बैदेशिक राेजगार : १ वर्षमा करिब ९ खर्ब रेमिटान्स, ८ सयले गुमाए ज्यान

आर्थिक वर्ष ०७५/७६ मा वैदेशिक रोजगारीमा ५ लाख ८ हजार युवा बिदेसिए, करिब ८ सयले उतै ज्यान गुमाए, जसको बदलामा राज्यले पौने ९ खर्ब रेमिट्यान्स प्राप्त गर्‍यो, त्यसैको बलमा अर्थतन्त्र धानिएको छ ।

काठमाडौं , १४ साउन –

गत आर्थिक वर्ष ०७५/७६ मा मुलुकले विदेशबाट करिब पौने ९ खर्ब रेमिट्यान्स भित्र्याए पनि त्यसको मूल्य भने अकल्पनीय रूपमा तिर्नुपरेको छ । सो वर्षभरि ८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । तर, सो आर्थिक वर्षभरिमा ७ सय ८३ जना नेपाली युवाले बिरानो भूमिमा काम गर्दागर्दै ज्यान गुमाएका छन् ।

१३ खर्बभन्दा बढीको व्यापार घाटा भोगेको मुलुकलाई टाट उल्टाउनबाट जोगाउन विदेशमा पसिना बगाएका युवाले पठाएको रेमिट्यान्सले भूमिका खेलेको छ । तर, आफ्नो परिवार र मुलुकका लागि बाहिरिएका युवाले अत्यन्तै असुरक्षित वातावरणमा काम गर्नुपर्दा ज्यान नै गुमाउनुपरिरहेको छ । 

अर्कातर्फ मुलुकभित्र पर्याप्त रोजगारीका अवसर सिर्जना नहुँदा वैदेशिक रोजगारीमा नेपाली युवाको बाध्यता घटेको छैन । सरकारले हरेक वर्ष ५ लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । मुलुकभित्र कति रोजगारी सिर्जना भयो, त्यो तथ्यांक सरकारसँगै छैन । तर, गत आवमा ५ लाख नेपाली युवा नै रोजगारीको खोजीमा बिदेसिएको तथ्यांक भने सरकारले प्रकाशन गरेको छ । 

नेपालबाट श्रम स्वीकृति लिएर मात्रै नभई विद्यार्थीका रूपमा समेत वैदेशिक रोजगारीमा जानेको संख्या बढिरहेको छ । सोहीकारण श्रम स्वीकृति लिएर जाने मुलुकबाट भन्दा अध्ययन भिसामा गएका मुलुकबाट नेपालमा रेमिट्यान्स बढी भित्रिरहेको खबर नयाँ पत्रिकामा छ । 

 एक वर्षमा ५ लाख ८ हजार बिदेसिए
आर्थिक वर्ष ०७५/७६ मा कुल ५ लाख ८ हजार ८ सय २८ नेपाली वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक गएका छन् । यसमध्ये २ लाख ३६ हजार २ सय ११ जना पहिलोपटक श्रम स्वीकृति लिएर विदेश गएका हुन् । २ लाख ७२ हजार ६ सय १७ जना भने पुनः श्रम स्वीकृति लिएर बिदेसिएका छन् । वैदेशिक रोजागारीमा गएकामध्ये ४ लाख ७६ हजार ७ सय ५ जना पुरुष र ३२ हजार १ सय २३ जना महिला छन् । 

अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ६ लाख १७ हजार ४ सय १७ जना वैदेशिक रोजगारीमा गएका थिए । त्यसको तुलनामा गत आव ०७५/७६ मा काम गर्न विदेश जानेको संख्या करिब १८ प्रतिशतले घटेको हो । हालसम्म कामका लागि विदेश जाने नेपालीको संख्या करिब ४५ लाख ४० हजार रहेको सरकारी तथ्यांक छ ।

७ सय ८३ जनाले विदेशमै ज्यान गुमाए
०७५/७६ मा वैदेशिक रोजगारीमा बिदेसिएका ७ सय ८३ जना नेपालीले ज्यान गुमाएका छन् । विभिन्न दुर्घटना, रोग, हत्या तथा आत्महत्यासमेत गरेर त्यति नेपालीको विदेशमै मृत्यु भएको हो । विदेशमा आफ्नो ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी मलेसियामा २ सय २९ जना छन् । त्यस्तै, साउदी अरेबियामा १ सय ९७ जना, कतारमा १ सय ३५ र युएईमा ८५ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष ०७४/७५ मा ८ सय २१ जनाले विदेशमा ज्यान गुमाएका थिए ।

८ खर्ब ७० अर्ब रेमिट्यान्स भित्रियो
गत आर्थिक वर्षको अवधिमा नेपालमा कुल ८ खर्ब ७० रुपैयाँ रेमिट्यान्स भित्रिएको प्रक्षेपण नेपाल राष्ट्र बैंकले गरेको छ । वर्षभरिमा भित्रिएको अन्तिम तथ्यांक तयार भइनसकेको भए पनि करिब पौने ९ खर्ब रेमिट्यान्स भित्रिएको प्रक्षेपण राष्ट्र बैंकले गरेको अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्टले जानकारी दिए ।