कति निर्दयी र पापी भएको हाे समाज !

59 Hits

– वसन्तराज कुँवर-
धेरै वर्षअघिको कुरो हो म डिएस्पी थिएँ र प्रहरी प्रधान कार्यालयमा श्रव्य दृश्य शाखामा काम गर्दथेँ । एकदिन कामविशेषले प्रहरी महानिरीक्षकको कार्यालय पुगी त्यहाँबाट फर्केर श्रव्य दृश्य शाखातर्फ आउँदै थिएँ रुख बिरुवाका पात टिप्दै गरेका केही जवानहरूमध्ये एक ठ्याक्कै मेरो सामुन्ने आई जय नेपाल भन्दै सलाम गरे । ती जवान यसरी मलाई सलाम गर्दा हाँसिरहेका थिएकि हाँस्दा उनको आँखा र गालामा थुप्रै चाउरी परेको थियो ।

म उनको सलाम फर्काइ अगाडी बढ्न खोजेँ तब उनले ठूलो स्वरमा भने, ‘सर मलाई केही भन्नु थियो’ । म रोक्किएँ । उनले भने– ‘सर म प्रहरी जवान हूँ । गरिब घरको केटो हूँ । सानैमा आमा–बाबु गुमाएँ । मेरो जिम्मामा भाइहरू पनि छन् । भर्खरै मैले विवाह पनि गरेँ । म गणमा छु । डेरा छैन । श्रीमतीलाई साथीकहाँ राखेको छु । म जान पाउँदिनँ । सर म कुनै अधिकृतज्यूको घरमा बस्न पाए हुन्थ्यो । श्रीमती राख्ने ठाउँ पनि हुन्थ्यो ।’ मैले सोधेँ– किन विवाह गरेको त ? उनले अझ अनुहारमा चाउरी पार्दै हाँस्दै भने, ‘सर लभ प¥यो भगाएँ’ । मैले उनलाई म हेरौँला भने र आफ्नो श्रव्य दृश्य शाखातिर आएँ ।

शाखामा आएपछि पनि मलाई ती प्रहरी जवानको निश्चल, छलकपटरहित अनुहार र उनले बताएको समस्या याद आइरह्यो । श्रव्य दृश्य आइसकेपछि मैले ती प्रहरी जवानलाई फेरि बगैँचातिरबाट खोजी म कहाँ ल्याउन मान्छे पठाएँ । उनी फेरि त्यसै गरी मुख र आँखामा चाउरो पार्दै हाँसेर जय नेपाल भन्न आइपुगे । उनलाई पुनः देखेपछि मैले सोधेँ, ‘प्रहरी प्रधान कार्यालयमा यति धेरै अफिसरहरू छन् तिमीले आफ्नो समस्या मलाई नै किन सुनायौ ? मेरो जवाफ मुखबाट झर्न नपाउँदै उनले उही पाराले हाँस्दै भने, ‘सर किन किन हजुरबाट मेरो समस्या समाधान हुन्छजस्तो लाग्यो ।

आज मैले हजुरलाई भने तर धेरै दिनदेखि म हजुरलाई टाढाबाट हेरिरहेको हुन्थेँ । उनी फर्किए । किन किन मलाई उनको सहयोग गर्न मन लाग्यो र गणपतिलाई फोन लगाएँ । त्यतिबेला प्रहरी अधिकृतहरूबीच सम्मान र सहयोगको वातावरण थियो । मैले गणपतिसँग ती प्रहरी जवानको नाम भने र हुनसक्छ भने मेरो घरमा पठाइदिन अनुरोध गरेँ । तत्काल आदेश भयो र प्रहरी जवान मेरो घरमा खटाइए ।
मेरो घरमा एक नयाँ सदस्य थपिए ।

मुमा–बुबाले पनि हेर्ने बित्तिकै तिनलाई स्वीकार गर्नुभयो । उनलाई बस्ने कोठा दिइयो । भोलिपल्ट उनले आफ्नो श्रीमती लिएर आए । पातली शरीरको सानी केटी थिइन् उनी । स्कुल पढ्दापढ्दै भागेर आएकी रहिछिन् । मेरो घरमा ती सानी बुहारी पनि सजिलै स्वीकार भइन् । त्यस दिनबाट ती प्रहरी जवानको अस्थायी समस्या सुल्झियो । पच्चिस वर्षभन्दा पहिल्यैको कुरो हुनुपर्छ । ती प्रहरी जवान धेरै वर्ष हाम्रो परिवार भएर रहे । उनका भाइहरू पनि प्रहरी बन्न सफल भए । श्रीमतीले हाम्रै घरमा दुई छोरी पाइन् । ती छोरीहरू पनि हाम्रै घरमा हुर्किए । जेठी ठ्याक्कै बाबुजस्तो र कान्छी ठ्याक्कै आमाजस्ती थिइन् । सानी जन्मँदा अति नै फुच्ची भएकीले हामी मुसा भनी बोलाउँथ्यौँ ।

समय बित्दै गयो । मेरो जागिर जीवनमा पनि अनेकौँ उतारचढाव आयो । उनले मलाई दुःख–सुखमा सँधै साथ दिए । मलाई एसएसपीमा षड्यन्त्रपूर्वक अवकाश गराइएपछि उनले पनि जागिर छोड्ने मन बनाए । नभन्दै उनले जागिर नै छोडे । उनी भन्दथे– हजुर प्रहरीमा नभएपछि मलाई पनि जागिर खान मन लागेन । जागिर छोडी उनले थोरै जमिन किने । उनी जागिर छोड्दा हवल्दार पदमा थिए । म उनले जागिर छोडेकोमा सन्तुष्ट थिइनँ तर रोक्न सकिनँ ।

जागिर छोडेपछि उनले अरबतिर जाने इच्छा राखे । हाम्रो परिवारले सक्दो मद्दत ग¥यौँ । अरब गएर पैसा कमाउन थालेपछि उनले परिवारलाई आफुले किनेको थोरै जमिन छेउ डेरामा परिवार राख्न चाहेको र त्यही जग्गामा घर बनाउन चाहेको बताए । मैले हुन्छ भनेँ । उनीहरूले घर छोड्दा नरमाइलै लाग्यो । हाम्रो अगाडी जन्मिएका बच्चाहरू ठूला भई स्कूल पढ्ने भइसकेका थिए । हाम्रो घर छोडेर गएपछि ती परिवार अलि टाढा भए । बेलाबेलामा श्रीमती बच्चासहित भेट्न आउँथिन् । हरेक पटक बच्चाहरू ठूला देखिन्थे । ती हवल्दारले अरबमा खुब मेहनत गरी धन नेपाल पठाई घर बनाए । छोरीहरूलाई राम्रो शिक्षा दिए । करिब पाँच–सात वर्षपछि एकदिन उनी नार्कोनन्मा मलाई भेट्न आए र भने अब म परिवारसँग बस्न चाहन्छु । छोरी कलेज पढ्ने भइन् । तर श्रीमती अरब नै जानु भन्छिन् । अझै छोरीहरूको उच्च शिक्षामा पैसा चाहिन्छ भन्छिन् म के गरुँ ? उनको प्रश्नमा मैले भनेँ– यहिँ नार्कोनन्मा काम गर, परिवारसँग बस ।

त्यसपछि हाम्रो भेट भएन । उनी फेरि अन्तिम पटक भनी अरब गएछन् । झण्डै पाँच वर्ष हाम्रो भेट भएन । त्यसबीच उनले ठूली छोरीलाई होटल म्यानेजमेन्ट पढाउन विदेश पठाएछन् । सानीलाई पनि राम्रो कलेजमा राखेछन् । भर्खरकै कुरा हो हालै ती हवल्दार साव टुप्लुक्क मेरो घरमा आइपुगेछन् र मेरो श्रीमतीलाई भेटेछन् । म बाहिर थिएँ । मलाई पनि उनलाई हेर्न खुब मन थियो । मेरो परिवारले उनलाई भेटिसकेपछि टेलिफोनबाट मलाई बढो दुःखद समाचार सुनाइन् । त्यो कुरा सुनेपछि मेरो आँखा रसायो ।

भएछ क भने उनको श्रीमतीले उनी अरबमै हँुदा करिब पाँच वर्ष अगाडी नै नेपालमा डिभोर्स दिइसकेकी रहिछिन् । ती प्रहरी हवल्दारले रात–दिन मेहनत गरी पठाएको पैसाले बनाएको श्रीमतीको नामको घर पनि उनले बेची भिनाजु भन्ने कहाँ बस्न थालेकी रहिछिन् । नेपालको अदालतमा श्रीमतीले डिभोर्स दिएको अदालतले श्रीमानलाई हाजिर हुन ३५ दिने सूचना दिएको विचरा ती हवल्दारलाई अरबमा थाहै भएनछ । यहाँ षड्यन्त्रमूलक ढँगले उनले डिभोर्स गरिसकेकी रहिछिन् र केही थाहा नपाउने लाटा हवल्दारले डिभोर्स गरी घर बेची भिनाजुकहाँँ बसेकी श्रीमतीलाई वर्षौसम्म पैसा पठाइरहेका रहेछन् ।

यो कुरा फोनमा सुन्ने बित्तिकै मलाई उनको श्रीमतीसँग पारा चढ्यो । तर उनले मेरो श्रीमतीलाई भनेका रहेछन् कि छोरीहरू पनि बोल्न चाहँदैनन्, श्रीमतीलाई आउसँगै बसौँभन्दा मलाई फोन नगर्नु पुलिस बोलाइदिन्छु भनी धम्काइन् । जे होस् मैले विवाह गरेर ल्याएको थिएँ । माया गरेको थिएँ । तिनकै लागि अरबको खाडीमा जोतिएको थिएँ । तिनीहरू खुसी रहुन् । म भोलि अरब फर्कन्छु । मैले निस्ठुरी नै भएपनि केटाकेटी मै ल्याएको ती श्रीमतीलाई माफ दिएँ ।
यसरी अकल्पनीय धोका दिने श्रीमतीलाई माफ दिन सक्ने जोकोही हुनै सक्दैनन् । उनले एउटा महान् मानवता देखाए तर पनि मलाई चाहिँ पचाउन गाह«ै भयो । उनी यसै हप्ता फेरि अरबतिर फर्किए ।

उनको सत्यकथाले मलाई अझै पीडा दिइरहेको छ । तिनको श्रीमतीमाथि कडा कारवाही हुनुपर्ने भन्ने लागिरहेको छ । तर आँखाभरि उही पुरानो मुस्कान, मुस्कुराउँदा देखिने आँखा र गालाको चाउरीसहित हवल्दारले मेरो श्रीमतीलाई भनेछन्, ‘केहि नगरौँ हजुर, मैले तिनलाई माफी दिएँ ।’ त्यो कुरा बोल्दा पनि उनी हाँसेकै थिए रे तर आँखाभित्र भने टिलपिल आँसु टल्किरहेको थियो रे । मैले ती हवल्दार सावलाई आफैँले भेट्न पाइनँ । यस पटक अरब फर्कँदा उनी रित्तो र एक्लै र फेरि अनाथ भएका थिए । न घर, न सम्पत्ति, न छोरी न स्वास्नी । उनले एक पटक मलाई भन्थे एक्लै ट्रक चलाएर गएको बेलामा कहिलेकाहीँ अरबमा ठूलो हुरी बतास आउँदा पुरै बाटो बालुवाले पुरिन्थ्यो र उनी हराउँथे रे । कता जाने पत्तै हुँदैन थियो रे ।

फेरि उनको जीवनमा दैवले ल्याएको हुरी बतास बीच विचरा ती हवल्दार एक्लै भएका छन् कता जाने पहिल्याउन नै नसक्ने भएर । मैले सोचिरहेको छु यदि उनी नेपाल फर्किए भने म पुनः उनलाई मेरो परिवारसँगै रहन बोलाउनेछु र बुढेसकालका साथी बनाउने छु । उनको जीवनमा घटेको घटना हेर्दा मलाई लाग्यो, ‘समाज धेरै पापी भइसकेको रहेछ’ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी