दोश्रो दिन पनि नेकपाकाे प्रशिक्षण जारी, यस्ताे हुँदैछ बहस

मूलखबर संवाददाता
काठमाडौं, ७ असोज ।

सत्तारुढ दल नेकपा र छिमेकी मुलुक चिनको सत्तारुढ पार्टी चिनियाँ कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु दोश्रो दिन पनि याक एण्ड यति होटलमा प्रशिक्षण कार्यक्रममा व्यस्त छन् ।

चिनिया राष्ट्रपति तथा पार्टी महासचिव सि जिन पिङद्धारा प्रतिपादित सि विचारधाररा र चिनिया मोडलको विकासबारे नेकपाका नेता कार्यकर्तालाई प्रशिक्षण दिने तथा सि विचारधारालाई नेपाली सापेक्षतामा नेकपाको कार्यदिशा जनताको जनवादसँग कसरी जाेड्ने भन्ने विषयमा छलफल केन्द्रीत रहेको छ । सोमवार शुरु भएको कार्यक्रम आज समापन हुने बताइएको छ ।

कार्यक्रममा नेकपाका केन्द्रीय सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र विभिन्न विभाग र आयोगका नेता पदाधिकारीहरु सहभागि रहेका छन् भने चिनिया कम्युनिष्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओसहित ४० भन्दा वढि नेता कार्यकर्ताहरु सहभागि भएका छन् ।

नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमालझैं उच्च र अटल रहेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रमको सोमबार उद्घाटन गर्दै दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताउनु भयो ।

प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पार्नु भयो । दुई मुलुकबीचको मित्रता स्वर्थहरुको लेनदेनभन्दा माथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाई थियो । ‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ, आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौं ।’ प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आईपर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताउनु भयो । उहाँले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताउनु भयो ।

कार्यक्रममा बोल्दै चिनियाँ कम्युनिष्ट पार्टीका नेता एवम् विदेश विभाग प्रमुख सोङ ताओले जनताको जीवनस्तर सुधारमा लाग्न नेपाल कम्युनिष्ट पार्टीलाई सुझाव दिनु भएको थियो । दुई दिनसम्म चल्ने सो छलफलमा दुई कम्युनिष्ट पार्टीको विचारधारा ‘सी जीनफिङ विचारधारा’ र नेपाल कम्युनिष्ट पार्टीको ‘जनताको बहुदलीय जनवाद’बारे खुलेर छलफल भइरहेको छ ।