मन्त्रीलाई दुव्र्यवहार गरेका ज्ञानेन्द्र शाही र सवर्साधारणबीच झडप, प्रहरीले दियो शाहीलाई सुरक्षा

मूलखबर संवाददाता
काठमाडौं

ललितपुर, २९ भदौ ।

पर्यटनमन्त्रीलाई दुव्र्यवहार गरेको भन्दै आरोपीत ज्ञानेन्द्र शाहीमाथि केही युवाहरुले हातपात गरेका बताइएको छ । आफूलाई भ्रष्टाचार विरोधी अभियन्ता बताउँदै आएका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही)को नेतृत्वमा हिजो नेपालगञ्जमा पर्यटन मन्त्री योगेश भट्टराईमाथि दुव्र्यबहार गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । शाहीले हिजोको घटनाबारे धारणा सार्वजनीक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा उनीमाथि हातपात भएपछि उनको सुरक्षा प्रहरीले गरेको थियो ।

प्रहरीले ललितपुरस्थित पत्रकार सम्मेलनको हलबाट शाहीलाई सुरक्षाको लागि नियन्त्रणमा लिएको पुष्टि गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईमाथि नेपालगन्जमा दुर्व्यवहार र हातपात प्रयास गरेका शाहीले त्यहीबारेमा जानकारी दिने बताउँदै पत्रकार बोलाएका थिए। शाहीले पत्रकार बोलाएको भनिएको कार्यक्रमस्थलमा कयौँ युट्युबरको ठूलो भिड लागेको थियो। कार्यक्रमस्थलमा युटुबरसँगै सर्वसाधारण पनि सहभागि भएका थिए । सर्वसाधारणले प्रश्न सोधेपछि शाही आक्रोसित भएपछि हातपात भएको प्रत्यक्षदर्शीले मूलखबरलाई बताए ।

शाहीका गतिविधिलाई लिएर सर्वसाधारणले पनि आक्रामक प्रश्न गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। त्यसक्रममा प्रश्न सोध्ने र उत्तर दिनेबिच झडप भएको थियो। त्यसक्रममा सर्वसाधरण, युटुबर र शाही समर्थकबीच हात हालाहाल भएपछि प्रहरी पुगेर हस्तक्षेप गरेको हो। ललितपुर प्रहरीका इन्सपेक्टर माधव केसीसहितको टोलीले शाहीलाई नियन्त्रणमा लिएको हो। उनलाई सुरक्षा दिएर राखिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले बताए।