परदेशीको बास्तबिक पिडा बोकेको गीत “सेतो साडी” सार्बजिनिक

88 Hits

लिला श्रेष्ठ।
‘…घर बग्यो बाढीमा, छोरो खाडीमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’

कामको खोजी र केही धन कमाएर परिवारलाई सुखका साथ राख्ने अभिलाषा बोकेर रुँदै घर अनि स्वदेश छोड्न बाध्य नेपालीहरुको संख्या दिनहुँ बढ्दै गएको छ ।

स्वदेशमा रहेको बढ्दो बेरोजगारी, राजनीतिक अस्थिरतालगायतका कारण विदेशिन बाध्य नेपालीहरु लाखौंको संख्यामा छन् । परिवारको पालन–पोषण मात्रै गर्न समेत स्वदेशमा रोजगारीको अवसर नमिलेपछि युवाहरु खाडी मुलुकतिर भासिन बाध्य छन् । ठूलो आकांक्षा बोकेर परदेश जाने नेपालीहरुलाई कहाँ सुख छ र ! खाडीको उच्च तापक्रम, विदेशिएपछि परिवारको सम्झनालगायत अनेक कारणले परदेशमा रहेका युवाहरु अहोरात्र तड्पिइरहन्छन् ।

वैदेशिक रोजगारीका कारण धेरै नेपालीका घर, सपना उजाडिएका छन् । धेरैका श्रीमान्–श्रीमती, छोरा–छोरी अलग–थलग भएका छन् । सामाजिक विचलन तीव्र बन्दै गएको छ । हजारौं चेलीहरु विदेशी भूमिमा तड्पिइरहेका छन् । भविष्य बनाउने रहरमा आफ्नो अमूल्य शरीर दाउमा राखेका विदेशिएका दाजुभाइ–दिदीबहिनीहरु कति त बाकसमा भरिएर आउँछन् । यो दुःख एउटा व्यक्तिको मात्र नभएर समग्र देशकै हो ।

‘…छोरो गयो परदेश, सबको ऋण तिर्नलाई
बाध्य बूढा बाबा काँधमा हलो भिर्नलाई…’

देशको कपटपूर्ण राजनीतिक अवस्था र केही आफ्नै नितान्त व्यक्तिगत बाध्यताले घरदेश छाडी परदेशमा जाने नेपालीलाई वास्तवमै पछाडि फर्केर हेर्दा कहाली नै लाग्छ ।

‘…कसो गरी खालास् बाबै, टुहुरो नाती
देशमा हुन्छ दुईटै खेती– ठगी राजनीति…’

गीतका यी हरफहरु धेरै वर्ष विदेशिएर नेपाल फर्किएका सिद्धिचरण नगरपालिका, ज्यामिरे, ओखलढुंगा निवासी जितेन्द्र बानियाँका हुन् । यथार्थमै भोगिएको उनको यो गीतिभावनालाई समाचार लेख्ने एक पत्रकारको कलमले व्यक्त गर्न शायदै नसक्ला । तर पनि भावना बुझ्न गाह्रो भने छैन ।

परदेशमा बसेर उनले मनका भावनालाई कलमको साथ लिएर कापीमा उतारे । सिर्जनाका आहलहरुमा डुबुल्की मारेर आफूलाई उत्तम सर्जकको स्तरमा पुर्‍याउने मेलो पनि बसाले । जीवनका तीता–मिठा भोगाइहरुलाई मनमा गुम्स्याएर राख्ने स्वभाव नभएका जितेन्द्रको साहित्यिक मन छ । मानसपटलमा रहेका उकुसमुकुस भावना र अनेकौं बोझहरुलाई कामको चापमा रहँदा पनि उनी गीत, कविता, मुक्त्तक, गजललगायतका साहित्यिक विधामा ढाल्दिईहाल्छन् ।

‘…दसैं मान्न आउँछु भन्थ्यो, यसैपालिमा
फर्क्यो रातो बाकसैमा, बुहारी छिन् सेतो साडीमा…’

विशेष गरी गजलका साथै मुक्त्तक विधामा कलम चलाउने जितेन्द्रका केही गीत रेकर्ड पनि भएका छन् । उल्लेखित शब्दहरू संयोजित गीत पछिल्लो चरणमा धेरै चर्चामा छ । सागरसंसार राईले गाएको उक्त गीतलाई विनोद बस्नेतले संगीतबद्ध गरेका हुन् । झन्डै दुई सयको हाराहारीमा गीत, कविता, गजल लेखिसकेका उनी अब भने आफ्नो सिर्जनालाई संग्रहित गर्न थालेको बताउँछन् ।

धेरै वर्ष कोरिया बसेर नेपाल फ़र्किएका जितेन्द्र अहिले समृद्ध नेपाल बनाउने अभियानअन्तर्गत कृषि व्यवसायमा जुटिरहेका छन् । नेपालमै पनि सम्भावना छ, केही गर्न सकिन्छ भन्ने भावना बोकेका उनी ‘लिखु एग्रिकल्चर नेपाल’ नामक कम्पनीमार्फत कृषिकर्ममा जुटेका हुन् ।

आफ्ना सबै विधाका सिर्जनाको वाचनमा समेत दख्खल राख्ने जितेन्द्र पर्दा पछाडिका राम्रो सर्जक भएको बताउँछन् उनलाई नजिकबाट जान्ने संचारकर्मी –साहित्यकर्मी रामनाथ घिमिरे ।

अब नेपालमै रहेर रोजगारीको सिर्जना गर्दै सरकारको अभियानलाई सहयोग गर्ने जितेन्द्रको भनाइ छ । नेपालमै रहेर काम गर्ने वातावरण बनाउनुका साथै वास्तविक नेपाल बनाउन समेत विदेशिने नेपाली दाजुभाइ–दिदीबहिनीहरुसँग उनको आग्रह छ ।

यता गीतकार जितेन्द्र बानियाँको भिडियो सहितको गित सेतो साडी सार्वजनिक गरिएको छ । राष्ट्रगानका रचयिता ब्याकुल माइलाले सेतो साडीको सार्वजनिक गरेका हुन् ।

संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागीको सभापतित्वमा भएको उक्त कार्यक्रममा विशेष अतिथि वरिष्ठ संगीतकार राजु सिंह र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली रहेका थिए । गायक सुमित खड्का, गायक बलबहादुर परियार, प्रेस काउन्सिलका सदस्य चेतनाथ धमला, ललितकला पत्रकार संघका अध्यक्ष केशव खनाल,पत्रकार,सर्बसाधारण,कलाकार लगायतको उपस्थितिमा सेतो साडीलाई सार्वजनिक गरिएको हो ।

बानियाँले परदेशमा भएका  घटनाक्रमलाई गीतमार्फत् उतारेका छन् । केहि कमाउने आशामा  विदेश पलायन हुदा त्यहाको समस्याले मृत्यु  पछि  रातो बाकसमा फर्किनुपर्दाको पिडा  साथै  अनेक सपनाहरु बोकेर बसेकी  प्रियसीको कथालाई जितेन्द्रले गीतमा उतारेका हुन् । 

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले खिचेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा सुरवीर पण्डित, सुनिशा बजगाईं र प्रविन केसीको अभिनय समेत रहेको छ ।

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी