प्रतिनिधिसभा बैठक को अवरोध हट्यो



काठमाडौं,२० साउन । अध्ययन तथा सुझाव विशेष समिति गठन संगै लामो समय देखि अवरुद्ध हुदै आएको संघीय संसदको प्रतिनिधिसभाको बैठक सुचारु भएको छ ।
सोमबार संघीय संसद भवन नयाँवानेश्वरमा बसेको सर्वदलिय बैठकमा सदनको गतिरोध अन्त्य गर्ने र संसदलाई प्रभावकारी बनाउने सहमति भएपछि असार २४ गते देखि अवरुद्ध संसद संचालनको बाटो खुलेको हो । छलफलमा संसदमा फेरी पनि यस्तै गतिरोध देखा नपरोस् भनी सुझाव दिनका लागि ७ सदस्यीय अध्ययन तथा सुझाव विशेष समिति गठन गर्ने सहमति भए अनुसार बैठकमा सभामुखले प्रतिनिधिसभा नियमाली २०७५ को नियम १ सय ७७ बमोजिम अध्ययन तथा सुझाव संसदीय विशेष समितिमा रहनुहुने सदस्यहरुको नामाबली पढेर सुनाउनुभएको थियो ।
नेकपा संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गको संयोजकत्वमा गठित समितिमा नेकपाका तर्फबाट देव गुरुङ्ग र विन्दा पाण्डे, नेपाली कांग्रेसबाट पुष्पा भुसाल गौतम, मिनेन्द्र प्रसाद रिजाल, राजपाबाट लक्षमणलाल कर्ण र समाजवादी पार्टीबाट उमाशंकर अरगरिया सदस्य छन् । समितिले सभामुखको निर्देशनमा रही काम गर्ने छ । समितिलाई १ महिनाको समय दिईएको छ ।
यसअघि बैठकको सुरुमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रमुख प्रतिपक्षी दलले संसद अवरुद्ध गर्दा उठाएका मानवअधिकार र लोकतन्त्र संग जोडिएका विषयवस्तु सम्बोधन गर्नका लागि संसदबाटै सम्बोधन गरेर जनताले सुन्न पाउने व्यवस्था मिलाउन सभामुखको प्रभावकारी नेतृत्व र भुमिकाको अपेक्षा आफुहरुले गरेको बताउनुभयो । उहाँले कांग्रेस कुनै पनि हत्या हिंसाको पक्षमा नरहेको र शान्तिपुर्ण रुपमा समाधान खोज्नुपर्छ भन्नेमा दृढ रहेको र लोकतन्त्रका आधारभुत मुल्य मान्यता र मानवअधिकार, विधिको शासन, शुसासनको विषयमा वकालत गर्न आफ्ना दृष्टिकोण राख्दै आएको स्मरण गराउदै विधिको शासन र मानवअधिकारको रक्षाका लागि सरकारलाई जिम्मेवार बनाउने सवालमा सभामुखको प्रभावकारी भुमिका खेल्नेमा आफुहरु विश्वस्त रहेको बताउनुभयो ।
राजपाका सांसद राजकिशोर यादवले नेपालको राष्ट्रिय राजनीतिमा सार्थक संवादको सुरुवात भएको भन्दै सभामुखको पहल कदमीको प्रसंम्सा गर्नुभयो । गिशिचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक र सर्लाहिका घटनाको सही तथ्य बाहिर आउनुपर्ने माग गर्दै आफुहरुले संसद अवरुद्ध गर्दै आएको उल्लेख गर्दे उहाँले सभामुखको पहलकदमीबाट सार्थक निष्कर्षमा पुग्ने काम भएकोमा सबै प्रति आभार व्यक्त गर्नुभयो ।
नेकपा संसदीय दलका प्रमुख सचेतक देव प्रकाश गुरुङ्गले संसदको गतिरोध अन्त्य गर्दे सुझाव समिति गठन गर्ने विषयमा भएको सहमतिको स्वागत गर्नुभयो । उहाँले छलफल मार्फत समस्याको समाधानमा पुग्ने सन्र्दभमा भएको सहमति सकारात्मक पक्ष भएको धारणा राख्नुभयो ।
यस अघि साउन १६ गते विहिबारको बैठक सूचना टाँसेर साउन २० गते सम्मका लागि स्थगित गरिएको थियो । संसदको अवरोध खुलाउने सम्बन्धमा सभामुख कृष्ण बहादुर महराले आव्हान गर्नुभएको सर्वदलिय बैठकमा दलहरुबीच सहमति जुट्न नसकेपछि थप छलफल आवश्यक रहेको भन्दै बैठक ४ दिन पछाडि सारिएको थियो । आज सोमबार ११ बजेका लागि बोलाईएको बैठकपनि सर्वदलिय छलफल चलिरहेको भन्दै सुचना टाँसेर १ बजे सम्मका लागि स्थगित गरिएको थियो । यसबीचमा सभामुखले संसदीय दलका उपनेता तथा प्रमुख सचेतकहरुसंग छलफल गर्नुभएको थियो ।
नेत्र विक्रम चन्द्र विप्लब समुहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल र राजपाका कार्यकर्ता सरोजनारायण सिंहको प्रहरीको गोली लागि मृत्यु भएको घटना छानविन गर्न संसदीय छानविन समिति गठनको माग गर्दे नेपाली कांग्रेस र राजपाले असार २४ गते देखि सदन अवरुद्ध गर्दै आएका थिए । लालबन्दी नगरपालिका लखनदेहीको जंगलमा प्रहरीसंगको मुठभेडमा मारिएको भन्ने सरकारी दाबी सही नभएको भन्दै कांग्रेसले घटनाको सत्य तथ्य छानविन हुनुपर्ने माग गर्दे आएको थियो । त्यसैगरी सर्लाहीको श्रीनगरस्थित बाँके खोलामा अबैध बालुवा खन्ने क्रममा बनेको खाल्डोमा डुबेर बालक अमित कुमार रायको मृत्यु भएपछि भएको प्रर्दशनका क्रममा प्रहरीे चलाएको गोली लागि सिंहको मृत्यु भएको थियो ।