सम्झनामा असार १५ : हर-हर महादेव पानी देउ-देउ !

82 Hits

भरत मरहट्टा, १५ असार

पानी ठुलै पर्दा बलेसीमा धारो पनि ठुलै झर्दा ह्जुर्मा भए-भरका ताउलो (खड्कुलो), गाग्री, भडडु सबै भर्दैगर्दा म चै हिल्लामे टिलपिलाएको आगनमा ठुला-ठुला पानीका फोका कुल्चदै, उफ्रिदै चप्ल्याङ्ग-चुप्लुङ्ग गर्दै भाका फिराउदै थिए –

खरानीको डल्लो कति सार्हो ?
महादेवलाई पानी दिन कति गार्हो?
हर-हर महादेव पानी देउ-देउ!
यतिले पुगेन अलि थपीदेउ!!

दननन पानी दर्किदै जादा खरको छानो चुहिएर दैला~अ पिढीमा पानी तप्किदा हजुर्मा थाल थापेर पानी आगनमा हुत्याउदै हुनुहुन्थ्यो l बाछिटाले कमेरो बगाउदै पिढीको भित्तामा बलिन्द्र धारा बगेको हेर्दै/दिक्क मान्दै पिढीको खाटको भुत्तेथाउनोमा गुन्द्री लपेट्दै हजुर्मा गनगनाउदै हुनुहुन्थ्यो – “तलातिरको भकारीमा नि पानी छिर्यो कि क्या हो!” पालिको पल्लो छेउ रहेको ढिकेरीको ओखल त बाछिटाले भरिइसकेको थियो जसलाई त्यति मतलब राख्नु भएन सायद असारे खर्च कुटीइ सकेको थियो क्यारे l एक अमलो ओभानो दाउरा भडारा~अ कुना जोरजाम गरेसी बल्ल मलाई कराउन भ्याउनुभो – “यसै त मुर्दारको रगतले यस्तो बिजोग बनाईराछ…कति कराको! हेर भिजेर!” हजुर्मालाई लाग्यो होला म बालखाको गित सुनेर “बर्खे देवता” झन् मुसलधारे आधि-बेहरीनै थप्दै छन् l

छानाको खर भिजेर बलेसी खसेको खैरो पानीले भरिएको भडडु खल~ल~लल्ल टाउकाबाट खन्यौदै झन् उछेल्या भएसी हजुर्मा अझ फत्फताउदै हपार्न लाग्नुभो – “अझ टेर्दैनस!…भरे राती आबोई! खुट्टाका औलाको काप चिलायो ध्वासो लाइद्याल भनेर मसग रो त!…सन्चो हुदैन झ्वाला हुन्छ भनेको!…खुरुक्किन यता आइज! अझ मातिन्छस!” हजुर्मा ताउर-माउर गर्न थाल्नु भो l मलाई पिढीमा थर्चार्दै पछ्यौराले पुछ्दै हैरानीको भावमा भन्नुभो – “भोलि त यसलाई पनि खेत रोप्न लखेटदिनी हो l मेलाआ~ त दिउसो भात उही पकाउछन् उही खान पाइन्छ l”

खेत रोप्न सबैजना फाटमा तल्लिन हुदा घरमा बस्नी भनेकै बुढाबुढी र केटाकेटीनै हुन्थे l सुखको लागी दु:ख गरिनी असारको महिना आसु र मासुको महिना हो l हामी केटाकेटीको लागी यो झन् ओसिलो र पोसिलो महिना l पानीको ओससग रमाउदै थोते/भरिला दुधिला मकैको पोषको आनन्द खोइलै समेत कोपरेर लिन पाइन्थ्यो l अझ मिठो त काचो आपको “थेपे” l हामी फुच्चेहरु रुखमा चढेर टिप्न त के सक्थेम र तैपनि अम्डाला पाखाबाट झरेकै भएनि आप बटुलेर ल्याएसी सिलौटामा सुमु (सुमित्रा) र सिता दिदीले मिठो “थेपे” थिच्थे l

पोलेको मकैसग … हलेतोको पहेलीसंगै अदुवा-लसुनको गन्धमा मन्ध जिरो-पिरो र नुन-खुर्सानी ट्वाक्क जोडेर बनाइनी त्यो “थेपे”… प्यात्त हातमा हालेर जिब्रोको प्वाट्ट आवाजमा च्याट्ट चाट्दै खादा… आहा! अहिले पनि मुखैभरि पानी आउछ l असारको बेला दिदीहरु प्राय घर कुर्नी त्यसैले सुर्य दाइ, मलाई र अर्जुनेलाई मागेर हुन्छ कि चोरेर हुन्छ पल्लोबारीबाट खदा (खन्यु) र जोगीगामबाट नासपाती ल्याउन खटाउथे l बर्खे आरु र गैह्राबारीको काचो “पदेल” नि टिप्न बाकी राखेनौ l मिठो/चोखो पकाको बेला बोलाई-बोलाई ख्वाउनी दिदीहरु फकाएर काम लगाउन सिपालु… नमान्ने त कुरै आएन…ल्याएरै खाइन्थ्यो l

बिहान काकाले गजुवा र कथुरेलाई ताउलाभरि कोदोको खोले खुवाएर पनि फुकाउनी बेलामा २/२ घोगा दुधिला मकै मुखैमा हाल्दिए l मकै चपाउदै गोब्रर्याउदै भकारो छोडेका हल गोरुको पछि-पछि काकाले बोक्न दिएको हडम्लो (नारा) बोक्दै हिडे म पनि l पोलेको मकै चपाउदै गोरुलाई लट्ठीले प्याट्ट-प्याट्ट पार्दै रमाएको भतिजलाई काकाले जिस्क्याउदै भने – “फेरी मासु भनेर हडम्लो चपाउलास नी!”

असारको माहुल फाटमा मनमोहक देखिदो रहेछ l आलीको “समाहा” भरिएर ताछिएका कान्लाबाट सेतो पानीको गाड खुरुरुरु झरिरहदा मननै हुरुरु हुनीरैछ नी l बुढो मान्छेको काम भरपक्का…हाम्रा हुजुर्बा खेताला पुग्नु अघिनै खेतमा पुगेर ढोड काटीकन गह्रा-गह्रामा पानी सोझाई सक्नुभाको रहेछ…हिल्याउन कुनै बेर नै लागेन l

खले गह्रामा हलोको फालीले उधारेको हिलोमाटो कोदाली बजारेर माइला मामाले लाको आली ऒल्लो छेउबाट पल्लो छेउ टुङ्गिएसी कुना खन्न मात्र बाकी रहयो l म पनि रहरले कोदालो लिएर एक छ्याप के छप्काएको थिए मुखभरि हिलोमाटो छ्याप्पीइ हाल्यो त l मुखमा बालुवाको कीर-कीर लाग्न थाल्यो l आखाको कसिंगर गन्जीको फेरले नै पुछ्न परिगोनी l बुढी कमिलो जतानी पस्नि, चिट-चिट पार्दै टोक्दै हिड्दो रहेछ l सानो बाबु भनेर माया गरेन l

जव साप्राबाट चिल्दै भित्र पस्यो अन्ततः कोदालो फ्याकेरै जोगाउन पट्टी नलागी सुखै पाईएन l सेतो फीज काड्दै चिल्ने त्यो ढाडे कमिलोले रातो पिड्को उठाएरै छाड्यो l पिड्कोमा असारको घामले तातेको पानी पर्दा उखर्माउलै चिलचिल्याउदो रहेछ l

मेलो धेरै नै भैसकेछ l जुरोमा जुवा अड्काएर एक डल्लै परेर हिलो ओसार्दै गरेका कथुरे-गजुवा हिलाम्मे भएका l काका भने हलो खोलेर लिड्को (दादे) जोडी गोरुका पुछार निमोठदै हिलोको छाल ऒल्लो छेउ र पल्लो छेउ गर्दैथे l कटटु बाहिरबाटै खर्यांग-खर्यांग कनाइ राको मलाई काकाले लिड्को चढ्न बोलाउदा हाम्फाल्दै पुगीहाले नी l

लिड्कोमा चढेर काकासंगै एकचोटी गह्राको ऒल्लो छेउ र पल्लो छेउ त त गरियो तर रहर अझै नपुगेकाले जिद्धी गरे l लौ त नी भनेर पुछर के बटारदिएका थिए…खोले खाकै बलले त होला…हाम्रा गोरुका नी अक्सिलेटर बढ्दो रहेछ l बढ्दो गति…बुढी कमिलाले बिगार्दिएको मेरो मति…पुगीगोनी त्यति भएसी l भतिजो त एकै चोटी पिड्को कन्याउदा लिड्को मुनि l धन्न काकाले उठाई हाले हिलोमा गडेको भतिजलाई l

आमा र काकीहरु बिउ काढ्दै थिए…कोहि हातका कापामा बजार्दै त कोही ढुङ्गाका छेउमा l बाउसे गरेर हिलो तलिएको गह्रामा भान्जी दिदीले हुर्र्याएको बिउको पिधै पहिला थेचारिएको देख्दा मैले नि रमाउदै फ्याके l त्यो भन्दा नि अझ रमाइलो मलाई बिउब्याडका हरिया-खैरा फट्यांग्रा देख्दा लग्यो l त्यतिबेला मलाई भर्खर चल्ला कोरलेको घरको माउ पोथीको खुब याद आयो…कति मज्जाले ख्वाउथ्यो होला नि आफ्ना चल्लाहरुलाई कुथ-कुथ कराउदै जव म समातेर दिन्थे भने!

फाटको चारै तर्फ हेर्दा सबै ब्यस्त देखिन्थे l मध्यान्ह हुदैगर्दा एक्कासी कसैका टौवामुनिबाट, कसैका गोठबाट त कसैका चुले ढुङ्गे लगाएर बनाएका चुलोबाट धुवा उड्न थालेको दृश्य मलाई अझै सम्झना छ l हाम्रो नि चुलो बल्यो l ढिकीमा कुटेको चामल ताउला भरी टोपी लारै पाक्यो l गुन्द्रुक फुस्स उम्लिहाल्यो l खुर्सानीका ढीडि टोक्दै सबैले आफ्नो भाग सियारी हाले l गजुवा-कथुरे पनि जुवामा नारिएर जिउ थर्राउदै झिंगा-डाठ-भुसुनाको हमलालाई पुच्छरको झप्काले मथ्याराउदै कलिलो मकैघास बुजा काढेरै चपाउन थाले l

हर्जुर्माले भनेको “मेलाको भात” मैले नि आत आउन्जेल खाए l काम र माम एक अर्काका पुरक हुन् जुन असारको चटारोबाट प्रस्टै बुझ्न सकिदोरहेछ l खानैलाई जोगाड त हो नि…हजुर्बा थुन्सेमा पिधैबाट चाङ्ग लगाएर मकैका भारी बनाउदै हुनुहुन्थ्यो l कम्मर दुखोस कि टाउको कसैलाई छुट थिएन l बेलुकी मेलो सकेर जादा प्रतेकलाई भारी तय भैसकेको थियो… ढोडको भारी, बन्सो घासको भारी l म पनि त्यो दिनको खेताला…क्यार्न उम्किन पाउथे होला र!

बिहानको झुल्के घाममा मकै चपाउदै हडम्लो बोकेर गोरु धपाउदै काकासग बेशी झरेको म झम्के रातमा भ्यागुताको ट्यार्र-ट्यार्र सुन्दै जुनकिरीको पिलपिल हेर्दै भाडा-कुडाको सानो डोको आमाको पछ्यौराको नाम्लोले बोकेर उकालो लाग्दा आमाको साथमा थिए l ढाडे कमिलाले बनाइदिएको पिड्को सेलाए पनि थाप्लो-कम्मर डोको र नाम्लोले पनि पोल्दो/बिझाउदो रहेछ l झन् दिनभरीको थकान नमेटीदै फेदैदेखि चाङ्ग लगाएर बनाइएको त्यो थुन्सेको मकैको भारी आमाको ढाडमा चुइ-चुइ गरेको देख्दा/सुन्दा म के नै गुनासो गर्न सक्थे र!!

मैले मनमनले गमे कर्मको अर्को रुप भनेकै-“शक्तिशालि असार…अन्न/खानाको आधार…सबैजना लम्पसार!

१५ असार, २०७६, दोहा कतार

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का