पार्टी एकता ऐतिहासिक परिघटना – प्रचण्ड

79 Hits

काठमाडौं , १४ बैसाख –

एउटा अन्तराष्ट्रिय परिवेशमा प्रयोग गरिएका कुरालाई महिमा बनाएर त्यसैमा रमाउने र आत्मरति गर्ने, कम्युनिष्ट आन्दोलन र राजनीतिलाई नयाँ गति दिने आँट विलकुलै नगर्ने एउटा प्रवृति संसारभर अनि नेपालमा पनि छ । हामी त्यसका विरुद्ध लगातार संघर्ष गर्दै आएका छौं । र हामीले त्यसले पारेको अप्ठ्यारो अवस्थालाई पनि भोग्दै आएका छौं । जसलाई हामीले जडसुत्रवादी या अल्गाववादी भनेपनि हुन्छ । जनता एकातिर, इतिहास एकातिर, घटनाक्रम एकातिर तर आत्मगत र मनोगत ढंगले आफैंलाई महिमा मण्डित गरेर रहने प्रवृत्तिसँग हामीले संघर्ष गर्दै आएका छौं ।

हामीले एक वर्ष भित्र महाधिवेशन गरिसक्नुपर्छ । र त्यो अभियान सम्मेलन सफल पार्ने अनि अधिवेशन र महाधिवेशन सफल पार्ने अवधि मात्रै हुनेछैन। एउटा महान बहसको अवधि पनि हुनेछ । महाधिवेशन माक्र्सवादलाई विकसित गर्ने एउटा भट्टी जस्तो, भट्टीभित्र प्रवेश गर्ने महावहश र महाविवादको अभियान पनि हुनेछ । त्यसले माक्र्सवादलाई समृद्ध बनाउनको एउटा भट्टीको काम गर्नेछ ।

हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति चाहिएको छ । नयाँ जोससहितका नयाँ पिँढी, अनि पुराना अनुभवसहितका साथीहरुको समिश्रणबाट एउटा सांस्कृतिक आन्दोलन चल्नुपर्छ ।

अहिले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलन तुलनात्मक रुपले रक्षात्मक अवस्थामा धकेलिएको छ । तथापी यो प्रतिकुल परिस्थितिमा हामीले नेपाली कम्युनिष्ट आन्दोलनलाई वैचारिक, राजनीतिक र सांगठनिक रुपले आक्रामक स्तरमा पुर्याउने प्रयास गरेका छौं । यो हाम्रा अग्रज, हामीले चलाएका वैचारिक संघर्ष र बहसले सफल भएको हो । हामीले चलाएका वर्ग संघर्ष र विभिन्न प्रकारका आन्दोलनको संश्लेषणको रुपमा यो आक्रामक उचाई प्राप्त भएको हो ।

अहिले हामी प्रति मुख्यतः श्रमजीवि र संसारभरका कम्युनिष्टहरुको ठूलो सकारात्मक चासो छ । नेपालको नयाँ पहलकदमी, नयाँ परिस्थिति प्रति गहिरो गरि अवलोकन गरिरहेको अवस्था हो । भने अर्कोतिर, प्रतिक्रियावादी शक्तिहरुले आन्दोलन, एकता र आक्रामक उचाइ के गरि कमजोर पार्न सकिन्छ भनेर अनेक किसिमका षडयन्त्रका तानावाना बुन्ने गरेका छन् । यसर्थ हाम्रो पार्टीको काँधमा एउटा ऐतिहासिक जिम्मेवारी छ । राष्ट्रिय एकतालाई सुद्धढ गर्ने, राष्ट्रिय स्वाधिनतालाई सुद्धढ गर्ने, जनताको अपेक्षालाई सम्बोधन गर्ने, सामाजिक न्यायसहित समाजवादको आधार निर्माण गर्ने र समाजवादको दिशातिर अगाडि बढ्ने मुख्य जिम्मेवारी छ । साथसाथै विश्व कम्युनिष्ट आन्दोलन, अन्तराष्ट्रिय श्रमजिविहरुको आन्दोलन, र सम्पूर्ण जनताको अपेक्षालाई सम्बोधन गर्ने अन्तराष्ट्रिय दायित्व पनि हाम्रो काँधमा त्यतिकै गहिरो छ ।

हामीले ७० वर्षको उत्सव मनाउँदै गर्दा, नेपालको कम्युनिष्ट पार्टी ७१ वर्षमा प्रवेश गर्दै गर्दा, नेपालको इतिहासको अनि हाम्रो आन्दोलनको उतारचढावहरुको गहिरो समिक्षा गर्नुपर्ने आवश्यकता छ । कम्युनिष्ट आन्दोलनका तमाम अनुभवहरुको समिक्षा गर्ने र एउटा नयाँ संश्लेषण देशलाई र अन्तराष्ट्रिय जगतलाई दिने जिम्मेवारी हाम्रो काँधमा रहेको छ । सबैले अनुभवलाई वैचारिक र राजनैतिक रुपले संश्लेषण गर्ने र ति अनुभवहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय आयामको बारेमा पनि दुनियालाई जानकारी गराउने जिम्मेवारी हाम्रा सामु छ ।

केहि वर्षदेखि हामीले जसरी काम गर्दै आएका छौं, प्रारम्भमा मानिसहरुले हाम्रा काम, उद्देश्य, संकल्प र प्रतिवद्धताप्रति जहिले पनि आशंका गर्ने गरे । हामी सफलताको सिंडी चड्दै छौं या छैनौं भन्ने बारे विभिन्न खालका विभ्रमहरु पैदा गर्ने प्रयासहरु भए । यसको राष्ट्रिय आयाम र अन्तराष्टिय आयाम पनि छ । यसले सामाजिक विकासको सन्दर्भमा, सामाजिक रुपान्तरणको सन्दर्भमा नयाँ सन्देश दिंदै छ भन्ने कुरामा आशंका व्यक्त गरियो । उचाईमा पुग्दैन भनेर आंशका गरियो । जब हामीले १२ बुँदे समझदारी मार्फत एउटा नयाँ आन्दोलन, अभियान थाल्यौं त्यस्तै खालका विभ्रमहरु र त्यस्तै कसरतहरु हामीले देख्यौं । तर अन्ततः हामी सफल भयौं । हामीले जनयुद्ध र जनआन्दोलनलाई एक अर्काको पुरक बनाउँदै शान्ती सम्झौतासम्म त्यसलाई लैजाने र ठूलो युगान्तकारी राजनीतिक रुपान्तरणमा त्यसलाई बदल्ने महाअभियानमा हामी अन्ततः सफल भयौं ।

संघीय लोकतान्त्रिक गणतन्त्र सफल भईसकेपछि फेरि आशंकाको स्थिति बन्यो । के विधानसभाबाट संविधान बन्ला त ? पहिलो संविधानसभा असफल भइसकेपछि देशभित्र र बाहिर एउटा बसह अगाडि आयो संविधानसभाबाट संविधान बन्छ त ? संविधानसभाबाट संविधान बन्न नदिनको निम्ति लोकतान्त्रिक विधि र प्रक्रियाबाट एउटा रुपान्तरणलाई सफल हुन नदिन कसरत भै नै राखे । पहिलो संविधानसभा असफल भयो । दोस्रो संविधानसभा, अपवाद नै भन्नुपर्छ एउटा देशमा एकै प्रक्रियामा तर त्यो पनि हामीले सम्भव तुल्यांयौं । अन्ततः संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरियो । संविधान घोषणा गरिसकेपछि पनि संविधान कार्यान्वयन होला त ? आवश्यक ऐन नियमहरुको व्यवस्था गरेर परिवर्तनलाई संस्थागत गर्ने गरि संविधान कार्यान्वयन होला त ? भन्ने प्रश्न फेरि हाम्रा अगाडि थियो । फेरि एउटा आंशका हामीले सामना गर्यौं । निर्वाचन हुने प्रक्रियामा पनि यो निर्वाचनले देशमा निकास देला ? विकास निर्माणको एउटा नयाँ युगतिर देशलाई लैजान सक्ला ? के राजनीतिक अस्थिरता, अराजकता र अन्यौलको लामो भुमरीबाट देश बाहिर निस्केला ? भन्ने प्रश्न खडा भइरहे । निर्वाचन भएपनि विगत ७० वर्षदेखिको अराजकता, अन्यौलता र आशंकाको वातावरण कायमै रहने हो कि ? किनकी ००७ सालको परिवर्तन पछि ०१७ सालको अराजकतालाई नेपाली समाजले भोगी सकेको थियो ।

३० वर्षे पञ्चायती निरंकुशता नेपाली समाजले भोगी सकेको थियो । ०४६ सालको ऐतिहासिक जनआन्दोलन पछिका उतारचढावहरु र त्यसपछिका संघर्ष र आन्दोलनका उपक्रमहरु पनि नेपाली समाजले भोगी सकेको थियो । संविधानसभाबाट संविधान बनिसकेपछि, तिनै तहको निर्वाचन सम्पन्न भईसकेपछि पनि के नेपालमा एउटा नयाँ युगको सुत्रपात हुन सक्ला त ? स्थात्विको, विकासको, समृद्धिको, सुशासनको यो प्रश्न थियो ।

यो सबैले आत्मसाथ गर्नुपर्ने विषय हो । त्यो परिस्थितिमा हामीले दुईटा कम्युनिष्ट पार्टी, दुइटा धारा र दुईटा प्रयोगबाट एउटा नयाँ निष्कर्षतिर पुग्यौं । हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्ने पहल लिनुपर्दछ, जतिसुकै अप्ठ्यारो, जटिल भएपनि नेपाल राष्ट्र, श्रमजिवी जनता र विश्वकम्युनिष्ट आन्दोलनको हितमा हामीले कदम चाल्नै पर्छ । हामीले कदम चालेनौ भने देशको निम्ति र समग्र कम्युनिष्ट आन्दोलनको निम्ति पनि दुर्भाग्य हुन सक्दछ । हाम्रा हजारौं शहिदहरुले रगत बगाएर प्राप्त गरेका उपलब्धीहरु, हाम्रा अग्रजहरुको जीवनभरिको त्याग, तपस्या र मेहनतबाट प्राप्त भएको उपलब्धिहरु धरापमा पर्न सक्दछ । ति खतरामा पर्न सक्दछ भन्ने निष्कर्षसहित हामीले पार्टी एकताको संकल्प गर्यौं । हामीले जब पार्टी एकता गर्नेसहित निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गर्र्यौं, त्यसबेला पनि आशंकाहरु व्यक्त भए । यो एकता सम्भव हुँदैन् । भै हालेपनि यो टिक्दैन अथवा यो देशमा कम्युनिष्टहरुको एकता भयो भने अधिनायकवाद, निरंकुशतातिर देश जाने खतरा हुन्छ । आदि इत्यादी थुप्रै आशंकाहरु पैदा गर्ने कोसिस भए । त्यसको साथसाथै दुवै त्यतिबेलाका पार्टी संगठनहरु र पार्टीका नेतृत्वहरुलाई एकतामा जानबाट रोक्नको निम्ति अनगिन्ती आन्तरिक र बाह्य प्रयासहरु भए ।

मलाई लाग्छ, हामी सबै कमरेडहरुले त्यो कुरालाई बुझेका छौं । हामी सबैले त्यसलाई कुनै न कुनै रुपमा आत्मसाथ गरेका छौं । पार्टी स्थापनाको यो ऐतिहासिक अवसरमा म सम्पुर्ण कमरेडहरुलाई गहिरो गरि स्मरण गर्न अनुरोध गर्दछु । सानो मेहनत र संकल्पले यो एकता भएको होइन । हामीले निर्वाचन सकिसकेपछि एकता रोक्न भएका धेरै किसिमका राष्ट्रिय अन्तराष्ट्रिय प्रयासहरु असफल बनायौं । हामीले जे प्रतिबद्धता र संकल्प व्यक्त गरेका थियौं ति प्रतिबद्धताबाट हामी विलकुल कतै नमोडि एकता गरायौं ।

एकता प्रक्रिया ढिलाई हुँदा, हामीलाई जहाँ भेटेपनि जसरी भेटेपनि कार्यकर्ता स्तरबाट प्रश्न गरेर प्रोत्साहित गर्नुभयो । हामीलाई दबाब पनि दिनुभयो र बाध्य पनि पार्नुभयो । तपाईहरुको सहयोग विना पनि यो एकता प्रक्रियालाई टुंगो लाग्ने अवस्था थिएन ।

कमरेडहरु, कम्युनिष्ट आन्दोलन भनेको एउटा विचार, वर्गको आन्दोलन हो । वर्गको हित र स्वार्थलाई केन्द्रित गरेर वैज्ञानिक नियमलाई आत्मसाथ गरेर ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै परिवर्तनको प्रवाहमा अगाडि बढ्ने अभियान हो । गतिको अनन्त प्रवाहमा रहेको समाज, मानिसको चिन्तन, प्रकृतिको नियमलाई उद्घाटन गर्दै विकसित गरेर अगाडि बढ्ने प्रक्रिया हो । महान् लेनिनको जन्मजयन्तीको अवसरमा, पार्टी स्थापना भएको सन्दर्भमा, लेनिनको नेतृत्वमा भएको क्रान्ति र लेनिनले विचारमा गरेको विकास यहाँ सम्झन चाहें । माक्र्सवादको आधारभूत सिद्धान्तहरुको रक्षा गर्ने, त्यसलाई प्रयोगमा लैजान र प्रयोगका बीचबाट विकास गर्ने एउटा ऐतिहासिक उदाहरण क. लेनिनले प्रस्तुत गर्नुभएको थियो । हामी आज उहाँको पनि सम्झना गर्दैछौं ।

पार्टी एकता भयो भनेर बस्ने अवस्था छैन् । हाम्रो अगाडि अझै धेरै कामहरु बाँकी छन् । हामी पछाडि फर्केर होइन अगाडि बढेर माक्र्सवाद र लेनिनवादको आधारभूत सिद्धान्तहरुमा टेकेर समाजवादतिरको यात्रा तर्फ अगाडि बढ्नुछ । हाम्रा अनुभवहरुको सार खिचेर समाजवादको आधार निर्माण गर्ने, रणनीतितिर अगाडि बढ्ने कुरा हामीले गरेका छौं । यो आफैंमा एउटा युगान्तरकारी कुरा हो । २१ औं शताब्दीमा १९औं र २० औं शताब्दीका सबै सकारात्मक र नकारात्मक अनुभवहरुको आधारमा हामीले वैचारिक ढंगले नयाँ संश्लेषण गर्ने पहलकदमी लिनु पर्छ । अब, हिजोका बनि बनाउन सिद्धान्त, रणनीति र कार्यनीतिले काम दिनेवाला छैन । जबसम्म पार्टीले सामाजिक रुपान्तरणको अभियानलाई नयाँ र संश्लेषित विचारद्धारा सम्बृद्ध गर्ने आँट गर्दैन, नयाँ सिद्धान्त, रणनीति र कार्यनीतिबाट परिस्कृत गर्ने आँट गर्दैन तबसम्म गुणमा फड्को मार्ने भन्ने हुँदैन । नेतृत्वले जरुरी पर्दा निरन्तरतालाई तोड्ने र नयाँ क्रमको सुरुवात गर्ने आँट नगर्दासम्म क्रान्ति र युगको नेतृत्व गर्न सक्दैन । कमरेडहरु, पार्टी एकता गर्दा जुन सैद्धान्तिक मान्यतामा टेक्ने जर्मको गरेका छौं, ति हाम्रो गौरवशाली अनुभवहरुको सकारात्मक संश्लेषण पनि हो । 
अहिले देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति, सम्भावना र चुनौतिहरुको संश्लेषण गर्दै विचारलाई पनि विकसित गर्ने, राजनीतिक रणनीतिलाई पनि विकसित गर्ने र हाम्रो अभियानलाई पनि नयाँ संकल्पका साथ अगाडि बढाउने ऐतिहासिक जिम्मेवारी आएको छ । यो परिस्थितिमा अब पछाडि फर्केर हेर्न सम्भव छैन ।

तथापी यहाँ केहि गलत प्रवृत्ति जहिले पनि बहसमा रहन्छन्, त्यसभित्र संघर्षमा रहन्छन् । एउटा अन्तराष्ट्रिय परिवेशमा प्रयोग गरिएका कुरालाई महिमा बनाएर त्यसैमा रमाउने र आत्मरति गर्ने, कम्युनिष्ट आन्दोलन र राजनीतिलाई नयाँ गति दिने आँट विलकुलै नगर्ने एउटा प्रवृति संसारभर अनि नेपालमा पनि छ । हामी त्यसका विरुद्ध लगातार संघर्ष गर्दै आएका छौं । र हामीले त्यसले पारेको अप्ठ्यारो अवस्थालाई पनि भोग्दै आएका छौं । जसलाई हामीले जडसुत्रवादी या अल्गाववादी भनेपनि हुन्छ । जनता एकातिर, इतिहास एकातिर, घटनाक्रम एकातिर तर आत्मगत र मनोगत ढंगले आफैंलाई महिमा मण्डित गरेर रहने प्रवृत्तिसँग हामीले संघर्ष गर्दै आएका छौं ।

आजको कम्युनिष्ट आन्दोलन, क्रान्ति र वर्गसंघर्षको आवश्यकतालाई वस्तुवादी तरिकाले मुल्यांकन गर्ने विश्लेषण गर्ने र त्यसमा टेकेर वैचारिक राजनीतिक विकास गर्ने चुनौतिलाई स्वीकार गर्न जरुरी छ । र अर्कोतिर, वर्गसंघर्षका आधारभूत सिद्धान्तहरु, माक्र्सवादका सार्वभौम स्थापित सिद्धान्तहरुलाई परित्याग गर्न खोज्ने प्रवृत्ति पनि छ । त्यसको वैज्ञानिक सारतत्वलाई इन्कार गर्ने । वर्गसमन्वय र वर्गविरोधीसँग संत्सर्ग गर्ने र वर्गपक्षधरतालाई बिर्सिदैं जाने प्रवृति झन खतरनाक छ ।

हामी वर्गसहितको पार्टी हौं । हामी निवर्गीय पार्टी होइनौ । जबसम्म समाजमा वर्गहरु रहन्छन् । वर्गसंघर्ष रहिराख्छ । त्यहि वर्गसंघर्षको आवश्यकताले गर्दा वर्गका आ–आफ्ना पार्टी, दर्शन र सिद्धान्त रहिरहन्छ भन्ने कुरालाई बिर्सिएर सम्पूर्ण रुपले प्रतिक्रियावादी बुर्जुवा वर्गमा सर्मपण गर्ने र अर्को एउटा आत्मसमर्पणवादी प्रवृत्ति छ । हामी यी दुवै प्रवृत्तिसँग संघर्ष गर्दै आएका छौं । र हाम्रा अग्रजहरुले जे गरे, उनीहरुबाट हामीले जे सिक्यौं ति सबैको आधारमा हामीले त्यसको प्रयोग गर्ने कोशिस गरेका छौं । यो पार्टी एकता त्यसैको प्रतिफल हो ।

यो पार्टी एकतामा हामीले व्यक्तिगत पद प्रतिष्ठा र गुटगत स्वार्थ हेरेको भए एकता सम्भव थिएन । किनकी प्रतिक्रियावादीहरुले र अवसरवादीहरुले जहिले पनि कम्युनिष्ट आन्दोलन भित्र वुर्जुवा र गुटगत सोंचलाई प्रोत्साहित गर्ने गर्दछन् । कम्युनिष्ट पार्टी पनि वर्गको पार्टी होइन र अवसरवादहरुको झुण्ड हो भन्ने बनाउन चाहन्छन् । वैचारिक ढंगले दिग्भ्रमीत पार्ने प्रयास हुनसक्छन् ।

नेपालको कम्युनिष्ट आन्दोलनमा खासगरि ०४६ सालपछिको जनआन्दोलन वरिपरिबाट हामीले जे प्रयोग गर्यौं, एकातिर क. मदन भण्डारीको नेतृत्वको शान्तिपूर्ण र प्रतिस्पर्धाको बहुदलिय जनवाद भने अर्कोतिर तात्कालिन माओवादीको नेतृत्वमा जनयुद्धको माध्यमबाट सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग समुदायमा अधिकार स्थापित गर्ने गरि । जसबाट एउटा नयाँ राजनीतिक जागरण ल्याउने र एउटा परिवर्तनको निमित्त तयारी गर्ने एउटा अभियान आयो । यि दुइटै अभियानका सकारात्मक योगहरु कारण अहिलेको अवस्था आएको हो । संघीय लोकतान्त्रिक गणतन्त्र दुवैको सकारात्मक योगबाट सफल भएको हो । यि दुइटै धाराका नेताहरुले एक अर्काको महत्व र आवश्यकतालाई नबुझेको भए सायद, जनयुद्धमा हामी सम्पूर्ण रुपले विजय हुने थिएनौं । अर्को पक्ष, बुर्जुवाहरुमाथि सम्पूर्ण रुपले विजय गर्न नसक्ने एउटा खतरा नेपालमा थियो । हामीले जडताका विरुद्ध र अनुभववादका विरुद्ध संघर्ष नयाँ उचाईमा उठायौं ।

यहि संघर्षहरुको बीचमा नै पार्टी एकता भयो । पार्टी एकता नेपाली जनताको विजय थियो । नेपालका सम्पूर्ण कम्युनिष्टहरुको विजय थियो । अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनको विजय थियो । यो विजयको रुपमा ल्याउनु पनि नेतृत्वको तानाशाहि र नोकरशाही विरुद्ध संघर्ष गर्ने यथार्थलाई स्वीकार गर्ने संकल्पले नै काम गरेको हो ।

एक वर्षमा हामीले जे जति गर्यौं मलाई लाग्छ, आम कार्यकर्ताहरु पनि अझ धेरै गर्न पाएको भए हुन्थ्यो, भनेजति भएन भन्ने चिन्ता छ । नेपाली जनताले दुईतिहाई बहुमतका साथ सरकार बनायो तर जुन गतिमा अगाडि जानुपर्ने थियो त्यता पुगेको छैन कि भन्ने लागेको छ । यद्यपि एकवर्ष पर्याप्त थिएन । झण्डै ६९/७० वर्षदेखि थुपारिएका विकृति र विसंगतिका थुप्रोहरुलाई पार लगाउने कुरा एक वर्षमा सम्भव हुने कुरा होइन । तर फेरि पनि, हामीले सन्तुष्टि लिएर हुँदैन । हाम्रा अपुगहरु, कमीहरु कहाँ रहे, त्यसको इमान्दारीका साथ समिक्षा गर्ने र कमीहरुलाई सच्याउने संकल्प गर्नु आवश्यक छ । जनअपेक्षा अनुसार अगाडि बढ्नको लागि अझ ठूला–ठूला अभियानहरु चलाउने एउटा परिवेशमा हामीहरु अगाडि बढ्नै पर्दछ ।

पार्टीलाई तानाशाहि र नोकरशाहीका विरुद्ध संघर्ष गर्न सिकाउन, जनताका हितसँग एकाकार हुन सिकाउन, कम्युनिष्ट आन्दोलनका राष्ट्रिय तथा अन्तराष्ट्रिय अनुभवहरुलाई संश्लेषित रुपमा प्रशिक्षित गर्न जानु छ । अब ढिला गर्नुहुन्न । हामीले आगामी ८ महिना भित्र ७७ वटै जिल्ला र प्रवासका पनि सबै सम्मेलनहरु सकिसक्नु पर्छ । हामीले एक वर्ष भित्र महाधिवेशन गरिसक्नुपर्छ । र त्यो अभियान सम्मेलन सफल पार्ने अनि अधिवेशन र महाधिवेशन सफल पार्ने अवधि मात्रै हुनेछैन। एउटा महान बहसको अवधि पनि हुनेछ । माक्र्सवादलाई विकसित गर्ने एउटा भट्टी जस्तो, भट्टीभित्र प्रवेश गर्ने महावहश र महाविवादको अभियान पनि हुनेछ । त्यसले माक्र्सवादलाई समृद्ध बनाउनको एउटा भट्टीको काम गर्नेछ ।

महाधिवेशनसम्म जाँदा हामीले जुन संश्लेषण गर्नेछौं त्यो संश्लेषणले हामीलाई दशकौ सम्म दिशा निर्देश गर्नेछ । एउटा राजनैतिक दस्तावेज, एउटा नयाँ राजनैतिक दिशा र त्यसले अन्तराष्ट्रिय कम्युनिष्ट आन्दोलनमा नेपालबाट पनि एउटा नयाँ वैचारिक दिशा दिनेछ ।

जसरी पार्टी एकता तमाम अवसरवाद र प्रतिक्रियावादको षडयन्त्रहरुलाई परास्त गर्दै नेतृत्वले प्रदर्शन गरेको तमाम कार्यकर्ता र जनताले प्रदर्शन गरेको आकांक्षा र पहलकदमी थियो । अहिले पार्टी एकता गरेको पनि त्यसैको परिणाम हो ।

अब हामीले विचार, राजनैतिक रणनीति र कार्यनीतिलाई विकसित गर्ने र नेपाललाई समाजवादतिर लिएर जाने संकल्प गर्नैै पर्दछ । जसरी संविधानमा समाजवाद उन्मुख राज्यको परिकल्पना गरिएको छ, त्यसमा कम्युनिष्टहरुले ठिक ढंगले विश्लेषण संश्लेषण गरि वैज्ञानिक समाजवाद तिरको यात्रामा लाग्नुपर्छ । हामी सबैले संकल्प गर्ने पर्दछ । विगतका विकृति, विसंगतीबाट शिक्षा लिएर हामी सबैले एकपटक आफैंभित्रको फोहोर मैला सफा गर्ने अभियानको रुपमा अगाडि बढाउनु पर्दछ । आउँदो जिल्ला अधिवेशन, महाधिवेशनलाई त्यसैमा प्रयोग गर्नुपर्दछ । मैंले पार्टी एकताको संकल्प गर्दै गर्दा गत असोज १७ मा भनेको थिँए, हामीभित्र पनि धेरै फोहोर मैला जम्मा भएको छ । यो फोहोर मैला सफा नगरी हामी अगाडि जान सम्भव छैन । यो फोहोर मैला आम कार्यकर्ता र जनताको सहयोग विना, उनीहरुलाई भरोसा नदिलाई, उनीहरु भित्रको उर्जाको सहयोग नल्याई सम्भव छैन् ।

यसको लागि हामीलाई एउटा नयाँ सांस्कृतिक आन्दोलन, सांस्कृतिक क्रान्ति चाहिएको छ । नयाँ जोससहितका नयाँ पिँढी, अनि पुराना अनुभवसहितका साथीहरुको समिश्रणबाट एउटा सांस्कृतिक आन्दोलन चल्नुपर्छ । त्यो आन्दोलन भ्रष्टचारका, ढिलासुस्ती, बेइमानी अनि जालझेल विरुद्ध हुनुपर्दछ । हाम्रो आउँदो महाधिवेशन सांस्कृतिक क्रान्ति सञ्चालन गर्ने एउटा संकल्पको रुपमा लिन पनि जरुरी छ । मलाई विश्वास छ, त्यसो गर्यौं भने मात्रै हामीले माक्र्सवाद, लेनिन र कम्युनिष्ट आन्दोलनको भविष्यप्रति हाम्रा शहिद वेपत्ता योद्धा र अग्रजहरु प्रति इमान्दार भएको ठहरीने छ ।

(नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया टुंगो लागेको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा प्रज्ञाभवनमा भएको कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको सम्बोधनको सम्पादित अंश – खबरडबली बाट साभार गरिएको ।)

Loading...

Related News

क्लिन फिड नीति : के हाे ? कसरी हुन्छ नेपाललाई नाफा ?

-लक्ष्मण हुमागाईँ – सामाजिक सञ्जाल सामयिक जनमत बुझ्ने सशक्त माध्यम बन्दै गएको छ । विश्वभर देखिएको यो लहरबाट नेपाल अछुतो…

के हाे योग ज्ञान बिज्ञान ?

-अधिवक्ता सुदर्शन जोशी (बिद्यावारिधी सोधार्थी) योग ज्ञान बिज्ञान हो । हाम्रो जिवनमा प्रत्यक पल पलको लागी यसको आबस्यकता र महत्व…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का