यो ।
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेकमा सहभागी हुन राष्ट्रपति भण्डारीसहितको नेपाली प्रतिनिधिमण्डल आइतबार राजधानी टोक्यो आइपुग्नुभएको थियो ।
म्यान्माका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति यहाँ आइपुगेको हो ।
जापानी सम्राट् नोरुहितोको शुभराज्याभिषेक यही कात्तिक ५ गते स्थानीय समयानुसार अपराह्न १ बजे इम्पेरियल प्यालेसको सेदेन स्टेट हलमा हुँदैछ ।
राज्याभिषेक समारोहमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल यही कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
साठी हजार जापानीले नेपाल भ्रमण गर्ने
कार्यक्रममा जापानको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभयो । तोसिहिरो नेपाल जापान संसदीय ग्रिडका अध्यक्ष पनि हुनुहुन्छ ।
जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आगामी वर्षमा नेपाल र जापानी प्रधानमन्त्रीको भ्रमण आदान प्रदान गराउने लक्ष्य रहेको जानकारी दिनुभयो । कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागीलगायत सहभागी हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले मङ्गलबार गद्धी आरोहण समारोहमा भाग लिनाका साथै भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेटवार्ता गर्नुहुनेछ ।