बडादशैं सुरु, घर घरमा हर्षपूर्वक जमरा राखियो

काठमाडौं, १२ असाेज

नेपालीहरुको महान चाड बडा दशैं सुरु भएको छ । आईतबार काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा घटस्थापना गरिएको छ ।

आज बिहान दशैं घरका गुरु ईश्वरप्रसाद अधिकारीले श्री महकाली, श्री महालक्ष्मी र महाशक्ति स्वरुपा दूर्गा भवगतीको आराधनासहित जमरा रोपण गरी दशैं घरमा घटस्थापना गरिएको हो । घटस्थापनालाई दशैंको पहिलो दिनको रुपमा लिईन्छ । दशैं घरमा सबैको दिर्घायू, आरोग्य, सदगुण, सत्शिक्षाको कामना गर्दै द्धीप, गणेश र कलशको पूजा गरी घटस्थापना गरी जमरा राखिएको गुरु अधिकारीले जानकारी दिनु भयो ।

बिहान १० बजेर ३५ मिनेटको शुभसाईतमा दशैं घरमा घटस्थापना गरिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले तोप पड्काएर हर्ष बढाई गरेको थियो भने दशैं घरमा शंख, घण्टा र डमरु बजाएर दूर्गा भगवतीको पूजा, आराधना गरिएको थियो ।

दशैंको पहिलो दिन वैदिक विधिपूर्वक द्धीप, गणेश र कलशको पूजा गरी जौंको जमरा राख्ने गरिन्छ । यसरी विधिपूर्वक स्थापना गरिएको घडामाथि शक्ति स्वरुपा दूर्गा भगवतीको पूजाआराधना गरिने भएकाले त्यस दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । घटस्थापनाको दिन रोपिएको जमरालाई विजया दशमीको दिन शक्तिकी देवी दूर्गा भगवतीको प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । जौंलाई औषधीय गुणले युक्त मानिन्छ । यसलाई उमारेर बनाइएको जमराले पनि मानवलाई निरोधी रहन सघाउ पु¥याउने विश्वास रही आएको छ ।

दशैंमा शक्तिकी देवी दुर्गाको नौं स्वरुपको पूजा गरिन्छ । नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धीदात्रीको पूजा गरिन्छ । बडा दशैंको मुख्य दिनको रुपमा सातौं दिन फूलपाती, आठौं दिन महाअष्टमी, नवौ दिन महानवमी र दशांै दिन विजया दशमी हो । फूलपातीमा फूलपाती भित्र्याईन्छ भने महाअष्टमी र महानवमीका दिन बली पूजा गर्नेहरुले दशैं घर, कोत र शक्तिपीठहरुमा बलिसहित विशेष पूजा पनि गर्दछन । नवरात्रभर शक्तिपीठहरुमा दर्शन गर्नेहरुको भीड लाग्नेगर्दछ ।