प्रज्ञा प्रतिष्ठानहरूको नियुक्ति किन बिवदित बन्यो? यस्तो छ कारण

68 Hits

काठमाडौँ । तीनवटै प्रतिष्ठानमा एकै पटक सबै नियुक्ति गर्नुपर्नेमा त्यसो नगरी किस्ताबन्दीमा संगीत, नाटय र प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया ऐनविपरीत भएको भन्दै नाटयकर्मीद्वारा रिट दायर गरिएको छ । झन्डै चार महिनापछि सरकारले तीनवटै प्रज्ञा प्रतिष्ठानमा परिषद सदस्यसहितका पदाधिकारीहरु पठाएको छ ।

केही दिनअघि मात्रै नेपाल संगीत तथा नाटय प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानको पदाधिकारीलाई सरकारले शपथ खुवाएको थियो । यसअघि दुई चरणमा गरेर नेपाल प्रज्ञा प्रतिष्ठानको पदाधिकारी नियुक्त गरेको थियो । तीनवटै प्रज्ञा प्रतिष्ठानमा एकै पटक कुलपतिसहित पदाधिकारी र प्राज्ञ सभा सदस्य पठाउने परम्परा तोडेर सरकारले यसपटक विभिन्न चरणमा नियुक्त गरी पठाएको हो।

परम्परा तोड्ने काम नेपाल प्रज्ञा प्रतिष्ठानको नियुक्तिबाटै सुरु भएको थियो। ललितकला र संगीत नाटयसहित तीनवटै प्रतिष्ठानको चारवर्षे पदावधि भदौ १९ मा सकेको भए पनि सरकारले त्यसको एक महिनापछि असोज २१ गते प्रज्ञा प्रतिष्ठानको मात्रै कुलपतिमा गंगाप्रसाद उप्रेती र सदस्यसचिवमा जगत उपाध्यायलाई नियुक्त गर्‍यो।

जबकि यसअघि कुलपति, उपकुपतिसहित परिषद् सदस्य र सभा सदस्यहरु एकै पटक नियुक्त गर्ने प्रचलन थियो। कुलपति र सदस्यसचिव पठाएको झन्डै सवा दुई महिनापछि मात्रै उपकुलपतिमा जगमान गुरुङसहित परिषद् सदस्यहरुमा माया ठकुरी, लक्ष्मी माली, उषा ठाकुर, दिनेशराज पन्त, हेमनाथ पौडेल, गोपिन्द्र पौडेल, योगेन्द्रप्रसाद यादव र देवी नेपाललाई नियुक्त गर्‍यो।

सुरुमा तीन वटै प्रतिष्ठानहरु गाभेर एउटै बनाउने सरकारको योजना थियो। गाभ्ने प्रक्रियाको सहजीकरणकै लागि सरकारले सुरुमा प्रज्ञा प्रतिष्ठानको कुलपति र सदस्यसचिव नियुक्त गर्‍यो। तर, नेकपा सम्बद्ध सांस्कृतिक निकाय र अन्य स्रष्टाहरुले समेत यसको चर्को विरोध गरेपछि सरकारले मानसिकता बदल्यो। त्यही भएर नियुक्ति प्रक्रिया गन्जागोल र ढिला हुन गयो।

पदाधिकारीविहीन बनेको चार महिनापछि पुस १६ गते सरकारले संगीत नाटय र ललितकला प्रज्ञा प्रतिष्ठानमा कुलपतिसहितको पदाधिकारी पठायो। संगीत नाटयमा नारायणभक्त श्रेष्ठ कुलपति, हरिहर शर्मा उपकुलपति, श्याम तमोट सदस्यसचिव र परिषद् सदस्यहरुमा निशा शर्मा, मेघराज शर्मा ‘मञ्जुल’, नमुना शर्मा, हरिदेवी कोइराला, अशोककुमार राई र धीरेन्द्र प्रेमर्षि नियुक्त भए भने ललितकलामा केके कर्माचार्य कुलपति, गोपाल चित्रकार उपकुलपति, विपिनकुमार घिमिरे सदस्यसचिव र परिषद् सदस्यहरुमा रमेशनाथ खनाल, मिथिलादेवी यादव, सुषमा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्य नियुक्त भए।

संगीत नाटय प्रज्ञा प्रतिष्ठानको नियुक्ति प्रक्रिया ऐनले व्यवस्था गरेको भन्दा बाहिर गएर भएको भन्दै नाटयकर्मी विजय विस्फोटले शनिबार सर्वोच्च अदालतमा उत्प्रेषणको आदेशका लागि रिट दायर गरेका छन्। नेपाल संगीत तथा नाटय प्रतिष्ठान ऐन, २०६४ अनुसार २४ जनाको प्राज्ञसभा गठन गरेपछि मात्रै पदाधिकारी छान्नुपर्ने व्यवस्था छ।

तर, सरकारले सभा नै गठन नगरी कुलपति र उपकुपतिसहितको पदाधिकारी पठाएको भन्दै उक्त नियुक्ति बदर गरिपाउँ भन्दै विस्फोटले रिट दायर गरेका हुन्। प्रज्ञा प्रतिष्ठान र ललितकलाको प्राज्ञसभासहितको सूची सार्वजनिक भइसक्दा संगीत नाटयले भने अहिलेसम्म प्राज्ञसभा सदस्यको नाम सार्वजनिक गर्न सकेको छैन। प्राज्ञसभा सदस्यहरुको शपथसमेत खुवाउन सकेको छैन।

शुक्रबार दिउँसो १ बजे सर्वोच्च अदालतमा दर्ता गरिएको मुद्दामा संगीत नाटय प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को दफा ८ बमोजिम नवनियुक्त पदाधिकारीहरु विधागत, लैंगिक र जातीय समावेशिताका आधारमा हुनुपर्ने उल्लेख भए पनि त्यसो नभएको आरोप लगाइएको छ। यसअघि २०६५ मा तत्कालीन माओवादी नेतृत्वको सरकारले नियुक्त गरेको तीनवटै प्रज्ञा प्रतिष्ठानको पदाधिकारीविरुद्ध पनि मुद्दा परेको थियो।

त्यति बेला नेपाल प्रज्ञा प्रतिष्ठानमा ईश्वरचन्द्र ज्ञवाली, ललिकला प्रज्ञा प्रतिष्ठानमा बाबुलाल पुन र संगीत नाटय प्रज्ञा प्रतिष्ठानमा माइला लामा कुलपतिमा नियुक्त भएका थिए। त्यति बेलाको नियुक्ति पनि ऐनअनुसार प्रक्रिया नपुगेको भन्दै प्रज्ञा प्रतिष्ठानविरुद्ध विष्णु प्रभात, नाटय संगीतविरुद्ध विजय विस्फोट र ललितकलाविरुद्ध किरण मानन्धरले सर्वोच्चमा रिट हालेका थिए। रिटपछि तीनवटै प्रतिष्ठानको नियुक्ति बदर भएका थिए।

नियुक्ति प्रक्रिया गैरकानुनी भएकाले आफूहरुले रिट हाल्नुपरेको विस्फोटले दाबी गरे। ‘प्राज्ञसभाको शपथबिना नै कसरी पदाधिकारीको नियुक्ति हुन सक्छ?’ विस्फोटले भने, ‘त्यसमाथि समावेशी पनि छैन। दलितलाई बढारिएको छ।’ ऐनअनुसार नियुक्ति प्रक्रियाका लागि दुई विज्ञ सदस्यसहित पयर्टन तथा संस्कृति मन्त्रीको अध्यक्षतामा तीनवटा छुट्टाछुट्टै सिफारिस समिति बनाउनुपर्ने हुन्छ। सरकारले त्यसअनुसार सिफारिस समिति बनाए पनि छनोटको प्रक्रियामा भने ऐन मिचेको विस्फोटको दाबी छ। पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव कृष्ण देवकोटाले भने ऐनअनुसार नै नियुक्ति प्रक्रिया अघि बढाइएको र सोहीअनुसार नियक्ति भएको दाबी गरे।

‘पहिले प्राज्ञ परिषद् नै गठन गरेका हौं,’ उनले भने, ‘त्यसपछि मात्रै पदाधिकारी चयन गरिएको हो। प्राज्ञसभा सदस्यको घोषणा भने बायोडाटा र नागरिकताको प्रतिलिपि संकलन भइरहेकाले ढिलाइ भएको हो। कानुनी प्रक्रिया नपुर्‍याईकन काम भएको छैन।’

समावेशी नभएको आरोप लागेको संगीत नाटयको कुलपतिमा नारायणभक्त श्रेष्ठ ‘रायन’ चर्चित गीत ‘गाउँ गाउँबाट उठ।।।’ का गायक हुन्। मूलत ‘जनवादी’ गीतसंगीतमा उनको योगदान मानिन्छ। बीसको दशकको सुरुवातमा साहित्यकार पारिजातको अगुवाइमा सुरु भएको ‘राल्फा अभियान’ का यी संस्थापकसमेत हुन्।

स्रोतका अनुसार प्रधानमन्त्री केपी ओली, संस्कृतिमन्त्री रवीन्द्र अधिकारीलगायतले कुलपतिमा यादव खरेल ल्याउन चाहेका थिए। त्यसनिम्ति प्रधानमन्त्रीले उनलाई बालुवाटार बोलाएर बैठकसमेत राखेका थिए। यो थाहा पाएपछि पूर्व एमाले निकट जनसांस्कृतिक महासंघका अध्यक्ष खगेन्द्र राईलगायतको टोलीले खरेल ‘गैरकम्युनिस्ट’ भएको भन्दै उनको विरोध गरेका थिए। नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले समेत खरेलको नाममा असहमति जनाएपछि ओली पछि हटे। रायनको पल्लाभारी भयो।

उपकुलपति हरिहर शर्मा अभिनेता हुन्। उनी तीनपटक सांस्कृतिक संस्थान ‘नाचघर’ को महाप्रबन्धक समेत भएका थिए। स्रोतका अनुसार उपकुलपतिका लागि उनलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले दबाब दिएका थिए। सदस्यसचिव श्याम तमोट गीतकार हुन्। ‘गाउँ गाउँबाट उठ।।।’ गीत उनैले लेखेका हुन्। परिषद् सदस्य ‘प्राज्ञ’ हरुमा नियुक्त भएकामध्ये हरिदेवी कोइराला लोकगायिका हुन्। नमुना शर्मा पूर्व एमाले सम्बद्ध जनसांस्कृतिक महासंघकी नेतृ हुन्। धीरेन्द्र प्रेमर्षि कवि एवं गीतकार र अशोककुमार राई संगीतकार हुन्। त्यस्तै निशा पोखरेल अभिनेत्री हुन् भने मेघराज शर्मा ‘मञ्जुल’ राल्फाकालीन गायकरकवि भए पनि पछिल्लो समय उनको कविता र निबन्ध लेखनमा सक्रिय छन्।

ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा नियुक्त कान्छाकुमार कर्माचार्य ‘केके कर्माचार्य’ यसअघि सोही प्रतिष्ठानमा सदस्यसचिव थिए। चित्रकलामा राम्रो योगदान दिएका उनी पनि पूर्व एमाले निकट जनसांस्कृतिक महासंघकै दबाबमा कुलपति भएका हुन्। स्रोतका अनुसार सिफारिस समितिले विजय थापालाई कुलपतिमा छानिसकेको थियो। नेकपाका केही नेता र जनसांस्कृतिक महासंघकै कारण थापाको नाम काटियो। नाम काटिनेमा परिषद् सदस्य ज्योतिप्रसाद विके पनि हुन्।

‘कुलपतिको शपथकै लागि बोलाइएको थियो, प्रधानमन्त्रीको समय नमिलेर रोकियो, पछि अर्कै नाम आयो,’ थापाले भने, ‘यसमा केही भन्नु छैन। नैतिक रूपमा को–को जिम्मेवार हुनुपर्ने हो, उहाँहरुकै कुरा हो यो।’ आफूहरु छानिएको सूची हात पारेपछि थापा र विकेले ललितकला प्रज्ञा प्रतिष्ठानको गाडी चढ्न थालिसकेका थिए। तर, पछिल्लो सूची भने दुवैको नाम काटिएर आयो।

ललितकलाका उपकुलपतिमा नियुक्त गोपाल चित्रकार फोटोग्राफर हुन्। पछिल्लो समय उनी चित्रकलामा पनि सक्रिय थिए। सदस्यसचिव विपिन घिमिरे ललितकला क्याम्पसका पूर्व प्रमुख हुन्। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नवीन घिमिरेका आफ्नै दाइ हुन्। परिषद् सदस्यहरुमा रमेशनाथ खनाल चित्रकार एवं कला समीक्षक हुन् भने मिथिलादेवी यादव मिथिला चित्रकार हुन्।

लालकाजी लामा चित्रकार र मूर्तिकार हुन् भने बुद्धिबहादुर गुरुङ, धर्मराज शाक्य चित्रकार हुन्। अर्को चित्रकार सुषमा राजभण्डारी दोहोरिएर परिषद् सदस्य भएकी हुन्। तीनवटै प्रतिष्ठानमा पदाधिकारी सिफारिस गर्न गठित समितिका संयोजक संस्कृति तथा पर्यटन मन्त्री रवीन्द्र अधिकारी थिए।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी