राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयाबी हुन सकेन : मन्त्री किराती

मूलखबर संवाददाता
काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राजनीतिक दबाबमा निर्माण गरिएका विमानस्थलहरू कामयाबी हुन नसकेको बताउनु भएको छ । उहाँले आगामी दिनमा आवश्यकताका आधारमा मात्रै विमानस्थल निर्माण गर्नुपर्ने बताउनुभयो । मन्त्री किरातीले खम्बा विद्रोह देखाएर पर्यटकका लागि निषेधित क्षेत्र गरिएकोमा त्यसको समाधान खोज्नुपर्ने, भैरहवा र पोखरा विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि कूटनीतिक पहल लिनुपर्ने बताउनुभयो ।

आइतबार बिहान सिंहदरबारमा आयोजित खानेपानी मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संयुक्त छलफलमा उहाँले यस्तो बताउनु भएको हो । यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्लेले अन्तरनिकाय समन्वय कमजोर हुँदा निर्धारित अवधिभित्र काम हुन नसकेको बताउँदै त्यसका लागि एकीकृत कार्ययोजना जरुरी रहेको बताउनुभयो ।

उहाँले मन्त्रालयमा गुनासो सम्बोधनको प्रबन्ध मिलाइएको, त्रिभुवन विमानस्थलको स्तरोन्नति गरिएको, भूकम्प प्रभावित ७९ प्रतिशत पुरातात्त्विक सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गरिएको, नेपाल वायुसेवा निगमले ३ वर्षमा ३ गुणा मुनाफा गरिएको, नेपालबाट विभिन्न रूपमा बिदेसिएका १४५ वटा मूर्ति फिर्ता ल्याइएको, राजतन्त्रकालदेखिका पशुपतिका १०० भन्दा बढी सल्लाहकारहरू खारेज गरिएको बताउनुभयो ।