संविधान दिवसमा दिए मित्र राष्ट्रले शुभकामना

मूलखबर संवाददाता
काठमाडौं, ३ असाेज

संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्र प्रमुखले नेपाल सरकार र नेपाली जनतामा शुभकामना व्यक्त गरेका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वयम् र भारत तथा त्यहाँका जनताका तर्फबाट संविधान दिवसको शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा राष्ट्रपति कोविन्दले नेपाल र भारत साझा भूगोलले मात्र नभई इतिहास, सभ्यता, संस्कृति र जनता जनताबीचको सम्पर्कले जोडिएका बताएका छन् । भारत र नेपालबीचको साझेदारी विभिन्न क्षेत्रमा निरन्तर विस्तार भइरहेको बताउँदै भारतका राष्ट्रपतिले सन्देशमा नेपालको समृद्धि र विकासका लागि अविच्छिन्न सहयोग अभिवृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले संविधान दिवसको शुभकामना व्यक्त गर्दै अमेरिका र नेपालबीचको सात दशक पुरानो सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

स्वतन्त्र एवम सार्वभौम नेपालको विकास तथा सबै नेपाली नागरिकको समृद्धिका निम्ति अमेरिका सहयोग गर्न दृढ रहेको बताउँदै राष्ट्रपति ट्रम्पले प्राथमिकताका साझा क्षेत्रमा दुई देशबीचको साझेदारी रहने विश्वास व्यक्त गरे ।

संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै स्विस महासङ्घका राष्ट्रपति विली माउररले स्विस संघीय परिषद् र स्विटजरल्यान्डका जनताका तर्फबाट नेपाल, नेपाली जनता र राष्ट्रपति भण्डारीसमेतको समुज्ज्वल भविष्यको कामना गरेका छन् ।