डाक्टर भएरै जनताकाे सेवा गर्दा आनन्द आउँछ- प्राे.डा. मथुरा केसी

267 Hits

काठमाडौं , २० असार –

गाउँमा जन्मीएर शहर पसेपछि गाउँलाई माया गर्ने र गाउँमै फर्कन चाहने मानिसहरु कमै होलान् । त्यसैमध्येमा पर्दछन् प्रो.डा. मथुरा केसी ।

पाल्पाको एक गाउँमा जन्मीएर विद्यालय तहसम्मको अध्ययन गाउँमै गरेका डा केसी भारत, वंगलादेश, श्रीलंका, इरान, पाकिस्तान र अमेरिकामा पढेर उत्कृष्ट चिकीत्सक र कन्सल्ट्यान्ट भइ धेरै वर्ष काम समेत गरे र नेपाल फर्कीएर फेरी चिकित्सक पेशामै चाालिस वर्ष सेवा गरिसकेका छन् ।

उमेरले ६९ पुगिसेका उनी युवा जस्तै स्वस्थ र क्रियाशील छन् । उत्पीडित, असहाय र गरीब नागरिकको सेवा गर्दा आनन्द आउने अनुभव सुनाउने डा केसीले अहिले आफ्नै जन्मस्थान पाल्पाको ताहूँमा एक हेल्थ एण्ड एजुकेशन फाउण्डेशन स्थापना गरेका छन् । आफ्नै १ करोड रकम सिड मनि राखेर शुरु गरेको फाउण्डेशनमार्फत उनले २० शैयाको अस्पताल निर्माण गर्नेदेखि अनमी, नर्सींग र रेडियोलोजीसम्वन्धी अध्यापन गराउने र जनस्वास्थ्य सँग सम्वन्धीत विभिन्न अभियान सञ्चालन गर्ने तथा महिला शशक्तकिरण, डायवेटीस र एनीमिया सम्वन्धी अनुसन्धान गर्ने योजना बनाएका छन् । “प्रो. डा. मथुरा केसी हेल्थ एण्ड एजुकेशन फाउण्डेशन” नाम दिएका सो अध्ययन एवम् अनुसन्धान केन्द्रको गत असार १२ गते स्थानिय वयोवृद्ध महिलाबाट शिलान्यास गराएका छन् ।

काठमाडौंकी डा.उर्मीला कार्कीसँग प्रेम विवाह गरेका उनी गाउँमा उचित स्वास्थ्य उपचारको अभावमा क्षयरोगबाट आमा र हर्ट एट्याकबाट बुबालाई गुमाउनुपरेको पीडाले फाउण्डेशन स्थापना गर्ने प्रेरणा पैदा भएको बताउँछन् ।


उनी आमा वित्दा बंगलादेशमा थिए भने बुबा वित्दा अमेरिकामा थिए । गाउँका अरु आमा बा र नागरिकले आफ्नो आमा बाले जस्तै स्वास्थ्य उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य हुने अवस्थाको अन्त्य गर्न हेल्थ एण्ड एजुकेशन फाउण्डेशन स्थापना गरेको उनी बताउँछन् ।

“म मर्ने बेलामा मात्रै गाउँको पानीको धाराको पानी खाने कुराको पक्षमा होइन बाँचीन्जेल आफ्ना गाउँको सेवा गर्न चाहन्छु ।”उनले भने ‘हामीले के पायौं भन्दा पनि हामीले के दियौं भनेर सोच्नुपर्छ ।’


नेपालबाट एच ए पढेर पनि बंगलादेशमा एमविविएस पढ्न पाउने व्यवस्था गराउन भुमिका खेलेका डा केसी त्यसपछिका सरकार र राजदूतले पहल नगर्दा त्यसले निरन्तरता नपाएको बताउँछन् ।
डा गोविन्द केसी, डा. केदार नरसिंह केसी, डा अर्जुन कार्की, डा. भगवान कोइराला, शुरेश कायस्थ लगायतले त्यहि व्यवस्थाका कारण एमविविएस गर्न सम्भव भएको उनले खोले ।

आमा र बुबा दुबैको क्रिया नगरेका उनले आमा बुबाको सम्झनामा गाउँकै विद्यालयमा गरीव तथा जेहेन्दार विद्याथीलाई दिनको लागि १ लाखको अक्षय कोष स्थापना गरिदिए । एक त आफू भौतिकवादमा विश्वास गर्ने चिन्तक भएको तथा अर्को आफूले गुमाइसकेको आमा बुबाको सम्झना र सम्मानमा समाजमा केही गर्ने उदेश्यले उनले त्यसो गरेको बताए ।

विद्यालयमा नेभर सेकेण्ड पोजिशनमा उत्तीर्ण उनी भारतमा अाईएस्सी र वंगलादेशमा पनि फस्ट नै भए । त्यहाँबाट कोलम्बो प्लानमा पाकिस्तान गएर उनले एफसिपिएस, डिपकार्ड गरे । उनले त्यसमा पनि फस्ट नै गरे । त्यसपछि उनलाई त्यहाँको सरकारले कन्सल्टेन्टको रुपमा लियो । उनले कन्सल्टेन्टको रुपमा १ वर्ष काम गरे ।

त्यसपछि इरानमा गएर एमडी गरे र १० वर्ष कन्सल्टेण्ट भएर काम गरे । इरानी भाषामा समेत पोख्त बनेका उनी त्यहाँ स्थापित र लोकप्रीय चिकित्सक बन्न सफल भए । इरानबाट नेपाल फर्केका उनी पाटन मिसन अस्पतालमा कन्सल्टेण्टको रुपमा ६ महिना काम गरे ।

त्यसपछि क्षेत्रपाटी निशुल्क चिकित्सालयमा १ वर्ष काम गरेका उनले काठमाडौं मेडिकल कलेज खुलेपछि पहिलो डाइरेक्टरको रुपमा काम गरे । त्यसपछि लगातार केएमसीमा आवद्ध उनी हिमाल अस्पताल, पोलिल्किनीक आदिमा वरिष्ठ कन्सल्टेण्टका रुपमा काम गरे ।

काठमाडौं मेडिकल कलेजका संस्थापक डाइरेक्टरको रुपमा भुमिका खेलेका र अहिले पनि सोही कलेज र अस्पतालमा क्रियाशील डा. केसीसँग नेपालको चिकित्सा शिक्षा नीति, डा केसीको अनसन, सरकारको समिक्षा आदि विषयमा गरिएको कुराकानी-

चिकीत्सा क्षेत्रमा कति वर्ष विताउनुभयो ?
मैले ४० वर्ष भन्दा वढि भयो चिकित्सा क्षेत्रमा लागेको ।

नेपालको वर्तमान चिकित्सा शिक्षा नीतिबारे केही बताइदिनुहोस् ।

नेपालको चिकित्सा शिक्षा नीति दोधारे खालको भयो । एकातिर नेपालमा मेडिकल कलेज खोल्न नदिने अर्कातिर ब्रेन ड्रेन भयो भनेर हौवा पिट्ने । मेडिकल शिक्षा हचुवाको भरमा दिएर हुन्छ ? खर्च त हुन्छ नी मेडिकल शिक्षामा । की सरकारले सबैलाई पढ्न सक्ने पुर्वाधार सहितको अस्पताल र कलेजहरु खोल्नुपर्यो नभए त तिर्न सक्नेले पढ्ने नै भए । नीजि कलेजहरुले १० प्रतिशत छात्रवृत्ति त दिएकै छन् नी ।

पैसा हुनेहरु नेपालमा नपाए बाहीर गएर पढ्छन् त्यसले त नेपालको पूँजी नै बाहीर जाने प्रक्रिया बढ्ने भयो नी । नेपालमा कलेज खोल्न नदिनु भनेको नेपालमा भ्रष्टाचार बढाउनु पनि हो किनकी यहाँ भन्दा महंगो मुल्यमा विदेशमा एमविविएस पढाउन पर्ने भएपछि नेपालीले कसरी तिर्ने । अनि त कि भ्रष्टाचार, दुई नम्बरी वा तस्करी गर्नुपर्यो की आफ्नो जग्गा जमीन बेच्नुपर्यो । अर्कोतर्फ यदि यहाँ हामीले राम्रा मेडिकल कलेज स्थापना र सञ्चालन गर्न सकियो भने विदेशका विद्यार्थी नेपालमा पढ्न आउँछन् त्यसले विदेशी पैसा नेपाल आउँछ र अर्थतन्त्र पनि बढ्छ । नेपालको पैसा विदेश पठाउने ठिक की विदेशको पैसा नेपाल भित्र्याउनु ठीक ?

अनि डा गोविन्द केसीले त काठमाडौंमा मेडिकल कलेज खोल्न दिनु हुन्न भनेर धेरै पटक अनशन बस्नुभयो त ?

डा गोविन्द केसी को हुन् ? उनी त सरकारी तलब खाएर काम गर्ने चिकित्सक हुन् नी । उनी तलब खाएर अनसन बस्ने ? बाहिर त्यस्तो पुर्वाधार भएका मेडिकल कलेज नै बन्न सकेका छैनन् । चिकित्सकहरु जान मान्दैनन् । अनि कसरी चल्छन् काठमाडौं बाहीर मेडिकल कलेज ?

सरकारको दायीत्वभित्र मेडिकल शिक्षालाई लैजानुपर्छ भन्ने कुरा कसरी बेठीक भयो त ?

कुरा त ठीक हो तर सम्भव हुनुपर्यो नी । उच्चशिक्षा वा १२ सम्म निशुल्क शिक्षा दिन नसक्ने सरकारले कहाँ मेडिकल शिक्षा निशुल्क गराउन सक्ला ? बरु सरकारले अरु पनि मेडिकल कलेजहरु खेल्न अनुमति दिएर भएकाहरुबाट लिने र नभएकालाई दिने नीति अख्तीयार गर्नुपर्छ । बाहिरका विद्यार्थीहरुलाई आकर्षण गर्ने प्याकेज निर्माण गर्नुपर्छ । नेपालका विद्यार्थीहरुलाई स्कलरसिपको वृद्धि गर्नुपर्छ ।

त्यसोभए गरीबका छोरा छोरीको डाक्टर बन्ने सपना त तुहिने भयो नी । हैन ?

सबै जनाले डाक्टर नै बन्नुपर्छ भन्ने कुरा कसले भन्यो । जे बन्नुस राम्रो बन्नुस न । अहिले हेर्नुस त बंगलादेश र चिनमा पढेका विद्यार्थीहरुले एनएमसी नेपाल मेडिकल काउन्सीलको परिक्षा पास गर्न नसकेर लाइसेन्स नै पाउन सकेका छैनन् । रहर गरेर मात्रै हुन्छ र ? त्यसैले म त भन्छु यसलाई अधिकारको रुपमा मात्रै नहेरेर कर्तव्य पुरा गर्ने सक्षम नागरिक बनाउनेतिर ध्यान दिनुपर्छ । डाक्टर, इन्जीनियर किन बन्ने ? उनीहरुबाट त जनताले सेवा पाउनुपर्यो नी धेरै पैसा खर्च गरेर अनेक गरेर डाक्टर बन्यो अनि उ पैसा कमाउन तिरै लाग्छ त्यसले गर्दा विभिन्न दुर्घटनाहरु भइरहेका छन् । त्यसैले जे गर आफू सक्ष मबन, अरको थोरै भएपनि सेवा गर त्यो पो हुनुपर्यो त । असल व्यापारी बनेपनि हुन्छ, व्यवसायी, उद्योगी, शिक्षक जे बनेपनि हुन्छ तर राम्रो र विज्ञ हुनुपर्यो डाक्टर नै बन्नुपर्छ भन्ने होइन ।

किन ठूला र स्थापित चिकित्सकहरु गाउँतिर वा काठमाडौं बाहीर जान मान्दैनन ?
जब चिकित्सा शिक्षा त्यति महँगो छ, सुविधाहरु छैनन् अनी कसरी जान्छन् त डाक्टरहरु ? गाउँबाट लगातार बसाई सराई र विस्थापितको लर्को शहर र काठमाडौंतिर ओइरिरहेका छन् । न त सुविधा छ न त विरामी नै छन् अनि किन जान्छन् त डाक्टरहरु ? आफूले सिकेको कुरा प्रयोग नै गर्न पाउँदैनन् । झिंगा धपाएर बस्नको लागि त जाँदैनन् नी ।

डाक्टरलाई सुविधा कम भएर जान नमानेका हुन् त ?

हो त्यो पनि प्रमूख कुरा हो । सरकारले २० हजार ३० हजार मात्रै तलब दिएर गाउँ जाउ भन्छ कसरी मान्छन् त उनीहरु ? कम्तिमा पनि एमविविएस डाक्टरको लागि ८० हजार मासिक तलब दिनुपर्छ अनिमात्रै जसलाई जहाँ खटाएपनि उनीहरु सजिलै जान्छन् । अहिलेको खर्च त वालुवामा पानी जस्तो भएको छ । जति हाले पनि उनीहरुको आवश्यकता नै पूर्ती भएको हुँदैन अनि कसरी हुन्छ सही उपचार ?

Loading...

Related News

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का