घले गाउँकाे चिया विदेशसम्म, चिया अायात गर्न निषेध

91 Hits

बेलिना थापा, लमजुङ,

एक दशकअघि बजारबाट चिया किनेर खाने र पाहुनालाई खुवाउँदै आएका घलेगाउँका स्थानीय हिजोआज गाउँमै उत्पादित चिया प्रयोग गर्छन् । 

स्थानीयले बजारको चियापत्ति किन्न अघोषित रूपमा रोक नै लगाएको छ । गाउँमै पर्याप्त मात्रामा चिया उत्पादन भएपछि गाउँ चियामा आत्मनिर्भर बनेका हो । चियाखेती सामुदायिक रूपमा गरिएकाले त्यसको उत्पादन र आम्दानी लेखाजोखा गरिएको छैन । गाउँमा उत्पादित चियालाई बेलायत, अमेरिका, भारतलगायत देशमा आफन्तलाई पनि पठाउने गरिएको छ । घलेगाउँमा आउने बाह्य पर्यटकले समेत किनेर लाने गरेका छन् । 

होमस्टे सञ्चालक कमला घलेले सहरको भन्दा गाउँको चिया मीठो हुने बताउनुभयो । ‘गाउँमै चिया छ । पाहुनालाई यही चिया खुवाउँछौँ । हामी पनि यही खान्छौँ । बजारको चिया ल्याएका छैनौं’ उहाँले भन्नुभयो, ‘बरु अमेरिका, बेलायतलगायत देशमा रहेका आफन्तलाई पठाउने गरेका छौँ । पर्यटकले पनि किनेर लैजान्छन् । ’ गाउँमै चिया उत्पादन भएपछि बजारको चिया ल्याउन रोकिएको उहाँले बताउनुभयो । 

घलेगाउँका स्थानीयले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा २०५४ सालदेखि सामूहिक चियाखेती शुरु गरेका थिए । चियाखेतीमा स्थानीयको बढ्दो चासोले खेती व्यवस्थित गर्दै लगिएको स्थानीय गमबहादुर गुरुङले बताउनुभयो । उहाँका अनुसार आमा समूहले शुरुवात गरेको चियाखेती अहिले छुट्टै समिति बनाएर रेखदेख र व्यवस्थापन गर्न थालिएको छ । 
घलेगाउँस्थित चिया नर्सरी व्यवस्थापन समितिका संयोजक यमप्रसाद घलेका अनुसार घलेगाउँका करिब सात सय रोपनी क्षेत्रफलमा चियाखेती गरिएको छ ।

शुरुमा १५ रोपनी क्षेत्रफलबाट चियाखेती शुरु गरिएको चियाखेती अहिले घलेगाउँ मुनीको डाँडा ढाकिने गरी फैलिएको घलेगाउँ आमा समूहकी पूर्वअध्यक्ष शान्ता गुरुङले बताउनुभयो । ‘पहिले  गाउँमा पनि चिया हुन्छ र जस्तो लागेको थियो । अहिले  आफैँ टिप्छौँ, आफैँ बनाउँछौँ र पाहुनालाई खुवाउँछौँ’ उहाँले भन्नुभयो । 

समितिका अनुसार एक्यापको सहयोगमा गरिएको २०० रोपनीमा चियाखेती छ । बाँकी जग्गामा स्थानीय आफैँले चिया लगाएको उनीहरूले बताएका छन् । घलेगाउँमा तक्दा–७८, तक्दा ३८३ र गुम्ती जातका चिया लगाइएको छ । स्थानीय खिमकुमारी गुरुङका अनुसार हरेक १५÷१५ दिनमा चिया टिप्ने गरिएको छ । हातले माडेर चिया प्रशोधन गर्ने गरिएको छ । मुना टिपेर घर लगेपछि २४ घण्टा हल्का खैरोकालो रङमा ‘ग्रीन टी’ जस्तै तयार हुने स्थानीयले बताएका छन् । 


समुद्री सतहदेखि २ हजार १ सय मिटर उचाइमा रहेको घलेगाउँ क्व्होँलासोंथर गाउँपालिका ३ मा पर्छ । प्रायः जाडो हुने भएकाले गाउँमा चियाको मात्रा अत्यधिक प्रयोग हुने क्व्होँलासोंथर गाउँपालिका अध्यक्ष एवं पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताउनुभयो । उहाँका अनुसार चियाले पर्यटकलाई लोभ्याएको छ । चियाबारी पर्यटकका लागि गन्तव्य बनेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी