सर्वसाधारणलाई हेर्न बञ्चीत गरेर यसरी मनाइयो संविधान दिवस टुँडिखेलमा

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

संविधान दिवसको अवसरमा राजधानीको टुँडिखेलमा संघीय सरकारले आयोजना गरेको विशेष कार्यक्रममा पुगेका सर्वसाधारणले हेर्न नपाएको गुनासो गरेका छन् ।

राजधानीको टुँडिखेलमा विशेष कार्यक्रममा पुगेका सर्वसाधारण कार्यक्रम अवलोकन गर्नबाट बञ्चित भएका हुन् । पर्खाल बाहिर बसेर कार्यक्रम हेरिरहेका सर्वसाधारणलाई सुरक्षाकर्मीले हटाएका थिए ।

राष्ट्रप्रमुख, सरकार प्रमुख, उच्च पदस्थ अधिकारी, विशिष्ट अधिकारी, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, सरकारी कर्मचारी लगायतको उल्लेख्य उपस्थिति रहेको टुंडिखेल भित्र आयोजित विशेष कार्यक्रममा प्रवेश नपाएका सर्वसाधरणलाई सुरक्षाकर्मीले पर्खालमा बसेर पनि हेर्न दिएनन् । सबैलाई सहभागी भएर हर्षोल्लास पुर्वक संविधान दिवस मनाउन उर्दी जारी गरेको सरकारले रोकेकोमा सर्वसाधारणले दुःख व्यक्त गरेका छन् ।

कार्यक्रम स्थलमा प्रवेश गर्न नपाएपछि तेह्थुमकी पार्वती कार्की खिन्न भइन् । उपचारका लागि राजधानी आएकी पार्वती संविधानदिवसको कार्यक्रम हेरेर अनुभव लिन चाहन्थिन् । छोरा लिएर संविधान दिवसको कार्यक्रम देखाउन आएकी बुढानिलकण्ठकी कमला बोहरालाई सवारी आयो भन्दै सुरक्षाकर्मीले बाटोमै रोकिदिए । कार्यक्रम स्थलमा प्रवेश संभव नभएपछि पर्खालबाट हेर्न थालेका सर्वसाधारणलाई सुरक्षाकर्मीले लखेटेका थिए ।

संविधानमा सबैको अपनत्व महसुस गराउन सबैको अनिवार्य सहभागिताको कुरा सरकारले जोड जोडले गरेपनि टुँडिखेल पुगेर कार्यक्रम हेर्न नपाएका सर्वसाधरण सरकारसँग रुष्ट छन् । संविधान दिवस मुलुकभर मनाइएको छ । संघीय सरकारले मुल कार्यक्रम राजधानीको टुंडिखेलमा आयोजना गरेको समाचार नयाँ पत्रिका डटकम मा छ ।