जंगलमा बसेका ७३ वर्षिय तामाङलाई दिईयाे नागरिकता
करीब ४ दशक यता जंगलमा बस्दै आएका एक बृद्धले लमजुङको दोर्दी गाउँपालिका ४ को वडा कार्यालयको सहयोगमा नागरिकता पाउनुभएको छ ।
नौथरको बाँसकोट घर भएका सम्शेर तामाङले ७३ बर्षको उमेरमा जिल्ला प्रशासन कार्यालय लमजुङबाट नागरिकता पाउनुभएको हो ।
दोर्दी गाउँपालिकाका ४ का वडाध्यक्ष सुकबहादुर गुरुङको पहलमा कानुनी प्रक्रिया पूरा भएपछि जिल्ला प्रशासन कार्यालयले साउन २० गते तामाङलाई नागरिकता प्रदान गरेको हो ।
वडाध्यक्ष गुरुङका अनुसार ३० वर्षको उमेरसम्म आफ्नै गाउँ तत्कालीन नौथर गाविस ४ बाँसकोटमा बस्दै आएका तामाङ त्यसपछि भने बेपत्ता थिए ।
कहिले जंगलमा, कहिले बाटो माथि र बाटोमुनीका ओडार तथा आफैंले त्रिपाल टाँगेर बस्दै आएका तामाङ डेढबर्षयता भने गाउँपालिकाका विभिन्न ठाउँमा देखिन थालेका थिए । गाउँ वरपर देख्न थालेपछि उहाँलाई फकाई फुल्याई नागरिकता प्रदान गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
एकान्तमा एक्लै बस्न रुचाउने तामाङ आफ्नो साथमा त्रिपाल र पकाउने भाँडा बोकेर ठाउँठाउँमा गई बस्ने गर्थे । कहिले ओडार र कहिले त्रिपाल टाँगेर एकान्तमा बस्ने तामाङले मागेर ल्याएको खानेकुरा पकाएर त्यही खाएर जीवन निर्वाह गर्दै आएका थिए । उनको बैरागी अवस्था देखेर नागरिकता दिन पहल गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँमा बस्दा श्रीमतीको मृत्यु भएको र डेढ बर्षको छोरा पनि मृत्यु भएपछि तामाङ बिछिप्त बनेका थिए । छोरीको विवाह भइसकेको छ । घरमा कोही नभएपछि एक्लै विरक्तिएर हिँडेका उहाँलाई जीवनयापत केही सहज होस भनी नागरिकताका लागि पहल गरिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।
सरकारले सामाजिक सुरक्षा भत्ताबापत ७० बर्ष उमेर पुगेका बृद्धबृद्धालाई मासिक ३ हजार रुपैयाँ दिने गरेकोमा तामाङको पनि सामाजिक सुरक्षा भत्ताको लागि पहल थालिएको वडाअध्यक्ष गुरुङले बताउनुभयो ।