जनयुद्धमा सहभागि भएकै आधारमा पूर्व सेनालाई भगौडाको आरोपमा कारवाही नरोके पूर्व जनमक्ति सेनाले कडा प्रतिवाद गर्ने

काठमाडौं,२४ साउन । जनयुद्धको समयमा नेपाली सेनाबाट विद्रोह गरि जनमुक्ति सेनामा प्रवेश गरेका सेनालाई नेपाली सेनाले भटाभट भगौडाको आरोपमा सैनिक नियम अनुसार कारवाही गर्न थालेपछि पूर्व जनमुक्ति सेनाले नेपाली सेनाको उक्त कदम प्रति कडा आपत्ति जनाएको छ ।
पूर्व जनमुक्ति सेना ,नेपाल चितवनले जिल्ला प्रशासन मार्फत प्रधानमन्त्रीलाई आज ज्ञापन पत्र बुझाउँदै देश र जनताको परिवर्तनको लागि चलेको जनयुद्धमा सहभागि भएको घटनालाई कुनै अपराध गरे जसरी भगौडा भन्दै कारवाही गरिएकोमा आपत्ति प्रकट गरेका छन् ।
शान्ति सम्झौता अनुरुप शान्ति प्रक्रिया अघि बढ्नु पर्नेमा द्धन्दको विषयलाई कुनै अपराधी घटना जस्तो गरेर नेपाली सेनाले एकतर्फि रुपमा विगतमा शाहि सेनाबाट जनमुक्ति सेनामा प्रवेश गरेका व्यक्तिलाई गिरफ्तार गरिएको घटनाले द्धन्दलाई निम्त्याउने तर्फ सचेत रहन पनि पूर्व जनमुक्ति नेपालले सरकारलाई ध्यानाकर्षण गराएको छ । जनमुक्ति सेनाले गणतन्त्र ल्याउन खेलेको त्याग र वलिदानलाई नजरअन्दाज गरिएमा यस्ता घटनाको कडा प्रतिवाद गर्न आफुहरु सडकमा आउन बाध्य हुने भन्दै समयमै समस्यालाई समाधान गर्न पूर्व जनमुक्ति सेना , नेपालले सरकारलाई आग्रह गरेको छ । शान्ति सम्झौताको कार्यान्वयन गर्दै जनमुक्ति सेनाको समायोजन नेपाली सेनामा भैसकेको समयमा पून द्धन्दलाई निम्त्याउने खाल्का कदमहरु तत्काल रोक्न विज्ञप्ति मार्फत सरकारलाई आग्रह गरिएको छ ।