श्रीमान् श्रीमती सम्बन्ध : को त्रसित को स्वतन्त्र ?

71 Hits

श्रीमान र श्रीमती भनेका के हुन् र यीनकाे सम्वन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा विभिन्न धर्म ग्रन्थ देखि बैज्ञानिकहरुले समेत व्याख्या गर्दे आएका छन् । त्यस भन्दा ठूलो अझ व्यवहारिक रुपमै श्रीमती र श्रीमानको सम्बन्ध कस्तो हुन्छ भने र तपाई हामी सबैले अनुभुति गरिरहेका नै छौं । वास्तवमा अहिले के साँच्चै श्रीमान र श्रीमतीको सम्व्न्ध ती धर्म शास्त्र र वैज्ञानिकले व्याख्या गरेको जस्तै छ त वा समाजमा के भइरहेको छ ? यसबारेमा नयाँ पत्रिकाका लागि राजु स्याङतानले गहकीलो खोजमूलक सामग्री प्रकाशीत गरेका छन् । जसले समाजको वर्तमान चरित्र बुझ्न तथा संयमता अपनाउन सहयोग पुग्ने ठानेर साभार गरिएको छ ।

६ वर्षअघि सम्बन्धविच्छेद गरेपछि दीपेन्द्र शर्मा– ४७ (नाम परिवर्तन) एक्लै छन् । उनी नुवाकोटका शिक्षक हुन् । छुट्टिने उनको चाहना थिएन । भन्छन्, ‘उनले एकतर्फी डिभोर्स गरिन् ।’ घरपरिवारमा ठाकठुक हुँदा श्रीमतीलाई ‘सामान्य पिट्ने गरेको’ उनी स्विकार्छन् । ‘मैले रिसले पिटेको थिइनँ,’ उनी भन्छन्, ‘मायाले पिटेको थिएँ ।’ एउटी छोरी अहिले विदेशमा पढ्दै छिन् ।

उनले अर्को बिहे गरेका छैनन् । श्रीमतीले पनि अर्को बिहे गरेकी छैनन् । सम्बन्धविच्छेदको एक वर्ष नबित्दै दीपेन्द्रले श्रीमतीलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाए । एसेप्ट भएन । म्यासेज पनि पठाए । कुनै उत्तर आएन । आजभोलि दीपेन्द्र तनावमा छन् । तनाव छोरीलाई सेयर गर्छन् । छोरीका शब्दहरू उनी बाँच्ने आधार बनेका छन् । छोरीले दीपेन्द्रलाई भनेकी छिन्, ‘वेट एन्ड सी बाबा ।’
०००
काभ्रेकी निर्मला लामा (२९) ३ वर्ष साइप्रस बसेर स्वदेश फिरिन् । उनी नेपाल नफर्किँदै श्रीमान् मलेसिया उडे । श्रीमान्–श्रीमतीको भेट नभएको पाँच वर्ष पुग्यो । साताको दुई–तीनपटक फेसबुक म्यासेन्जरमा कुराकानी गर्छन् । वेलावेला श्रीमान्ले पैसा पठाउँछन् । अझै कति समय श्रीमान्–श्रीमतीको भेट नहुने हो– निर्मला अनविज्ञ छिन् । दुईजना लामो समय सँगै नहुँदा भावनात्मक पक्ष कमजोर हुँदै जाने उनको अनुभव छ । भन्छिन्, ‘सँगै नहुँदा दुःखसुख साटासाट गर्न पाइन्न ।’
०००
हेमा मानन्धर १७ वर्षदेखि एक्लै छिन् । एक छोरीकी आमा उनी ‘नेप्लिज फेसन होम’की संस्थापक अध्यक्ष हुन् । प्रेम विवाह गरेको उनको जोडी ५ वर्षपछि छुट्टियो । भन्छिन्, ‘मन नपरेपछि सँगै बस्नुपर्छ भन्ने छैन । मेरा आफ्नै सपना थिए । त्यसकारण छुट्टिएँ ।’ उनी महिला एक्लैले पनि केही गर्न सक्ने बताउँछिन् । ‘एउटा पुरुषले जम्मा ८ घन्टा काम गर्छ । एउटी महिलाले दिनमा १८ घन्टा काम गर्छिन्,’ हेमा भन्छिन्, ‘१८ घन्टा काम गरेर घर सम्हाल्नेले देश पनि सम्हाल्न सक्छ ।’
०००
माथिका तीन उदाहरणले श्रीमान्–श्रीमतीको सम्बन्धमा आएका परिवर्तनको सानै भए पनि झल्को दिन्छन् । श्रीमान्ले कुट्दा लुगाको कुम्लो बोकेर माइती जाने अनि साता–दिनपछि श्रीमान्ले फकाएर घर फिर्ता गर्ने चलन समाजमा थियो । नेवारी समुदायमा झगडा भई माइती गएकी श्रीमतीले एक महिनासम्म चोभारको आदिनाथ मन्दिरमै कठोर व्रत बस्ने चलन थियो । श्रीमतीको व्रत अवधिभर श्रीमान् लिन नआएमा विवाह सम्बन्ध स्वतः टुट्ने परम्परा नेवारी समुदायमा थियो । पाँच वर्षअघिसम्म पनि त्यस्तो चलन अस्तित्वमा रहेको लेखक सुरेश किरण बताउँछन् ।

‘मारे पाप, पाले पुण्य’ भन्दै छोरीको कन्यादान गर्ने चलन अहिले पनि कायम छ । बिहे बन्धन हो, एकजनासँग मात्रै जीवन गुजार्नुपर्छ भन्ने मान्यता समाजमा अझै छ । तर, अब समयले कोल्टे फेर्दै छ । समाज गतिशील छ । जीविकोपार्जनमा देखिएको बदलावसँगै सामाजिक सम्बन्धमा पनि परिवर्तन आयो । ठ्याक्कै एक–दशकअघि समाजशास्त्री चैतन्य मिश्रले ‘बदलिँदो नेपाली समाज’ किताबमा भनेका थिए, ‘आउने दशकमा आर्थिक, राजनीतिक र सांस्कृतिक परिवर्तन अझ गतिवान् र सघन बन्नेछन् ।’

सम्झौताले सीमारेखाको माग गर्छ । निश्चित समयपछि सम्झौताको मिति सकिन्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध पनि त्यस्तै हो ?

विवाह के हो ?
विवाहको जीवशास्त्रीय व्याख्याले भन्छ, ‘पुरुषको हिंस्रकपनालाई शान्त पार्न विवाहको उत्पति भएको हो ।’ तर, सामाजशास्त्रीहरू यो व्याख्या स्विकार्दैनन् । समाजशास्त्रीहरू विवाहलाई समाजको आधारभूत संस्था मान्छन् । विवाहको उत्पति मानव सभ्यताको उत्पतिसँग जोडिएको उनीहरूको भनाइ छ । विवाह मूलतः दुई विपरीत लिंगका (समलिंगीलाई पनि मान्यता दिने बहस चलिरहेको छ) मानिसलाई सन्तान उत्पादन गर्न यौन सम्बन्धको अनुमति, परिवार स्थापनाको अनुमति, सन्तानको लालनपालन र आर्थिक क्रियाकलापमा संलग्न हुन दिइएको सामाजिक स्विकृति मान्छन् समाजशास्त्रीहरू ।

समयक्रमसँगै विवाहको स्वरूप र उद्देश्यमा समेत परिवर्तन आयो । अपवादबाहेक अब समूह विवाह, अनमेल विवाह, बहुपत्नी–बहुपति विवाह, हाडनाता विवाह समाजमा अस्तित्वमा रहेनन् । अब जोडी छनोट गर्ने तरिका फेरियो । इच्छाविपरीत महिलालाई वनको बाटैबाटो घिसारेर लैजाने चलन पनि फेरियो । विवाहमा आएको परिवर्तनलाई बदलिँदो समाजको बिम्ब मान्छन् समाजशास्त्रीहरू ।

‘घुमन्ते युगमा मानिस समूहमै बस्थे, समूहमै शारीरिक सम्पर्क गर्थे’, समाजशास्त्री मधुसूदन सुवेदी भन्छन्, ‘त्यसवेला विवाह भन्ने संस्थाको महत्व नै थिएन । मेरो श्रीमान्, मेरी श्रीमती भन्ने चलन नै थिएन ।’ मानिस समूहमा बस्न थालेपछि र निजी सम्पत्तिको उदय भएपछि विवाह संस्था प्रस्ट देखिन थालेको सुवेदीको अध्ययन छ । ‘दास युगमा महिलालाई मान्छे नै नगन्ने चलन थियो,’ उनी भन्छन्, ‘जीविकोपार्जनमा सबै लाग्नुपर्ने भएपछि महिलालाई श्रमशक्तिका रूपमा मात्रै लिइयो । तर, सुरुदेखि नै निर्णय प्रक्रियामा महिलालाई सहभागी गराइएन ।’

मानवशास्त्री सुरेश ढकाल समाजको जीविकोपार्जन गर्ने तरिका बदलिँएसँगै विवाहमा परिवर्तन आएको बताउँछन् । विवाह संस्थाको जन्म कृषि युग सुरु भएपछि मात्रै भएको उनको अध्ययन छ । भन्छन्, ‘परिवार र निजी सम्पत्तिको उदयसँगै विवाह संस्था प्रबल हुँदै आयो । मानव सभ्यताको लाखौँ वर्षको इतिहासमा विवाहले परिवारको रूप लिएको पछिल्लो ८/१० हजार वर्ष मात्रै भयो ।’

बढ्दो सम्बन्धविच्छेद
हेमा मानन्धरले २३ वर्षअघि प्रेम विवाह गरेकी थिइन् । तर, श्रीमान्सँग छुट्टिइन् । दीपेन्द्र शर्माले पनि प्रेम विवाह गरेका थिए । उनीहरू पनि छुट्टिए । हेमा कसैलाई दोष थोपर्दिनन् । भन्छिन्, ‘हामी छुट्यिौँ । यो कसैको दोष होइन । दोष सायद समयको हो ।’ हेमा र दीपेन्द्रको वैवाहिक जीवनलाई पछिल्लो दशक विवाह संस्थामा आएको तीव्र गतिशीलताको उदाहरण मान्न सकिन्छ । सर्वोच्च अदालतको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०६५/०६६ मा देशभरका जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा ५,१०९ दर्ता भएका थिए ।

१० वर्षपछि आर्थिक वर्ष २०७४/०७५ मा आइपुग्दा १७,६९५ पुग्यो । सम्बन्धविच्छेद बढ्नुलाई विवाह संस्थामा आएको परिवर्तनको संकेत मानिन्छ । सम्बन्धविच्छेदमा बढोत्तरी हुनुमा कतिपयले वैदेशिक रोजगारलाई विशेष जिम्मेवार ठान्छन् । सूचना र सञ्चारको विकासले समाजका सम्बन्धमा उलटपुलट ल्याएपछि सम्बन्धविच्छेद बढेको निचोड कतिपयको छ । कतिपयचाहिँ महिला सशक्तीकरणले सम्बन्धविच्छेद बढाएको तर्क गर्छन् । वैदेशिक रोजगार नै सम्बन्धविच्छेदको मुख्य कारण नभएको समाजशास्त्रीहरूको मत छ । समाजशास्त्री भन्छन्, ‘सम्बन्धविच्छेदको भित्री कारण खोतल्नुपर्छ ।’

पुँजीवादी युगलाई छनोटको स्वतन्त्रताको युग मानिन्छ । रोजेको मानिससँग विवाह गर्ने छुट पुँजीवादमा छ । ‘रोज्ने स्वतन्त्रता भएपछि, त्याग्ने स्वतन्त्रता पनि बढ्छ,’ ढकाल भन्छन् । ५०औँ लाख युवा देशबाहिर हुँदा सम्बन्धविच्छेद बढेजस्तो लाग्नु स्वाभाविक भएको उनी बताउँछन् । भन्छन्, ‘तर, सम्बन्धविच्छेदको मुख्य कारक त्यो होइन । एउटा कारण मात्रै हो ।

अंशलाई आधार बनाएर सामान्यीकरण गर्नु हुन्न ।’ समाजमा बन्धनमुक्त मानिस बढ्दै जानु नै सम्बन्धविच्छेदको मुख्य कारण ठान्छन् उनी । पछिल्लो समय परिवार, जात, समुदाय, नातागोता–प्रणालीको बन्धनबाट मानिस मुक्त हुँदै गएको ढकालको भनाइ छ । ‘महिलाको आर्थिक स्रोतमा पहुँच र नियन्त्रण बढेपछि महिलाले आत्मसम्मानको खोजी गरे । सम्बन्धविच्छेदको मुख्य कारण यो पनि हो,’ उनी भन्छन्, ‘त्यो खोजी कतिपय पुरुषलाई मन परेन । मन नपरेपछि सम्बन्धविच्छेद भयो ।’

त्रसित श्रीमान् !
सम्बन्धविच्छेद बढेपछि समाजको एउटा तप्का भन्दै छ– परिवार विघटन हुने भयो । अर्को तप्काको मत छ– विभेदमा आधारित पुराना सम्बन्धहरू क्रमशः तोडिँदै जानेछन् । परम्परागत सोच भएका पुरुषको चिन्ता छ– परिवार भत्किने भयो, समाज विग्रहमा जाने भयो । सम्बन्धविच्छेदलाई बेठीक ठान्छन् नुवाकोटका दीपेन्द्र । श्रीमतीले सम्बन्धविच्छेद गरेपछि आफ्नो भविश्य नै डामाडोल भएको दुखेसो उनको छ । भन्छन्, ‘मैले अहिलेसम्म अर्को बिहे गरेको छैन । बुढेसकालमा एक्लै खाना पकाएर खान्छु ।’

आजको परिवर्तनलाई पितृसत्ताबाट ग्रसित पुरुषले स्वीकार्न नसकेको बताउँछिन् लेखक सरिता तिवारी । भन्छिन्, ‘समाज आश्चर्यजनक ढंगले परिवर्तन भइरहेको छ । यो परिवर्तनको प्रभाव वैवाहिक सम्बन्धमा पनि परेको छ । तर, यो परिवर्तनलाई पितृसत्ताले स्विकार्न सकेको छैन ।’ पितृसत्तात्मक सोच डगमनाउन थालेको बताउँछन् समाजशास्त्री सुवेदी पनि ।

तर, ढकाल माथिका दुई तर्कसँग पूर्णतः सहमत छैनन् । उनी भन्छन्, ‘पितृसत्तात्मक सोच भएका पुरुष आज त्रसित छैनन् । बरु, उनीहरू आफूलाई बदलिँदो समाजसँग एडजस्ट गर्न खोजिरहेका छन् । अहिले श्रीमान्ले हिजोको हैकम कायम गर्न खोजिरहेकोे तर महिलाले प्रतिरोध गरिरहेको अवस्था छ । यसैको प्रकटीकरण सम्बन्धविच्छेद हो ।’ पितृसत्ताबाट उपलब्ध अधिकार कतिपय पुरुषले आज पनि प्रयोग गर्न खोज्ने तर, त्यो अब सम्भव नहुने उनको भनाइ छ । भन्छन्, ‘अब त्यस्ता पुरुष
क्रमशः सुध्रिनुपर्छ ।’

विवाह : बन्धन कि सम्झौता ?
कुनै समय विवाहित जोडीलाई शुभकामना दिँदै भन्ने गरिन्थ्यो– वैवाहिक बन्धनमा बाँधिनु भएकोमा शुभकामना ! त्यो जोडी कहिल्यै नछुट्ने वाचा गर्थे । जोडी छुट्टिए ‘भाग्य’ र ‘कर्म’लााई दोष दिइन्थ्यो । पछिल्लो समय यो मान्यतामा परिवर्तन आएको बताइन्छ । विज्ञ भन्छन्, ‘विवाह सामाजिक सम्झौता नै हो ।’समाजशास्त्री सुवेदी वैवाहिक बन्धनको मान्यता फेरिएको बताउँछन् । भन्छन्, ‘अब वैवाहिक बन्धन, वैवाहिक सम्बन्धमा फेरियो ।

सम्बन्ध भनेको टुट्न पनि सक्छ । यसलाई कुनै अनौठो मान्नुपर्दैन ।’ ढकालको मत सुवेदीसँग मिल्छ । उनी पनि विवाहलाई सामाजिक सम्झौता नै मान्छन् । ‘सम्झौता भनेको बन्धन नै हो,’ उनी भन्छन्, ‘तर, सम्झौता समानतामा आधारित छ कि असमानतामा भन्ने मुख्य प्रश्न हो । पहिलेको समाजमा असमान सम्झौता हुन्थे । अहिलेको समाजमा समानतामा आधारित सम्झौता बढ्न थालेको छ ।’ हिजोको बन्धन आज सम्झौतामा बदलिएको ढकाल बताउँछन् । ‘पहिला श्रीमतीलाई दोस्रो दर्जामा राख्ने र एउटा वस्तुको रूपमा लिइन्थ्यो, उनी भन्छन्, ‘अहिले सम्मानपूर्वक सहकार्य गरिन्छ ।’

सम्झौताले सीमारेखाको माग गर्छ । निश्चित समयपछि सम्झौताको मिति सकिन्छ । श्रीमान्श्रीमतीको सम्बन्ध पनि त्यस्तै हो ? झट्ट सुन्दा अप्रिय लागे पनि सत्य यही हो । लेखक तिवारी भन्छिन्, ‘श्रीमान्–श्रीमतीको सम्बन्ध सम्झौता र समझदारी दुवै हो । यसमा लिने र दिने हुन्छ ।’ श्रीमान्–श्रीमती नै जागिरमा जाने र सँगै मिलेर काम गर्ने चलन बढेको उनी बताउँछिन् । ‘अहिलेका जोडी सँगै बसेर सेल्फी त खिच्छन्, तर, भित्रैबाट कति खुसी छन् भन्न सकिन्नँ, तिवारी भन्छिन्, ‘यति भन्न सकिन्छ कि उनीहरू सम्झौतामा जीवन चलाइरहेका छन् ।’

दूरी बढ्यो कि घट्यो ?
पछिल्लो समय श्रमबजारमा महिलाको पनि उपस्थिति बढ्यो । आर्थिक क्रियाकलापमा महिलाको संलग्नता बढ्यो । गाउँमा हुनेहरू सहरमा आउने, सहरमा हुनेहरू विदेश जाने परम्पराले विगतको जस्तो पारिवारिक माहोल अब संकटमा पर्न थालेको समाजशास्त्रीको भनाइ छ । संयुक्त परिवार विघटन भए । एकल परिवार बढ्यो । त्यो एकल परिवारबाट पनि श्रीमान् कतार, श्रीमती कुबेत हुने अवस्था आयो । यस्तो परिवेशमा श्रीमान्–श्रीमतीको सम्बन्धमा दूरी बढेको छ कि घटेको ? समाजशास्त्रीहरू श्रीमान्–श्रीमतीको सम्बन्धमा दूरी बढेको तर्क गर्छन् ।

सुवेदीका अनुसार, पहिलेको श्रीमान्–श्रीमतीको सम्बन्ध जबर्जस्ती जोडिएको थियो । जबर्जस्ती जोडिएको सम्बन्ध घनिष्ट हुन गाह्रो थियो । भन्छन्, ‘बाहिरबाट देख्दा घनिष्ट देखिन्थ्यो, तर भित्रबाट घनिष्ट थिएन । अहिले बाहिरबाट कम देखिए पनि त्यो सम्बन्ध निकै घनिष्ट छ ।’ अहिले सम्बन्धमा चित्त नबुझ्नेबित्तिकै श्रीमान्–श्रीमती सँगै नबस्ने उनी बताउँछन् । भन्छन्, ‘किनकि अहिलेको सम्बन्ध समान हैसियतमा आधारित छ । समान हैसियत भएपछि भावनात्मक सम्बन्ध राम्रो हुन्छ ।’

ढकालको विचार पनि सुवेदीसँग मिल्छ । आज श्रीमान्–श्रीमतीबीच घनिष्टता बढ्नुको कारण आर्थिक उपार्जनमा महिलाको समान सहभागिता ठान्छन् उनी । भन्छन्, ‘महिलाले आफ्नो छुट्टै पहिचानको खोजी गर्न थाले । एकअर्काको भूमिकालाई स्वीकार्न थालियो । सम्मानपूर्ण सम्बन्धले घनिष्टता बढायो ।’लेखक सरिता तिवारी श्रीमान्–श्रीमतीको सम्बन्धमा परिवर्तन आउनुको कारण आन्तरिक प्रयत्न कम र बाहिरी दुनियाँको प्रभाव बढी देख्छिन् । भन्छिन्, ‘समाज विकासको क्रमिक चरणको प्रभावभन्दा बाहिरी दुनियाँको प्रभाव बढी छ ।’ तर, विश्लेषकहरूको भनाइ निर्मला लामासँग मेल खाँदैन । ५ वर्ष श्रीमान्सँग छुट्टिएर बस्दाका निकै तीता अनुभव छन् उनीसँग । श्रीमान् सधैँ विदेश बस्दा भावनात्मक सम्बन्ध कमजोर हुँदै गएको उनको अनुभव छ । भन्छिन्, ‘सुरुसुरुमा दिनहुँ फोनमा कुराकानी हुन्थ्यो । बिस्तारै कुराकानी कम हुँदै गएको छ ।’

श्रीमान्–श्रीमतीको सम्बन्ध सम्झौता र समझदारी दुवै हो । यसमा लिने र दिने हुन्छ । अहिलेका जोडी सँगै बसेर सेल्फी त खिच्छन् । तर, उनीहरू सम्झौतामा जीवन चलाइरहेका छन् ।

भत्किँदै विवाह
तिवारी भन्छिन्, ‘पुरानो विवाह संस्था भत्किँदै जान्छ । नयाँ बन्दै जान्छ । विवाह भन्ने संस्थाको भविश्य नै खतरामा छ । अबको दुई सय वर्षपछि सम्भवतः विवाह संस्था नै रहँदैन ।’ समाजका मूल्य, मान्यता उही रूपमा रहेन । सामाजिक संस्थामा परिवर्तन भयो । विवाह संस्था हरेक युगमा रूपान्तरित हुँदै अघि बढ्ने समाजशास्त्री बताउँछन् । अघि बढ्ने क्रममा अहिले विवाह संस्था संक्रमणकालमा रहेको विद्वान्हरू भन्छन् । ढकाल विवाहको स्वरूप सधैँ एकनासको नहुने बताउँछन् । भन्छन्, ‘यो निरन्तर परिवर्तन भइरहन्छ । परिवार भत्किनु र बन्नु नौलो घटना होइन ।’ समाजको उत्पादन सम्बन्धले परिवारको निर्धारण गर्ने उनको मत छ । ‘अब हिजोको परिवार वा विवाह सम्भव छैन,’ ढकाल भन्छन्, ‘आजको सामाजिक संरचनाले नयाँ मान्यताको माग गरिरहेको छ ।’

सुवेदी वैवाहिक संस्थामा परिवर्तन हुनुको मूल कारण खोतल्नुपर्ने मत राख्छन् । परिवर्तन आउनुको मुख्य कारण जीविकोपार्जनमा आएको परिवर्तन ठान्छन् उनी । ‘हिजोको जीविकोपार्जनको तरिकाले त्यही खालको सामाजिक सम्बन्ध निर्माण ग-यो । आजको बदलिँदो जीविकोपार्जनले त्यही खालको सम्बन्ध निर्माण गर्छ,’ उनी भन्छन्, ‘जीविकोपाजर्नको सम्भावना जति बढ्दै जान्छ, वैवाहिक सम्बन्ध त्यति खुकुलो हुँदै जान्छ ।’ परम्परागत विवाह संस्था अब नरहने उनको धारणा छ । भन्छन्, ‘यो हाम्रो चाहनाले भएको होइन । अर्थतन्त्रमा आएको परिर्तनको परिणाम हो । संरचनामा आएको परितर्वनले हाम्रो व्यक्तिगत सम्बन्धमा परिवर्तन ल्याउँछ ।’

समाज कता जाँदै छ ?
व्यक्तिगत स्वतन्त्रतालाई लोकतन्त्रको उपहार मानिन्छ । त्यो स्वतन्त्रताले परिवारभित्र पनि ठूलो हलचल ल्यायो । विवाह संस्थामा धक्का दियो । समाजमा पुँजीवादको प्रभाव बढेसँगै ‘लिभिङ टुगेदर’, ‘एस्ट्रा म्यारिटल अफेयर’ बढेको बताइन्छ । यस्ता सम्बन्धमा कति मानिस छन्, कतै तथ्यांक छैन । परम्परागत समाजमा यस्ता सम्बन्धहरू अनैतिक मानिन्छ । यी सम्बन्धलाई कतिपय विश्लेषक आधुनिकीकरणको प्रभाव मान्छन् । कतिपयचाहिँ स्वाभाविक ठान्छन् ।

प्रेम विवाह, लिभिङ टुगेदर, विवाहइतरका सम्बन्धहरू बढ्नुले नेपाली समाजको कस्तो झल्को दिन्छ ? कता जाँदै छ नेपाली समाज ? समाजशास्त्री सुवेदी पुँजीवादमा व्यक्तिगत स्वतन्त्रता हाबी हुने बताउँछन् । उनी विवाहइतरका सम्बन्धहरू बढ्न सक्ने बताउँछन् । ‘किनकि, पुँजीवादले व्यक्तिगत स्वतन्त्रता मात्रै उपलब्ध गराउँदैन, स्वछन्दता पनि दिन्छ,’ उनी भन्छन् । विवाहइतरको सम्बन्ध र घर गृहस्थी सँगै चलाउने प्रवृत्ति बढ्ने उनको भनाइ छ । ‘तर, यस्ता सम्बन्धले पारिवारमा विग्रह ल्याउन सक्छ । छोराछोरीको भविश्य बिग्रन सक्छ,’ उनी भन्छन्, ‘हामी पुरानो समाजमा पनि छैनौँ, आधुनिक समाजमा पनि पुगिसकेका छैनौँ ।

संक्रमणकालीन अवस्था भएकाले यस्तो भएको हो ।’ विगतको जस्तो अनमेल विवाह, बहुपति–बहुपत्नी विवाह, अब नरहने समाजशास्त्री मधुसूदन सुवेदीको भनाइ छ । हिमाली क्षेत्रको ‘क्याराभाान इकोनोमी’मा जीविकोपार्जनले निम्त्याएको बहुपति–बहुपत्नी प्रथा पनि अब नरहने उनी बताउँछन् । ‘हिमाली क्षेत्रमा बाटो पुगिसक्यो । विकासका अन्य पूर्वाधारहरू पुग्यो,’ भन्छन्, ‘अब हिजोका सम्बन्धहरूमा उलटपुलट आउँछ ।’

समाजमा प्रेम विवाह र सम्बन्धविच्छेद पनि बढ्ने ढकालको भनाइ छ । उनी भन्छन्, ‘अबको यात्रा आत्मसम्मानसहितको व्यक्ति निर्माण गर्ने तिरको हो । तर, यो यात्रा सजिलो छैन । परम्परागत अवरोधहरू कायम छन्, नयाँ अवरोध पनि आउनेछन् ।’

आव ०६५/६६ देखि ०७४/७५ सम्म अदालतमा दर्ता भएका सम्बन्धविच्छेदका मुद्दाहरू :
०६५/६६
सर्वोच्च अदालत : ११
पुनरावेदन अदालत : २३
जिल्ला अदालत : ५,१०९

०६६/६७
सर्वोच्च अदालत : २१
पुनरावेदन अदालत : २०४
जिल्ला अदालत : ५,९८५

०६७/६८
सर्वोच्च अदालत : ३१
पुनरावेदन अदालत : १३२
जिल्ला अदालत : ७,५४१

०६८/६९
सर्वोच्च अदालत : ३१
पुनरावेदन अदालत : १३२
जिल्ला अदालत : ७,५४१

०६९/७०
सर्वोच्च अदालत :४५
पुनरावेदन अदालत : १२७
जिल्ला अदालत : ८,६१५

०७०/७१
सर्वोच्च अदालत : ४८
पुनरावेदन अदालत : १५१
जिल्ला अदालत : ९,८१५

०७१/७२
सर्वोच्च अदालत : ४५
पुनरावेदन अदालत : ३२६
जिल्ला अदालत : ११,७३३

०७२/७३
सर्वोच्च अदालतः ५५
पुनरावेदन अदालत : ३८८
जिल्ला अदालत : १२,७५६

०७३/७४
सर्वोच्च अदालत : ६३
उच्च अदालत : ४५०
जिल्ला अदालत : १४६९६

०७४/७५
सर्वोच्च अदालत : ८१
उच्च अदालत : ४२८
जिल्ला अदालत : १७६९५
स्रोत : सर्वोच्च अदालत

बढ्दै प्रतिरोधी महिला- सुरेश ढकाल, मानवशास्त्री
विवाह सामाजिक संस्था हो । संस्थामा निश्चित मूल्य र मान्यता हुन्छन् । त्यो मान्यता समाजले ग्रहण गरिरहेको हुन्छ । सहवास, आर्थिक उत्पादनमा सहकार्य, सन्तान उत्पादन र हुर्काइबढाइका लागि श्रीमान्–श्रीमती एउटै छानामुनि बस्छन् । विवाह संस्थाको काम यत्ति हो । तर, समाजको आधार तहमा परिवर्तन आएपछि विवाह संस्थामा पनि परिवर्तन आउँछ ।

संयुक्त र बृहत् परिवारमा सँगै बस्दा सहवास त हुन्थ्यो तर, आर्थिक क्रियाकलापमा समान सहभागिता थिएन । श्रीमतीले घरभित्रको काम गर्ने र श्रीमान्ले घरबाहिरको काम गर्थे । तर, पछिल्लो अढाई दशकको गतिशीलताले पुरानो परिवारको संरचनामा विघटन ल्यायो । त्यसको प्रत्यक्ष असर श्रीमान्–श्रीमतीको सम्बन्धमा प-यो । श्रीमान्–श्रीमती एउटै छानामुनि बस्ने भन्ने मान्यतामा ठूलो परिवर्तन आयो । सँगै आर्थिक उपार्जनमा सहभागी हुने भन्ने मान्यतामा पनि परिवर्तन आयो । पुरुषले मात्रै कमाउने हो भन्ने मान्यता पनि भत्कियो । आर्थिक क्षेत्रमा महिलाको सहभागिता बेजोड रूपमा हुन थाल्यो । यी कारणले श्रीमान्–श्रीमतीको सम्बन्धमा हिजोको भन्दा फरक पा-यो ।

हिजोकी श्रीमतीले श्रीमान्लाई जति सम्मान गर्थी अब त्यो सम्मान गर्दिन । महिलाले आफ्नो छुट्टै पहिचानको खोजी गर्न थालिसकिन् । त्यसपछि अहिले एकअर्काको भूमिकालाई स्वीकार्न थालिएको छ । हिजो असमानतापूर्ण सम्बन्ध थियो, आज सम्मानपूर्ण सम्बन्ध बढेको छ । प्रतिरोधी महिला बढ्दै छन् । पहिले श्रीमतीलाई दोस्रो दर्जामा राख्ने गरिन्थ्यो र एउटा वस्तुको रूपमा लिइन्थ्यो । श्रीमतीको काम उत्पादन र पुनर्उत्पादनमा सहयोग गर्नु मात्रै हुन्थ्यो । अहिले सम्मानपूर्वक सहकार्यको कुरा बढ्यो । (कुराकानीमा आधारित)

Loading...

Related News

एक लाख नागरिकलाई राेजगारी दिने सरकारी तयारी, वेराेजगार भत्ता चाहिँ नदिने

काठमाडौंँ, १ जेठ ।   सरकारले चालू आर्थिक वर्षको अन्त्यसम्म एक लाखभन्दा बढी नागरिकलाई अल्पकालीन रोजगारी उपलब्ध गराउने तयारी गरेको छ…

जातीय छुवाछूत अन्त्यका लागि दुइ युवाको नेपाल पैदलयात्रा शुरु

कञ्चनपुर, ४ चैत जातीय छुवाछूत अन्त्यका लागि होमराज आचार्य र अशोक दर्नालले कञ्चनपुरको भीमदत्तनगर बजारको मदन चोकबाट आइतबारदेखि ‘नेपाल पैदलयात्रा…

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी