अाउँदै २०१९ : कस्ताे रह्याे सन २०१८ ?

76 Hits

काठमाडौं, १६ पुस –

सन् २०१८ विभिन्न राजनीतिक उतारचढावका घटनाले विश्व राजनीतिक मञ्चमा अविस्मरणीय रहे झैं नेपालका लागि पनि यो वर्षलाई निर्वाचन र सङ्घीयता कार्यान्वयनको दृष्टिले सम्झनलायक बनायो ।  सन् २०१८ मा नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि नयाँ सरकार गठन र राजनीतिक स्थिरताको शुरुआत भयो ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले संविधानअनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र सातै प्रदेशका ५५० प्रदेशसभा सदस्यका लागि निर्वाचन गरेको थियो ।  यो निर्वाचनसँगै सङ्घीयताको कार्यान्वयन शुरु भयो । तत्कालीन सरकारले ठूलो बहसपछि माघ ३ गते संविधानअनुसार सातै प्रदेशमा प्रदेश प्रमुख र प्रदेशका अस्थायी केन्द्रसमेत तोक्यो । हाल तीन प्रदेशले आफ्नो नाम र स्थायी राजधानी निर्धारण गरिसकेका छन् भने प्रदेश नं १, २, ३ र ५ ले निर्वाचनको एक वर्षभन्दा बढी समय हुँदा पनि नाम र स्थायी राजधानी तोक्न सकेका छैनन् ।

सातै प्रदेशका मुख्यमन्त्रीहरुको पोखरा भेला र अन्तरप्रदेश समन्वय समितिको बैठक पनि चर्चामै रहे ।  प्रदेशसभाको निर्वाचनपछि सातै प्रदेशमा प्रदेशसभा र प्रदेश मन्त्रिपरिषद् गठन भई मुलुकमा पहिलोपटक सङ्घीयता कार्यान्वयन भएको छ । संविधानअनुसार माघ २४ गते राष्ट्रियसभाको निर्वाचन पनि यही वर्ष भयो । संविधानमा दुई सदनात्मक सङ्घीय संसद्को व्यवस्था छ । प्रतिनिधिसभा २७५ सदस्यीय र राष्ट्रियसभा ५९ सदस्यीय रहेको छ । 

संविधान कार्यान्वयन गर्ने क्रममा यस वर्ष एकपछि अर्को निर्वाचनले निरन्तरता पाई नै रहे । प्रतिनिधिसभाको निर्वाचनमा प्राप्त नयाँ जनमतअनुसार तत्कालीन नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गत फागुन ३ गते वाम गठबन्धनका तर्फबाट ठूलो बहुमतका साथ प्रधानमन्त्रीमा नियुक्त भए । ओलीको यो दोस्रो प्रधानमन्त्री कार्यकाल हो । नेपालको इतिहासमा २०१५ सालपछि पहिलो पटक दुई तिहाइ बहुमतको सरकार गठन भएको छ ।  सङ्घीय संसद्को निर्वाचनपछि दुवै सदनका सदस्यको फागुन २० गते शपथ र २१ गते पहिलो बैठक बसेको थियो ।

संविधान कार्यान्वयनकै सिलसिलामा यसै वर्ष राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भयो । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन दुबैजना पुनः सोही पदमा निर्वाचित भए ।   संविधान कार्यान्वयनको चरणअन्तर्गत यसै वर्ष सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्षको निर्वाचन पनि सम्पन्न भयो । निर्वाचनमा गठबन्धन गरेका तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच गते जेठ ३ गते पार्टी एकीकरण भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणा भयो । 

जेठ १८ गते उपेन्द्र यादव नेतृत्वको सङ्घीय समाजवादी फोरम नेपाल सरकारमा सहभागी भयो । असार ४ गते राष्ट्रियसभाका सदस्यको पदावधि निर्धारण गरियो । यही वर्ष असार १ गते पहिलो पटक सातै प्रदेशमा एकसाथ सातै प्रदेश सरकारले बजेट प्रस्तुत गरे । यसै वर्ष राष्टिय जनता पार्टी नेपालको अध्यक्ष मण्डलको संयोजकमा चक्रिय प्रणालीअन्र्तगत महन्त ठाकुरपछि राजेन्द्र महतोले नेतृत्व लिए ।  

यसै वर्ष जन्ममिति र शैक्षिक योग्यताको प्रमाणपत्रको विवादमा तानिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले पदावधि बाँकी रहँदै पदबाट राजीनामा दिए । सन् २०१८ मै सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीलाई संसदीय सुनुवाइ समितिले साउन १८ गते नियुक्तिका लागि अयोग्य भन्दै अस्वीकृत गरेपछि उनी पछिको दोस्रो वरियताका न्यायाधीश ओमप्रकाश मिश्र प्रधानन्यायाधीश बने । प्रधानन्यायाधीश मिश्रको कार्यकाल यही पुस १७ सम्म मात्र भएकाले संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सिरफारिश गरी सुनुावाइको प्रक्रिया अघि बढेको छ ।  ठूलो चासो र बहसका बीच भदौ १ गतेदेखि नयाँ मुलुकी देवानी संहिता लागू भयो ।

भदौ २४ गतेदेखि प्रधान सेनापतिमा नेपाली सेनाका बलाधिकृत रथी पूर्णचन्द्र थापा नियुक्त भए भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि प्रमुख आयुक्तका रुपमा नवीनकुमार घिमिरेलाई असोज ४ गते पायो । यसै वर्षको असोज ४ गते सङ्घीय संसद्का समितिले नेतृत्व पाए । यसै वर्ष सरकारले विभिन्न मुलुकमा रिक्त राजदूत नियुक्तिका लागि आठजनालाई सिफारिससमेत ग¥यो । 

झण्डै छ वर्षदेखि मृत्युसँग सङ्घर्ष गर्दै आएका काङ्ग्रेस नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बाँस्तोलाको असोज २७ गते निधन भयो । कात्तिक १८ गते मानवाधिकार नेता एवं नागरिक समाजका अगुवा पद्मरत्न तुलाधरको निधन भयो । यसै वर्षको पुस ३ गते पूर्वप्रधानमन्त्री डा तुलसी गिरिको निधन भयो ।  युनिभर्सल पिस फाउण्डेशनको आयोजनामा काठमाडौँमा भएको एशिया प्रशान्त सम्मेलनले पनि सबैको ध्यान खिच्यो ।

प्रदेश सरकार गठन भएको एक वर्ष नबित्दै सुदूरपश्चिम प्रदेशका मन्त्री दीर्घ सोडारी र प्रदेश नं ३ का केशव स्थापित बर्खास्त गरिए यसै वर्ष ।  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमितिको बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भयो । बैठकले काङ्ग्रेसलाई सङ्घीयताअनुसार पार्टीका संरचना विस्तार गर्न र समावेशी बनाउने विधान पारित ग¥यो । यसै वर्ष राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न धारहरुबीच एकीकरणको चर्चा चलेपनि निस्कर्षमा भने पुग्न सकेन ।

सन् २०१८ मानवीय क्षतिका दृष्टिले नेपाल र नेपालीका दुःखद वर्ष बन्न पुग्यो ।

विमान दुर्घटनासँगै यही वर्ष भ्रमणमा हिँडेका सहकारीकर्मी, विद्यार्थी, काम विशेषमा हिँडेका एकै ठाउँमा काम गर्ने मजदूर, एउटै गाउँका स्थानीयवासी सवार गाडी दुर्घटनामा परेर थुप्रै नेपाली दाजुभाइ दिदीबहिनीको मृत्यु भयो ।

एउटै घरमा पुरिएर एकै परिवारका सदस्यले समेत अनाहकमा ज्यान गुमाउनु प¥यो सन् २०१८ मा । सडकको नाजुक अवस्था, चालकको लापरवाही, तीव्र गति, ओभरटेक लगायतका कारण सडक दुर्घटना हुने गरेका छन् ।

सबैभन्दा कहालिलाग्दो घटनाको रुपमा यो वर्ष बङ्गलादेशबाट आएको युएस एयर–बङ्गला विमान दुर्घटना भयो । गएको फागुनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा विमान दुर्घटनाग्रस्त हुँदा ४९ जनाको मृत्यु भएको थियो । यो वर्षकै सबैभन्दा ठूलो दुर्घटना बन्न पुग्यो ।

यही पुसमा दाङको घोराहीस्थित शहीद कृष्णसेन इच्छुक प्राविधिक विद्यालयका विद्यार्थी चढेको गाडी सल्यान भ्रमणबाट फर्कने क्रममा तुलसीपुरमा दुर्घटना हुँदा शिक्षक–विद्यार्थी गरी २३ जनाको निधन भयो । दाङमै मङ्सिरमा चितवनबाट बेहुली लिएर बाँकेको शमशेरगञ्ज फर्कंदै गर्दा चाँडै घर पुगेर दुलही भित्र्याउने तयारी गर्न भनी जीपमा अगाडि हिँडेका दुलाहाका बाबुआमासहित छ जनाको दुर्घटनामा मृत्यु भयो ।

त्यस्तै, दुर्घटना मङ्सिरमा नुवाकोटमा पनि भयो । नुवाकोट दुप्चेश्वर गाउँपालिका १ घ्याङ्फेदीमा तामाङ जातिको मृत्यु संस्कारमा सहभागी भएर फर्कने क्रममा मिनिट्रक दुर्घटनामा एकै गाउँका २० सर्र्वसाधारणले ज्यान गुमाउन पुगे ।

असार महिनामा उपल्लो मुस्ताङको स्याङ्बोचेमा सडक निर्माणमा कार्यरत मजदूर निर्माणको काम रोकेर खाना खान टिपरको पछाडि बसेर आउँदै गर्दा दुर्घटनामा परेका थिए ।

जेठमा पाल्पा रम्भा गाउँपालिका ४ हुमिनमा तानसेनबाट रामपुरमा रहेको एक सहकारीको भ्रमणमा जाने क्रममा लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका सदस्यहरु चढेको बस भिरबाट खस्दा १५ जनाको मृत्यु हुन पुग्यो ।

डडेल्धुराको उग्रतारा भगवती मेलाबाट डोटी जाँदै गरेको से १ प २९३ नम्बरको स्कुल बस गएको मङ्सिरमा अमरगढी नगरपालिका ११ रडुवा खोलामा दुर्घटना हुँदा १६ जनाले ज्यान गुमाउनु प¥यो ।

कात्तिकमा डोल्पाको ठुलीभेरी नगरपालिका ९ कालागौंडास्थित बतासेबाट एउटा जीप भेरी नदीमा खस्दा १० जनाको मृत्यु भयो । भदौमा रौतहटको लालबकैया नदीमा डुङ्गा दुर्घटना हुँदा खेतबाट घाँस काटेर फर्कंदै गरेका १५ स्थानीयवासी बेपत्ता हुन पुगे ।

धेरै दुर्घटना हुने चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड सन् २०१८ सुखद बन्यो । तर गएको साउनमा चितवनको इच्छाकामना गाउँपालिकाको चुम्लिङटारमा काठमाडौँबाट स्याङजा जाँदै गरेको बस अर्काे गाडीसँग ठक्कर खाएर त्रिशूली नदीमा खस्दा आठ जनाको ज्यान गयो । साउनमा रुकुम पूर्वको सिस्ने गाउँपालिकास्थित मध्यपहाडी राजमार्गमा जीप दुर्घटना हुँदा सात जनाको अनाहकमा मृत्यु भयो ।

असोजमा दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको तीव्र गतिमा रहेको माइक्रोबस बाँकेको शमशेरगञ्जमा ट्रकसँग ठोक्किँदा छ जनाको मृत्यु भयो । गएको माघमा काठमाडौँबाट झापा जाँदै गरेकोे जीप धनुषामा दुर्घटना हुँदा ६ जनाको ज्यान गयो । उक्त दुर्घटना चालक निदाएका कारण भएको र सडक नजीकैको पोखरीमा डुबेकाले निस्सासिएर यात्रुको मृत्यु भएको प्रहरीको भनाइ थियो ।

मङ्सिरमा तीन वर्ष अघि मात्रै ट्रयाक खुलेको बाँके बहाकोट सडकको डाङ्ग्रे घुम्तीमा सुर्खेतबाट बाँके आउँदै गरेको जीप दुर्घटनाग्रस्त हुँदा पाँच जनाले ज्यान गुमाए ।

माघमा छोरा डा रञ्जनको बिहे छिनेर कपिलवस्तुबाट काठमाडौँ फर्कने क्रममा बा १ झ ३१४० नम्बरको सरकारी जीप धादिङको सलाङ्घाटबाट त्रिशूली नदीमा खस्दा सिँचाइ मन्त्रालयका सचिव रामानन्दप्रसाद यादव र भाञ्जी उन्नति गुप्ताको निधन भयो भने छोरा सन्तोष यादव बेपत्ता भए ।

पहिरोले पनि लग्यो ज्यान

बाढीपहिरोबाट पनि सन् २०१८ को वर्ष दुःखद बन्न पुग्यो । सुतिरहेका बेला एकै घरका मानिस पहिरोमा पुरिन पुगे ।

राति सुतिरहेका बेला साउनमा रसुवाको टिमुरेमा पहिरोमा पुरिएर नौ जनाको मृत्यु भयो । भदौमा सल्यानको बागचौर नगरपालिका ४ स्थित रामबहादुर विकको घर भत्कँदा एकै परिवारका पाँच जनाको मृत्यु भयो ।

साउनमा वर्षासँगै आएको पहिरोले जाजरकोटको भेरी नगरपालिकाको ठाँटी बजारका दुई घर पुरिंँदा सात बालबालिका सहित ८ जनाको मृत्यु भयो । उक्त पहिरोमा एकै घरका ४ जना परेका थिए ।

यता, सन् २०१८ मा एयर बङ्गलाको विमान दुर्घटनासँगै अन्य दुई वटा दुर्घटना पनि भए । गोरखाको सामागाउँबाट काठमाडौँका लागि उडेको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोट जिल्लाको मेघाङ गाउँपालिका १ मैलुङपाखामा भएको दुर्घटनामा ६ जनाको मृत्यु भयो । भाग्यवश एकजना बाँच्न सफल भए । यस्तै जेठमा मकालु एयर जहाज हुम्लामा दुर्घटना हुँदा चालक दलका दुई सदस्यको ज्यान गुम्यो ।


विशिष्ट व्यक्तिको निधन

सन् २०१८ नेपालका केही विशिष्ट व्यक्तिको निधन भयो । पूर्व प्रधानमन्त्री, पूर्व प्रधानन्यायाधीश, राजनीतिज्ञ, चिकित्सक, कलाकार, साहित्यकार, गायक र सञ्चार उद्यमीलाई मुलुकले गुमाए ।

कलेजोसम्बन्धी रोगका कारण पुस ३ गते पूर्व प्रधानमन्त्री तुलसी गिरीको ९३ वर्षको उमेरमा निधन भयो । विसं २०३२ सालमा प्रधानमन्त्री बन्नुभएका गिरी विसं २०१९ मा मन्त्रिपरिषद् अध्यक्ष हुनुभयो । पञ्चायती व्यवस्थाका सूत्रधार मानिने गिरी विसं २०१५ सालका वी पी कोईराला जननिर्वाचित प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।

मङ्सिरमा पूर्व प्रधानन्यायाधीश केदारप्रसाद गिरीको उच्च उक्तचाप र निमोनियाका कारण निधन भयो । उहाँ २०६४ सालमा प्रधान न्यायाधीश बन्नुभएको थियो । उहाँ संसदीय सुनुवाइको सामना गर्ने पहिलो प्रधान न्यायाधीश हुनुहुन्थ्यो ।

सन् २०१८ मा नेपाली काँग्रेसका दुई नेतालाई मुलुकले गुमाए । करीब छ वर्ष अघिदेखि अर्धचेत अवस्थामा रहनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलाको गएको असोजमा बाँसबारीस्थित न्यूरो अस्पतालमा निधन भयो । विसं २०४८ सालमा भारतका लागि नेपालका राजदूत रहेका बास्तोला २०५८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा परराष्ट्रमन्त्री बन्नुभएको थियो ।

मिर्गौला, छाती र नशासम्बन्धी रोगबाट पीडित नेपाली काँग्रेसका अर्का नेता तथा पूर्व मन्त्री खुमबहादुर खड्काको चैतमा निधन भयो । पञ्चायती शासनको अवसान र प्रजातन्त्र स्थापनामा उहाँको महत्वपूर्ण योगदान छ ।

कात्तिकमा मानवअधिकारकर्मी एवं वामपन्थी नेता पद्मरत्न तुलाधरको मस्तिष्काघातका कारण ७८ वर्षको उमेरमा नर्भिक अस्पतालमा निधन भयो । कम्युनिष्ट आन्दोलन र शान्ति प्रक्रियामा उहाँको महत्वपूर्ण योगदान छ ।

यही वर्ष असारमा एशियाकै अब्बल न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको निधन भयो । पित्तथैलीको क्यान्सरबाट पीडित डा देवकोटाको न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हो । पूर्व स्वास्थ्यमन्त्री हुनुभएका देवकोटा लामो समय बेलायत उपचार गरे पनि स्वास्थ्य अवस्था सुध्रिएन ।

एयर बङ्गलाका विमान दुर्घटनामा चितवनका वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापाको निधन भयो । बङ्गलादेशमा भएको चिकित्सासम्बन्धी गोष्ठीमा भाग लिएर नेपाल फर्कने क्रममा उहाँको निधन भएको थियो ।

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको यही वर्ष निधन भयो । माघमा बाज्राकीको ब्रेन स्ट्रोकका कारण निधन भएको हो । ब्राजाकीको सातवटा कथासङ्ग्रह र गजल सङ्ग्रहहरू प्रकाशित छन् ।

व्यावसायिक पत्रकारिताका अगुवा हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा असोजमा निधन हुन पुग्यो । उहाँ कान्तिपुर दैनिक र नेपाल रिपब्लिक मिडियाका संस्थापक हुनुहुन्थ्यो ।

साहित्यकार तथा सञ्चारकर्मी यज्ञनिधि दाहालको मिर्गौलासम्बन्धी रोगबाट साउनमा निधन भयो । विसं २०५७ सालमा दाहालको मिर्गौलाले काम नगरेपछि प्रत्यारोपण गरिएको थियो । 
वरिष्ठ कलाकार भीमबहादुर थापाको ९२ वर्षको उमेरमा जेठमा निधन भयो । ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लड्नुभएका थापाले झण्डै एक सयवटा चलचित्र र टेली चलचित्रमा अभिनय गर्नुभएको थियो ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी