प्रचण्डकाे परिवारकाे नाममा विदेशमा कुनै खाता र सम्पत्ति छैन – सचिवालय

काठमाडौं, २८ साउन –

नेकपा अध्यक्ष एवम् गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जाेडेर दुबईमा सम्पत्ति लुकाएको भन्ने ढंगबाट भएको प्रचारबाजी पुरै भ्रामक र षड्यन्त्रपूर्ण रहेकाे प्रचण्डकाे नीजि सचिवालयले बताएको छ ।

गत साता पत्नि सीता दाहालकाे उपचार र अारामकाे सिलसिलामा दुबई पुग्नुभएका प्रचण्डलाई दिवंगत छाेराकाे नाममा सम्पत्ति रहेकाे र त्यसलाई व्यवस्थापन गर्न गएको भनेर केही अनलाइन मिडियाले समाचार प्रसारण गरेपछि प्रचण्डकाे स्वकीय सचिव जाेखबहादुर महराले विज्ञप्ति नै निकालेर खण्डन र भ्रत्सना गरेका हुन् । उनले यसबाट कति पनि भ्रमित नहुन अपिल पनि गरेका छन् ।

प्रचण्डको सचिवालय द्वारा जारी गरिएको विज्ञप्तीमा जनक्रान्तिका उपलब्धीविरुद्ध प्रतिगामी तत्वहरु योजनाबद्ध ढंगले लागि परेको भन्दै यस्ता अनर्गल प्रचारको पछि नलाग्न भनेको छ। विज्ञप्तिमा भनिएको छ –

आदरणीय जनसमुदाय,

यतिबेला जनक्रान्तिका उपलब्धी विरुद्ध प्रतिगामी तत्वहरुबाट योजनाबद्ध ढंगले प्रहार गर्ने दुश्प्रयास भइरहेको छ । क्रान्तिकारी ध्रुवीकरणबाट अत्तालिएका प्रतिगामी तत्वहरु क्रान्तिकारी पार्टी र नेतृत्वप्रति जनतामा भ्रम छर्न अनर्गल, तथ्यहीन र भ्रामक कुप्रचारमा लागेका छन् ।


यसकै पछिल्लो कडीको रुपमा अध्यक्ष कमरेड प्रचण्डको दुबई भ्रमणको बिषयलाई लिएर केही कुत्सित मनसाय भएका व्यक्तिहरु उहाँको बदनाम गर्न उद्दत छन् । दिवंगत कमरेड प्रकाश दाहालको नाममा दुबईको बैंकमा २१ अर्ब रुपैयाँ रहेको र त्यसलाई व्यवस्थापन गर्न अध्यक्ष प्रचण्ड दुबई गएको भन्ने उनीहरुको कुप्रचारको हाम्रो सचिवालय घोर भत्र्सना र खण्डन गर्दछ । यस प्रकारको दुरासयपूर्ण अभिव्यक्ति अग्रगामी परिवर्तनको नेतृत्वलाई जनतामा बदनाम गराउने प्रतिक्रान्तिकारीहरुको षडयन्त्रपूर्ण भ्रामक प्रचार मात्र हो । 


कमरेड प्रकाशको नाममा विदेशको कुनै पनि बैंकमा खाता र पैसा रहेको प्रमाणित गर्न हामी चुनौति दिन्छौं । परिवर्तन विरोधी प्रतिगामी, प्रतिक्रान्तिकारी तत्वहरुका यस खालका कपोल्कल्पित भ्रामक प्रचारबाट भ्रमित नहुन आम पार्टी पङ्क्ति एवम् जनसमुदायमा हार्दिक अपील गर्दछौं ।

यस प्रकारका षडयन्त्रपूर्ण र झुटा प्रचार गर्ने तत्वहरुलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरकारी निकायसँग अनुरोध गर्दछौं ।


२८ साउन, २०७६
…………………..
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष प्रचण्डको निजी सचिवालय