पढ्नुभयाे राेचक र घाेचक लघुकथा ?

42 Hits

काठमाडौं, ११ असार- कथा र लघुकथामा के फरक छ ? के कथा लेख्ने सबैले लघुकथा लेख्न सक्छन् ? के कथा जस्तो सजिलाे लघुमथा हाे वा कठिन हाे ? लघुकथाबाट के पाईन्छ ? जवाफ अाफैं खाेज्नुस तर यी लघुकथा भने अवश्य पढ्नुस् है ।

लघुकथा : समझदार श्रीमान
_ अवतार ढकाल –

“धन्न तपाईं जस्तो श्रीमान् पाएर मात्र हो, जहिले सुकै पनि दु:ख दिने खालको परेको भए त म मरिसक्थें होला । कसरी खप्नु ।” सारदाले आफ्नो श्रीमानलाई भनिन् ।
“दुबैको समान चाहना भए मात्र सन्तुष्टि हुने हो ।एउटालाई मन नलागिरहेको, पीडा भैरहेको अबस्थामा कसरी अर्को चाहिँ सन्तुष्ट हुन सक्छ र ?” उनले भने ।
” त्यहि पनि त । मलाई फिटिक्कै मन लाग्न छाड्यो आजकल त । कहिलेकाहिं त तपाईंलाई म देखि कति दिक्क लाग्दो हो भन्नें पनि लाग्छ । कि म औषधि खाउँ ? पाइन्छ रे नि ।” उनले भनिन् ।
” ह्या, यस्ता कुरा छाडिदेउ । जीवनसाथी भएपछि एक अर्काको शारिरको अबस्था र चाहना बुझ्नु पर्छ । के भएको छ र ?” श्रीमान बोले ।
“धन्न मलाई तपाईं जस्तो समझदार बूढो जुराइदिएछन भगवानले । कहिले काहिं साथीहरुले आफ्ना बुढाहरुका कुरा गरेको सुन्छु । त्यस्तो भए त म त कहाँ बाँच्थें र भनेझैं लाग्छ ।” श्रीमानको प्रशंसा गर्दै उनले भनिन् ।
आफुले लगाइराखेको टिसर्ट खोले पछि स्यान्डोमात्र लगाएर उनी डङ्ग्रङग पल्टिए । सारदा कम्प्युटरमा टाइपिङ अभ्यास गर्न लागिन् ।
श्रीमान लोभलाग्दो गरि निदाइरहेका थिए । उनको देब्रे छातीमा चोट झैं देखेर नजिकै आँखा पुर्याएर हेरिन् । दाँतहरु गाडिएर बनेको गोलाकार आकृती मेटिन लागेको चित्रजस्तै देखिइरहेको थियो ।

लघुकथा : छोडपत्र वा प्रेमपत्र
-रामबाबु घिमिरे –

  • वकिल – तिम्रो समस्या समाधानको दुईवटा उपाय छ कि छोडपत्र कि वा प्रेमपत्र ।
  • मोहन – कुन उपाय उचित होला ?
  • वकिल – स्थायी समाधान प्रेमपत्र अस्थायी छोडपत्र ।
  • मोहन- कसरी ?
  • वकिल – सुनितासंग छोडपत्र गरेपछि ।
  • उसबाट त तिमी छुटकारा पाउन सक्छौ तर अनिता, बिनिता वा रमिता जोसंग दोस्रो विवाह गर्छौ उससंग पनि छोडपत्रको अवस्था नआउला भन्न सकिन्न ।
  • मोहन – छोडपत्र लेखेको कति अनि प्रेमपत्रको ?
  • वकिल – छोडपत्रको एक हजार अनि प्रेमपत्रको दश हजार ।
  • मोहन-प्रेमपत्र लेखेको किन यति धेरै ?
  • वकिल-छोडपत्रको त एउटा ढांचा हुन्छ जुन लेख्न आधा घण्टा पनि लाग्दैन तर प्रेमपत्र लेख्न कैयौं दिन लाग्न सक्छ । पहिलो कुरा तिम्री पत्नी सुनितालाइ म सांच्चै प्रेम गर्छु भन्ने भ्रम ममा सिर्जना हुनपय्रो अनि म उसको प्रेममा निमग्न हुनपय्रो ।त्यस्तो मानसिकतामा पुग्न त्यति सजिलो छैन ।

चितवन

लघुकथा – शव
– प्रेम पुनमगर

बिदेशको लासगृहमा महिनौ देखि रहेको अनेक गुमनाम लास मध्य एक अाधा बैँसे पुरुषको परिचय पत्र अनुसारको ठेगानामा बल्लतल्ल नेपाली राजदुतावासका कर्मचारीले सम्पर्क गर्न सफल भए।

हेलो-“हजुरको मान्छे साउदीको रियाद स्थित अल सुलैईमान बिन अब्दुल्लाह हस्पिटलको शबगृहमा रहेकोले शब नेपाल ल्याउने पहल गर्नको लागि कृपया चाँडो भन्दा चाँडो सम्पुर्ण कागजात सहित नेपाल प्रराष्ट्रमन्त्रालयमा सम्पर्क गर्नुहोला।
शबको बिबरण यस प्रकार रहेको छ।
कमल मगर
बर्ष – ३९
कुश्मीशेरा ९
बागलुङ “
फोन रिसिभ गरिरहेको ब्यक्ति भन्दै थियो तर..सर…म कमल मगर बोल्दैछु।

लघुकथाः अप्रिलफुल
-खेमराज पोखरेल-

असी वर्षे सर्बजीतले बुहारीलाई भनेः ‘तातो पानी ले न बुहारी’
‘ल ल, ल्याइहालेँ, कत्ति कराको ?’ बुहारीले भनिन् । तर पानी आएन ।
उनले छोरालाई भनेः ‘डाक्टरकोमा लैजा न बाबु’
‘ल ल भोलि लैजान्छु’ । भोलि भोलि भनेको पनि छ महिना भएको थियो । डाक्टरकोमा लगिएन ।
उनले सानो प्यारो नातिलाई भनेः पढ्नु पर्छ बाबु’
‘पढी सकेँ’ नातिले उत्तर दियो । उनलाई थाहा छ उसले पढेको छैन ।
ठुली नातिनीलाई सोधेः ‘त्यो केटा को हो ?’
नातिनीले उत्तर दिइन्ः ‘साथीको दाइ’ । उनलाई लागिरहेको छ नातिनीले ढाँटी ।
‘नेता भन्थ्यो ‘भोट दिनुस्, म देश विकास गर्छु’ ।
उनले भोट दिए । नेताले चुनाव जित्यो । देश विकास कहिल्यै गरेन ।

‘प्रोफेसरले कक्षा लिएन, हाजिर गर्यो । अनि लबस्तरो भन्छ, पढाएर आ’को’
‘पार्टी काममा दिनभरि व्यस्त भएर चार बजेको ल्याप्चे लगाउन आएको कर्मचारी भन्छ, धेरै काम गरियो, थाकियो’
‘अशुद्ध उत्पादन गरे पनि उद्योगपतिले प्याकेटमा शुद्ध लेख्न कहिल्यै बिर्सिएन’
‘घुसमा न्यायलाई बेचेर आएको चोट्टा मान्छे न्यायाधीश हुँ भन्न छोड्दैन’
‘डाक्टर मरेको मान्छेलाई भेन्टिलेटरमा राख्छ, पैसा दिनुस् । निको हुन्छ भन्न छाडदैन’
‘विदेशको कृषक भ्रमणमा नातागोता अकृषक आफन्त पठाएर सरकार भन्छ, यसले कृषिक्षेत्रमा ठुलै फड्को मार्छ’

आकाश तिर हेरे । लौरो खोजे । टेके ।
‘आज अप्रिल फुल हो नि हब्बा, था’छ ?’ नातिले हजुर्बालाई सम्झायो ।
उनले सोधेः ‘अप्रिलफुल भनेको के हो ?’
‘ढाँट्ने दिन’
‘त्यो ढाँट्न नपाइने देशको कुरो हो, यहाँ अप्रिलफुलको के काम हौ केटा ?’
२०७३.१२.१९
धापासी, काठमाडौँ

लघुकथा- आश्वासन
-गङ्गा आचार्य –
तुइनबाट विद्यालय आवतजावत गर्नुपर्ने एक बालकले आफ्नो बाबुसँग भन्यो । बा, अस्ति नै हाम्रो घर आउनुभएको नेता अंकलले भन्नुभएको थियो नि। `अब यी केटाकेटी विद्यालय जाँदा दुःख गर्नु पर्दैन । मैले पुल बनाइदिन्छु।´ त्यसपछि न उहाँ आउनुभयो न पुल बन्यो । ठूलो मान्छेले त नढाँट्नुपर्ने ! बिर्सनु पो भयो कि ! बा, यो कुरा सम्झाउन एकचोटि नेता अंकललाई भेट्न जाऊँ न है । पुल बन्यो भने पढ्न जान सजिलो हुन्थ्यो।´´ छोराका कुराले बाबुको मुटु चरक्क चिरियो । मनैमनमा गुनगुनाए। `यस्ता आश्वासन त कति दिए कति।´ तापनि छोरालाई निराश बनाउन चाहेनन् र भनेबाबु, नेता अंकल अहिले ठूलो दरबारमा बस्नुहुन्छ । त्यहाँ न हामीले भेट्न् पाउँछौँ । न उहाँले हामीलाई चिन्नुहुन्छ । बरु भोलिपर्सि उहाँ हाम्रै घरमा आउनुहुन्छ । त्यसै बेला भनौंला है।´´
बालकले खुसी हुँदै प्रश्न गर्यो बा, हाम्रो घरमा अब नेता अंकल कहिले आउनुहुन्छ ?´´ लामो सास फेर्दै ती बाउले जवाफ दिए। चुनाव आएपछि ।´´

-(लघुकथा कुनाे बाट साभार )

Loading...

Related News

एउटा सामाजिक प्रश्न

-खेमराज आचार्य- यो समाज कसैलाई जन्मजात अछुत बनाइ दिन्छ कसैलाई मौका बेलामा अछुत बनाई दिन्छ । मौका बेलामा जब छुत…

साहित्यकार रविकिरण निर्जीव पाेखरामा सम्मानित

काठमाडौं, जेठ- चितबनका बरिष्ठ साहित्यकार रबिकिरण निर्जीबलाई पाेेेखरामा सम्मान गरिएको छ । गोकुल जयन्तीको अबसरमा ‘गण्डकी साहित्य संगम’ पोखरा द्वारा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का