अप्ठ्यारो परिस्थितिमा बोगटीको आवश्यकता महशुस हुन्छ : प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, ३० भदौ ।

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले अप्ठ्यारो अवस्थामा पोष्टबहादुर बोगटीको आवश्यकता खड्कीने गरेको बताउनुभएको छ ।
सोमबार बिहान नेकपाको कार्यालय धुम्बाराहीमा स्वर्गीय माओवादी नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जनयुद्धको बेला होस वा, अन्तरसंघर्षको बेला होस् वा पार्टी एकताको बेला होस वा सरकार सञ्चालनको बेला होस अप्ठ्यारो पर्दा सदैब साथ दिने नेता भएको भन्दै दिवाकरको सम्झना गर्नुभयो ।

प्रचण्डले समाजवादप्रति दृढ संकल्प रहँदै संघीयता र गणतन्त्रका विषयमा जनतामा भ्रम सिर्जना गर्ने प्रवृतिविरुद्ध प्रतिवाद गर्न युवा र कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ । ‘केही त्यस्ता तत्त्वहरूले हत्केलाले सूर्यलाई छेक्नेजस्तो प्रयास गरिरहेका छन् । जनतामा भ्रम छरिरहेका छन् । त्यस्ताप्रति सतर्क र रहन र त्यस्ताविरुद्ध प्रतिवाद गर्नुस्,’ अध्यक्ष प्रचण्डले भन्नुभयो । उहाँले आफूहरू समाजवादको दिशामा नै अघि बढ्ने बताउनुभयो ।

ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी र मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको प्रचण्डको जिकीर छ ।

‘संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा समाजवादतर्फ बढिरहेको यो सिस्टम कलिलो छ,’ प्रचण्डले भन्नुभयो ‘विरोधीहरूले कलिलोमै यसलाई निमोठ्न सकिन्छ कि, मार्न सकिन्छ कि भनेर छट्पटिएका छन् । ’ भ्रम, अराजतका, आतंकको वातावरण बनाउन प्रयास भइरहेकाले यो परिवर्तनलाई रक्षा र सुदृढ गर्न साथै समाजबादतिर अगाडी बढ्ने संकल्प सबैमा हुनु जरुरी रहेको उहाँको भनाइ छ ।

स्व.पोष्टबहादुर बोगटीको पाँचौं स्मृतिसभामा बोल्दै उनले यो परिवर्तन झण्डै सात दशक लामो संघर्ष र बलिदानबाट प्राप्त भएको बताए । समाजवादको लागि आवश्यक पर्ने वैचारिक स्पष्टता, नयाँखालको समर्थित अनुशासित कम्युनिस्ट पार्टी बनाउन लाखौं करोडौ जनतालाई लिएर हिँड्न सक्ने बनाएका छौ,’ उनले भने, ‘सबैको भरोसा लिन सक्ने पार्टी निर्माणको प्रक्रियामा छौं, तर यो काम सजिलो छैन, निकै चुनौतीपूर्ण काम छ ।’ चारैतिरबाट हामी पुँजीबादबाट साम्राज्यवादीबाट घेरिएकाले त्यसलाई चिर्न अवाश्यक रहेको उहाँको भनाइ छ ।

विभिन्न खालको व्यक्तिवादी आत्मकेन्द्रित, विचलनबाट घेरिएर पनि समाजवादको निर्माण गर्ने कुरा आफैंमा चुनौतीपूर्ण रहेको प्रचण्डले बताउनुभयो । ठूलो राजनीतिक परिवर्तनपछि हामीले संविधानसभाबाट संविधान, संघिय लोकतान्त्रिक गणतन्त्र, निर्वाचन, तीन तहको चुनाव, सरकार, कम्युनिस्टहरूको एकता पूरा गरिसकेका बताउँदै प्रचण्डले एकतालाई कसैले तोड्न नसक्ने दावी गर्नुभयो ।

पोष्ट बहादुर बोगटी स्मृति प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा प्रचण्डले पोष्ट बहादुर बोगटीमा पार्टीभित्रका र वर्गसंघर्षका काम पनि समाधान गर्न सक्ने कला, व्यवहार कुशलता धेरै माथि भएको भन्दै प्रशंसा गर्नुभयो ।