माथिल्लो कर्णाली अायाेजना आफैंं निर्माण गराैं – नेकपा सुदूरपश्चिम

56 Hits

धनगढी, २७ पौष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम कमिटिले माथिल्लो कर्णाली सरकार स्वयम्ले निर्माण गर्नुपर्ने माग राखेको छ ।

पार्टी एकीकरणपछि पहिलोपटक बसेको नेकपा सुदूरपश्चिम प्रदेश कमिटिको बैठकले सार्वजनिक महत्वका ८ वटा विशेष प्रस्ताव पारित गर्दै माथिल्लो कर्णालीमा जिएमआर कम्पनीलाई निरन्तरता दिन नहुने बताएको हो ।

सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कर्ण थापाले दिएको जानकारी अनुसार, बैठकले पश्चिम सेतीको काम तत्काल अगाडि बढाउन समेत माग गरेको छ ।

प्रदेश कमिटिका सदस्यहरुलाई सपथ ग्रहण समेत गराईएको आज सम्पन्न बैठकमा प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य भीम रावल र स्थायी समित सदस्य लेखराज भट्टले जन अपेक्षा अनुरुप पार्टीले तल्लो तहसम्म भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए ।

बैठकले सुदूरपश्चिम प्रदेश ऐतिहासिकरुपमा शोषणमा परेको तथ्यलाई स्मरण गराउंदै साधन, श्रोत र अवसरमा पहु“चका लागि केन्द्र सरकारसँग विशेष व्यवस्था गर्न समेत माग गरेको छ ।
यसैगरी गरिब, सीमान्तकृत, मजदूर, सुकुम्बासी किसानलगायतका जनताका लागि विशेषाधिकारको नीति अबलम्बन गर्न समेत प्रदेश सरकारसमक्ष माग गरिएको छ ।
विशेष प्रस्ताव पारितसँगै बैठकले आगामी माघ २० गते प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा अगुवा कार्यकर्ता भेलागर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा प्रदेशका केन्द्रीय सदस्य तथा प्रदेश सदस्य एवं पदाधिकारीको उपस्थिति रहेको थियो ।

बैठकले पारित गरेका विशेष प्रस्तावहरु-

१. नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, स्वाधीनता, अखण्डता र स्वाभिमान तथा नेपाली क्रान्तिलाई नयाँ उचाईमा पुर्याउँदै सामाजिक न्यायसहितको समृद्ध नेपाली समाजको निर्माणका लागि भएको ऐतिहासिक पार्टी एकताको स्वागत गर्दै यस महान कार्यमा योगदान गर्ने सम्पूर्ण नेताहरुप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछ ।

२. परिवर्तनका हरेक आन्दोलनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सुदूरपश्चिम प्रदेश ऐतिहासिकरुपमा शोषण र दोहनमा परेको तथ्यलाई आत्मसात् गर्दै यस क्षेत्रको विकास र समृद्धिका लागि साधन, श्रोत र अवसरको विशेष व्यवस्था गर्दै सोही अनुरुप संघीय सरकारबाट काम, कारवाही हुन माग गर्दछ ।

३. सुदूरपश्चिम प्रदेशको समग्र आर्थिक समृद्धिको लागि अत्यन्त महत्वपूर्ण पश्चिम सेती जलविद्युत आयोजना लामो समयसम्म अनिश्चित र अन्योलको शिकार रहेको छ । यसबाट यस प्रदेशको विकासको सम्भावनामा नै प्रतिकूल प्रभाव पर्ने देखिएको छ । अतः पश्चिम सेती जलविद्युत आयोजनाको बारेमा रहेको अन्योल समाप्त गरी उपयुक्त श्रोतको व्यवस्था गर्दै आयोजनाको काम अघि बढाउने प्रबन्ध मिलाउन नेपाल सरकारसँग माग गर्दछ ।

४. नेपालकै आर्थिक समृद्धिमा योगदान पुर्याउन सक्ने तथा जलविद्युत आयोजनामध्ये अत्यन्त राम्रो सम्भावना भएको माथिल्लो कर्णाली जलविद्युत आयोजना यसअघि दुईपटक वित्तीय व्यवस्थापनको म्याद थप्दा समेत आयोजना विकास सम्झौता अनुरुप काम अघि नबढेकोमा चिन्ता व्यक्त गर्दछ । तुलनात्मकरुपमा पछ्यौटेपनको अवस्थामा रहेका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका लागि मात्र नभई सिँगो देशको विकासका लागि ठूलो योगदान गर्न सक्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनालाई अन्यौलबाट मुक्त गर्न आयोजना विकास सम्झौताको पालना गर्दै जीएमआर कम्पनीलाई वित्तिय व्यवस्थापनको म्याद नबढाइयोस् र वैकल्पिक व्यवस्थापनका साथ नेपाल सरकारबाट स्वयम् उक्त आयोजनालाई अघि बढाइयोस् भनि माग गर्दछ ।

५. यस प्रदेशको दक्षिणतर्फ भारतसँग जोडिएको सीमा क्षेत्रको उचित व्यवस्थापन हुन नसक्दा सीमा क्षेत्रका जनता सधैें त्रासमा रहनुपर्र्नेे अवस्था विद्यमान रहेकोले संघ तथा प्रदेश सरकारबाट एउटा समय सीमा तोकी सीमालाई व्यवस्थित र वैज्ञानिक बनाउँन विशेष कार्यक्रम लागु गर्न आग्रह गर्दछ ।

६. अन्तर्राष्ट्रिय व्यापार, पर्यटन तथा संस्कृतिको केन्द्र बन्ने सम्भावना रहेको सुदूरपश्चिम प्रदेशलाई चीन र भारतसँग जोड्ने अन्तर्राष्ट्रिय नाका तथा उत्तरी सीमातर्फका सम्भावित नाका खोल्ने एवं स्तरोन्नती गर्ने कार्य तदारुकताका साथ अघि बढाउन माग गर्दछ ।

७. महिलामाथि हिंसा अन्त्य गर्न स्थानीय तह लक्षित हुने गरी “महिला हिंसाविरुद्ध प्रादेशिक अभियान” तथा सबै तहमा ‘कानुनी साक्षरतासहितको न्यायिक संरचना’ स्थापनाका लागि प्रदेश सरकारसँग माग गर्दछ ।

८. गरिबीको रेखामुनि रहेका मजदूर किसान, भूमिहीन, सुकुम्वासी, उपेक्षित तथा उत्पीडित जनतालाई शिक्षा, स्वास्थ्य, रोजगार तथा सामाजिक सेवामा पहुँच सुनिश्चित गर्न प्रादेशिकरुपमा विशेषाधिकारको नीति तर्जुमा गर्न माग गर्दछ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी