प्रणाली सही छ तर अराजकता बढेको हो, नियन्त्रण गर्नुपर्छ : प्रचण्ड
सत्तारुढ नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान व्यवस्था र प्रणाली सही भएको तर अराजकता बढीरहेकाले नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ । थारु समुदायको जितिया पर्वमा सहभागी हुन सुनसरी पुगेका प्रचण्डले भन्नुभयो, ‘अहिले यो परिवर्तन र प्रणालीलाई खतरा आयो भन्ने सत्य होइन । तर अराजक गतिविधि ठाउँठाउँमा बढेको पक्कै हो, यो देखियो ।’
‘अराजक गतिविधि ठाउँ ठाउँमा बढेको देखियो । यसको प्रतिवाद सबै राजनीतिक दलहरुले र सरकारले गर्नुपर्छ भन्ने संसदमा सहभागी राजनीतिक दलहरुबीच सझदारी भएको छ । यसको अर्थ भौतिक होइन राजनीतिक र बैचारिक रुपमा त्यो प्रवृतिलाई परास्त गर्नुपर्यो’ प्रचण्डको भनाई छ ।
अध्यक्ष प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार र पार्टी अगाडि बढिरहको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा रहेको पनि बताए ।
प्रचण्डले सरकार र पार्टी दुबैको कामको समिक्षा गरिरहेका बताउँदै यसलाई नयाँ शीराबाट गति दिनेबारे छलफल भइरहेको जानकारी दिनुभयो ।
प्रचण्डले पार्टीलाई एकतावद्ध गर्ने, विकास निर्माणका कामलाई गति दिने विषयमा गम्भीर छलफल भइरहेको बताउनुभएको छ । सरकारले काम नै गरेन भन्ने कुरा सत्य नभएको प्रचण्डको दावी छ । थुप्रै मौलिक हक सम्बन्धी कानून बने, छिमेकीसँगको सम्बन्धमा सुधार आयो, भारतसँगको पेट्रोलियम पदार्थको पाइपलाइन ठूलै उपलब्धि हो । चीनसँग राम्रो सम्बन्ध र आधारहरु बनेका छन् प्रचण्डले थप्नुभयो त्यसैले हामी सही बाटोमै छौं ।