संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा नेकपा – प्रचण्ड

काठमाडौं

संविधान विरोधी तत्वहरुसँग प्रतिवाद गर्ने अभियानमा आफ्नो पार्टी लागि परेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनुभएको छ ।
बिहीबारबाट काठमाडौंमा सुरु भएको दलित सम्बन्धि राष्ट्रिय सम्मेलनलाई उद्घाटन गर्दै उहाँले संविधान कार्यान्वयन गर्ने अभियानमा साथ दिन सबै समूदायलाई आग्रह गर्नुभयो । कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले दलित मुक्ति आन्दोलन दीर्घकालीन आन्दोलन पनि भएकाले त्यसमा उत्पीडित समूदायले एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पार्नु भयो । संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताउनु भएको छ ।
संविधानले दलितमुक्तिको परिकल्पना गरेको भएपनि त्यसलाई कार्यान्वयनमा लैजान उनीहरु आफैं चनासो हुनुपर्ने अध्यक्ष दाहालको भनाई छ ।
कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवम् सत्ता साझेदार समाजवादी पार्टी, नेपाल संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले दलित समूदायको अधिकार सुनिश्चित गर्न उनीहरुलाई उच्च शिक्षासम्म निःशुल्क अध्ययन गर्न पाउने गरी कानुन बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले सुकुम्बासी दलितहरुलाई तत्काल जमिनको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।
अध्यक्ष भट्टराईले हिन्दु धर्मले जातपातको प्रथालाई प्राथमिकता दिएकाले पनि नेपालमा दलितमाथि हुने विभेद अन्त्य गर्न कठिन हुन पुगेको तर्क पनि गर्नु भयो ।