मार्क्सबादबारे बाबुरामकाे नयाँ लेख

119 Hits

काठमाडौं, ३ पुस  –

विगत वर्षदेखि वैज्ञानिक समाजवादका प्रवर्तक कार्ल मार्क्सको २००औँ जयन्ती र सत्याग्रह, अहिंसा र ग्रामीण स्वराजका प्रवर्तक महात्मा गान्धीको १५०औँ जयन्तीको अवसरमा उनीहरूका विचार र अवधारणाबारे विद्वत्वर्गले विशेष चर्चा, परिचर्चा र अन्तरक्रिया गरिरहेछन् । 

२१औँ शताब्दीको सुरुमा फेरि हिजोका महान् व्यक्तित्व, चिन्तक, विचारक जसले समाज परिवर्तनका निम्ति महत्वपूर्ण भूमिका निर्वाह गरे, उनीहरूको विषयमा किन हामी छलफल, चर्चा गरिरहेका छौँ भने अब परिस्थिति फेरिएको छ । नयाँ युगका निम्ति नयाँ विचार र चिन्तनको आवश्यकता परेको छ । केही समयअघि अमेरिकाका विभिन्न प्रतिष्ठित विश्वविद्यालय भ्रमणमा रहेको समयमा त्यहाँका विचारक, चिन्तक, अध्येता, वैज्ञानिक, अनुसन्धानकर्तासँगको छलफलमा हामीले उनीहरू पनि नयाँ विचारको खोजीमा रहेको पायौँ । त्यसैले हिजोका विचारक र चिन्तकबाट हामीले के सिक्न सक्छौँ ? त्यसको निक्र्योल गर्दै हामी नयाँ विचार निर्माणमा लाग्नुपरेको छ ।

इतिहासका सबै महान् विचारकको लक्ष्य सम्पूर्ण मानव जातिको हित गर्नु थियो । तर, ‘मानव’बारे बुझाइ फरक थियो । अहिले प्रत्येक मानिसको डिएनए परीक्षण गर्न सकिन्छ । त्यसअनुसार करिब एक लाख वर्षपहिले उत्तरी अफ्रिकाबाट फैलिएको होमोसेपियन्स प्रजातिका नरबानरका सन्तान अहिलेका हामी सात अर्ब मानिस हौँ भन्ने पुष्टि भएको छ । मानवजातिको उत्पत्तिको विकासवादी सिद्धान्तबारे गान्धी र मार्क्सका पालामा चाल्र्स डार्बिनले पुराना हड्डीको जाँचबुझ गरेर मात्र भनेका हुन् । दर्शनशास्त्रमा पनि हिजो मानिसको शरीर र आत्मा, भौतिक परिवेश र चेतनाको सम्बन्ध के हो भन्ने ठूलो बहसको विषय थियो । त्यो अहिले पनि पूरै टुक्रिएको छैन । तर, आज हाम्रा पालामा विज्ञानको जुन विकास भएको छ, खासगरी क्वान्टम फिजिक्स, जेनेटिक्स र न्युरोसाइन्सको विकासपछि प्रत्येक चिजलाई सूक्ष्म यन्त्रले परीक्षण गरेर हेर्न सक्ने अवस्थामा हामी छौँ ।

हाम्रो मानव मस्तिष्क ८६ बिलियन न्युरोनबाट बनेको छ । त्यसका विभिन्न तन्तु जोडिएर र भौतिक संसारका असंख्य सूचना मस्तिष्कमा प्रशोधन भएर विचार बन्छ र नयाँ–नयाँ विचारको विकास हुँदै जान्छ । यसबारे न्युरोसाइन्स र संज्ञानात्मक मनोविज्ञानका परीक्षण अहिले पनि भइरहेका छन् । ती विषयमा हार्बर्डलगायत विश्वविद्यालयमा पछिल्लो समयमा खोज–अनुसन्धान, परीक्षण गरिरहेका वैज्ञानिकसँग पनि हामीले अन्तरक्रिया गर्ने अवसर पायौँ ।

यसरी भन्नुको अर्थ के हो भने बुद्धदेखि माक्र्स हुँदै गान्धीसम्मका चिन्तकले त्यतिवेलासम्म प्राप्त ज्ञान र भौतिक परिवेशका आधारमा मानवीय हितका लागि आफ्ना विचार प्रतिपादन गरेका थिए र त्यसैको प्रयोग खासगरी २०औँ शताब्दीमा भयो । जुन मूलतः दुईवटा धारमा विभाजित भयो । पहिलो, व्यक्तिलाई प्रधानता दिने उदारवादी पुँजीवादी धार र दोस्रो, समूह वा वर्गलाई प्रधानता दिने मार्क्सवादी साम्यवादी धार थियो । तिनकै आधारमा २०औँ शताब्दीमा ठूला–ठूला युद्ध भए, क्रान्ति भए, परिवर्तन पनि भए, जुन मानव इतिहासको सबैभन्दा उथलपुथलपूर्ण शताब्दी थियो । 
तर, अहिले २१औँ शताब्दीको सुरुवात सँगसँगै करिब–करिब त्यो चरण सकिएको छ । अहिले आउँदा बल्ल पूरै मानव संसार साँच्चै एक–आपसमा गहिरोसँग जोडिएको छ । भौतिक, जैविक, सामाजिक विज्ञानका नियमलाई जोड्ने ‘युनिफाइड थ्योरी अफ एभ्रिथिंग’को खोजी भइरहेछ । डिजिटल प्रविधि, नानो टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स आदिको प्रयोगबाट चौथो औद्योगिक क्रान्ति भइरहेछ ।

भौतिक उत्पादन अर्थात् वस्तु र सेवाको प्रचुरता मानव इतिहासमा यति पहिले कहिल्यै भएको थिएन । त्यसैले हामी निराश हुनुहुन्न । सबै सकियो, बर्बाद भयो, फेरि पछाडितिर फर्किऔँ भन्ने जुन एउटा सोच छ, त्यो मान्न सकिन्न । तथ्यकै आधारमा सत्य खोज्नुपर्छ । तथ्यले के भन्छ ? आजभन्दा सय वर्षपहिले मानव जातिको औसत आयु कति थियो ? सन् १९०० मा मानिसको औसत आयु २९ वर्ष थियो । अहिले ७१ वर्ष पुगेको छ । यो विकास र प्रगति हो कि होइन ? हाम्रो कुल वस्तु र सेवाको उत्पादन आजभन्दा दुई सय वर्षपहिले करिब १० ट्रिलियन डलर (आजको मूल्यमा) भन्दा कम थियो । अहिले संसारको मानव जातिको भौतिक सम्पत्ति र सामाजिक सेवाको मूल्य १ सय २० ट्रिलियन डलर पुगेकोे छ । हामीले त्यतिवेलाको प्रतिव्यक्ति आय हे-यौँ भने सबैको हजार डलरभन्दा कम थियो । अहिले संसारका सबैलाई बराबर बाँड्ने हो भने पनि प्रतिव्यक्ति आय १० हजार डलर हुन्छ । ठीक ढंगले बाँड्यौँ भने हामी सबैलाई खान–लाउन पुग्छ, सबै सुखले बाँच्न सक्छौँ । के यो प्रगति होइन ?

तर, हरेक कुरामा सकारात्मकसँगै नकारात्मक पाटा पनि हुन्छन् । किनभने, हामी पशुजगत्बाट विकसित हुँदै आएका हुनाले हामीमा आंशिक पाशविक र आंशिक मानवीय पक्ष हुन्छ । एउटा मानवीय पक्ष छ, जुन करुणामय हुन्छ, प्रेममय हुन्छ, शालीन हुन्छ, विवेकसंगत हुन्छ र उसले त्यसको प्रवर्द्धन गर्छ । त्यस्तै अर्को पशुवत् पक्ष छ, जसले आवेग, स्वार्थ, लोभ, हिंसाको पक्षपोषण गर्छ । हामी पशुवत् चरित्र र मानवीय चरित्रलाई सँगसँगै वरण गरिरहेका हुन्छौँ, मानवीय चरित्रको प्रवद्र्धन र पशुवत् प्रवृत्तिविरुद्ध संघर्ष गरिरहेका हुन्छौँ । त्यसैले ऋषिमुनि, दार्शनिक, अग्रणी चिन्तकको भनाइ जहिले पनि मानवीय पक्ष हाबी बनाउनुपर्छ भन्ने हो । कृष्ण, बुद्ध, कन्फ्युसियस, क्राइस्ट, मोहम्मद, नानक हुँदै पछिका गान्धीसमेतले पशुवत् गुणको न्यूनीकरण गर्ने र मानवीय गुणलाई प्रधानता दिने भनेका छन् । ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग्भवेत्’ धेरै पहिले भनिएको हो । तर, त्यसो भएन, किनकि त्यतिवेला त्यसअनुकूल भौतिक परिवेश बनिसकेको थिएन, मान्छेको चेतना त्यति विकसित भइसकेको थिएन । ती चिन्तकले समस्याको कारण मान्छेभित्र अर्थात् व्यक्ति–व्यक्तिभित्र खोजे ।

त्यसैले उनीहरूले पहिले आफू बदलिने र व्यक्तिलाई बदल्ने कुरा गरे । आफू रूपान्तरण होऔँ, जुन हामीभित्र रहेको पशुवत् गुण छ, त्यसलाई अन्त्य गरौँ भने । गान्धी निरन्तर आफैँले आफैँलाई परीक्षण गर्थे । उनी आफ्नो कामवासना कति नियन्त्रण गर्न सकिन्छ भनेर परीक्षणसमेत गर्थे । गान्धीले आफ्नो आत्मकथामा आफूमा पशुवत् गुण कति छ, कति नियन्त्रण गर्न सकिन्छ भनेर आफैँमा परीक्षण गरेको र आफूभित्र मानवीय गुणलाई बढावा दिने कोसिस गरेको चर्चा गरेका छन् । उनले प्रतिपादन गरेका सत्याग्रह, अहिंसा, स्वराजजस्ता अवधारणाको स्रोत त्यही थियो ।

अर्कातिर, भौतिकवादी दार्शनिकले चेतना भौतिक जगत्बाट पैदा हुन्छ भने र द्वन्द्ववादी चिन्तकले चेतना–वस्तु निरन्तर गतिशील हुन्छ र आफैँभित्रका विपरीतको घर्षणले एकले अर्कालाई निषेध र रूपान्तरण गर्दै नयाँ नयाँ चेतना–वस्तु पैदा हुँदै जान्छ भने । यस धारका सर्वश्रेष्ठ चिन्तक मार्क्सले यी दुवै दार्शनिक प्रवर्गलाई अन्तरघुलित गरेर निर्मित द्वन्द्वात्मक भौतिकवादी चिन्तन प्रणालीलाई समाज र अर्थतन्त्रको विकासमा प्रयोग गर्दै दुनियाँ बदल्न व्यक्ति–व्यक्ति बदल्ने होइन, विद्यमान सामाजिक उत्पादन प्रणालीलाई बदल्नुपर्ने अवधारणा अघि सारे । सामूहिक रूपमा उत्पादन प्रणालीलाई फेरेपछि व्यक्ति, समाज पनि फेरिन्छ भन्ने मार्क्सको सिद्धान्तको मूल पक्ष हो । सामाजिक वर्गबीचको संघर्षले समाज रूपान्तरित हुँदै साम्यवादमा पुग्छ र नयाँ ‘पूर्ण मान्छे’ तयार हुन्छ भन्ने माक्र्सको विचारको सार हो । 

अहिले यहाँ आइपुग्दा यी दुईवटै चिन्तनधार र बाटाहरू अपूर्ण देखिएका छन् । गान्धीले सय वर्षअगाडि चर्चा गरेको सत्याग्रह, अहिंसा र स्वराजको अवधारण गलत होइन । त्यो मानवीय गुण हो, मानवीय पद्धति र मानवीय संस्कार हो । तर, अहिंसाको पक्षमा उभिरहँदा पाशविक गुणयुक्त केही मानिस सत्तामा बसेर तपाईंमाथि दमन गर्छन् भने त्यसमा तपाईं के गर्नुहुन्छ भन्ने मुख्य प्रश्न हो । गीताबारे गान्धीले धेरै ठाउँमा उल्लेख गरेका छन् । गीता हिन्दू साहित्यमध्येको सर्वश्रेष्ठ साहित्य हो । तर, गीताका अनेक अर्थ रहेका छन् ।

मानिसको भौतिक समृद्धि र सुखका निम्ति आवश्यक आर्थिक विकास र समाज तथा राज्यको संगठन प्रणालीबारे पनि मार्क्स र गान्धीको मोडेल फरक–फरक र आफैँमा अपूर्ण छन्

एकातिर शान्तिको कुरा छ भने सँगसँगै हिंसाको कुरा पनि लेखिएको छ यसमा । जनयुद्ध सुरु गर्दा हामीले गीताका ती कुरा पटक–पटक भन्ने गथ्र्यौँ । गीतामा स्पष्ट भनिएको छ– ‘मरे तिमी स्वर्ग पुग्छौ, बाँचे पृथ्वीको भोग गर्छौ, त्यसैले हे अर्जुन, उठ र युद्धका निम्ति तयार होऊ ।’ कृष्णले यस्तो उपदेश दिएका छन् । यो पनि गीता नै हो । त्यसैले सबै धर्मशास्त्रमा अहिंसा र हिंसा दुवै कुरा रहेका छन् । समय र परिस्थितिअनुसार कुन प्रयोग गर्ने भन्ने मात्र हो । हामीले त आमरूपमा शान्ति, समानता र भ्रातृत्वको खोजी गर्ने हो । तर, त्यसविरुद्ध अर्को पशुवत् पक्ष जब समाजमा हाबी हुन्छ, राज्यमा हाबी भएर पशुवत् आचरण गर्छ भने त्यसविरुद्ध संघर्ष गर्नुपर्छ कि पर्दैन ? अवश्य पर्छ । त्यसैले माक्र्सले भने, ‘हामीले सम्भव भएसम्म शान्तिपूर्ण बाटो अपनाउनुपर्छ, तर आवश्यक परे हिंसाका निम्ति पनि तयार हुनुपर्छ ।’ तर, आज मार्क्स को बाटोको बिम्ब निरपेक्ष रूपले हिंसाको बाटोजस्तो बन्न पुगेको छ, जुन विडम्बनापूर्ण छ ।

मानिसको भौतिक समृद्धि र सुखका निम्ति आवश्यक आर्थिक विकास र समाज तथा राज्यको संगठन प्रणालीबारे पनि मार्क्स र गान्धीको मोडेल फरक–फरक र आफैँमा अपूर्ण छन् । माक्र्सले आधुनिक प्रविधि, ठूलो पैमानाको उत्पादन, औद्योगिकीकरण र आधुनिकतावादको बाटोबाट वैज्ञानिक समाजवादमा पुग्ने अवधारणा प्रस्तु गरेका छन् भने गान्धीले प्रारम्भिक प्रविधि, आत्मनिर्भर कृषि र साना उद्योगसहितको ग्रामीण स्वराजको मोडेल अघि सारेका छन् । सन् १९४५ तिर गान्धी र नेहरूबीच आदान–प्रदान भएका चिठीहरू यस सन्दर्भमा रोचक र उपयोगी हुन सक्छन् । तीमध्ये एउटा चिठीमा गान्धीले नेहरूलाई ‘अबको मेरो उत्तराधिकारी तिमी नै हौ, जवाहरलाल’ भन्दै ग्रामीण स्वराजका कुरा, व्यक्तिलाई विकासको केन्द्रमा राख्ने कुरा, व्यक्ति एउटा गाउँमा रहने कुरा, २० वटा गाउँको एउटा इकाइ हुने र त्यसवरपर तेर्सो ढाँचामा समाजको संगठन गर्ने आफ्नो स्वराजको कल्पनाबारेमा बताएका छन् । त्यसको जवाफ दिँदै आधुनिकतावादका पक्षधर र फेबियन समाजवादी नेहरूले भनेका थिए, ‘एउटा गाउँ आफैँमा कसरी सत्य र अहिंसाको प्रतिमूर्ति हुन सक्छ भन्ने म बुझ्दिनँ ।

सामान्य रूपमा एउटा गाउँ वैचारिक र सांस्कृतिक रूपले पिछडिएको हुन्छ र पिछडिएको वातावरणमा बढी प्रगति गर्न सकिन्न । साँघुरो चिन्तन भएका मानिस झन् बढी असत्यका पक्षधर र हिंसात्मक हुने सम्भावना हुन्छ ।’ त्यसरी नै नेहरूले गान्धीलाई पठाएको अर्को जवाफी पत्रमा ‘हिन्द स्वराजको अवधारणा मलाई पूर्ण रूपले अवास्तविक लाग्यो’ भनेर गान्धीका विचारप्रति असहमति जनाएका थिए । यी कुरालाई हामीले लुकाउनुहुन्न, लटरपटर गर्नुहुन्न । गान्धीले पुँजीवाद र आधुनिकतावादको विषयमा विरोध गरेको राम्रो हो । गान्धीले औद्योगिक क्रान्तिपश्चात् भएको अनियन्त्रित सहरीकरण र ठूला पैमानाका उद्योगले प्रकृतिको विनाश गरे भनेको सही हो ।

त्यसैले हामी सानो गाउँकेन्द्रित पर्यावरणमुखी विकासको बाटोमा लाग्नुपर्छ भन्नु अत्यन्त राम्रो हो । तर, त्यहाँसम्म पुग्नका निम्ति हेगेलले ‘पुरानालाई नयाँले निषेध गर्छ र फेरि त्यो नयाँलाई अर्को नयाँले निषेध गर्छ, यसरी निषेधको निषेध हुँदै समाज अगाडि बढ्छ’ भनेर भनेको कुरालाई स्मरण गर्नुपर्छ । कसैले चाहँदैमा एकैचोटि आदर्श समाज बन्दैन । हेगेलको प्रणालीलाई थप विकसित गर्दै माक्र्सले पिछडिएको गाउँले कृषि अर्थतन्त्रलाई पुँजीवादले विस्थापित गर्छ र पुँजीवादलाई वैज्ञानिक समाजवादले विस्थापित गर्छ भन्ने सिद्धान्त प्रतिपादन गरेका हुन् । तर, २०औँ शताब्दीको अनुभव भनेजस्तो सुखद रहेन । त्यसैले अब हामीले पुरातन र सानोको महिमामण्डन गर्ने गान्धीको बाटो र आधुनिक र ठूलोको पूजा गर्ने माक्र्सको विकासको बाटोका सबल र दुर्बल पक्षको मूल्यांकन गर्दै तीव्र आर्थिक वृद्धि, न्यायपूर्ण सामाजिक वितरण, वातावरणीय दिगोपन र मानवीय खुसीको सन्तुलन रहने ‘क्रिटिकल मोडर्निज्म’को नयाँ विकासको बाटो अनुशरण गर्न सक्नुपर्छ । 

राजनीतिको क्षेत्रमा सच्चा सहभागितामूलक लोकतान्त्रिक प्रणालीको विकास नयाँ युगको अर्को चुनौती हो । अहिलेको जुन केन्द्रीकृत राज्यसत्ता छ, चाहे त्यो साम्यवादको नाममा होस्, चाहे उदारवादी लोकतन्त्रको नाममा, यो नक्कली (फेक) लोकतन्त्र हो । खालि चुनाव हुनु मात्र लोकतन्त्र होइन । दुईतिहाइ बहुमत प्राप्त सरकार हामीले अहिले देखिरहेका छौँ । यसलाई त ‘कम्युनिस्ट’ भनिएला, तर अमेरिकामा ‘उदारवादी’ ट्रम्पलाई पनि देख्नुभएकै छ । बडो पुँजीवादी लोकतान्त्रिक ढंगले आएका ट्रम्पले ‘अमेरिका फर्स्ट’ र गोरा नश्लवादको उत्पात मच्चाइरहेका छन् । त्यसैले अहिले संसारमा जुन नक्कली लोकतन्त्र र नक्कली साम्यवाद छ, यसको सट्टामा जनताको प्रत्यक्ष सहभागिता हुने र जनता नै मालिक हुने सच्चा लोकतन्त्रको मोडेल हामीले विकास गर्नैपर्छ । त्यस निम्ति गान्धीको ‘स्वराज’को अवधारणा र मार्क्सको ‘राज्यको बिलोपीकरण’को अवधारणा अबका दिनमा महत्वपूर्ण सन्दर्भ सामग्री हुन सक्छन् । 

सारमा, अहिलेसम्मको मानवजातिको जैविक विकास र सामाजिक विकासको मूल ध्येय ‘पूर्ण मानव‘ बन्ने नै हो । खासगरी पुँजीवादले खण्डित र विकृत बनाएको मानवतालाई पूर्ण र स्वस्थ बनाउने बाटाहरू मात्र फरक हुन् । गान्धीले पुँजीवादपूर्वको प्राकृतिक र ग्रामीण वातावरणमा फर्कने कुरा गरे भने मार्क्सले पुँजीवादले विकास गरेको उत्पादक शक्तिको जगमा टेकेर पूर्ण ‘सामाजिक मानव’ बनाउने परिकल्पना गरे । हिजोको अल्पविकसित उत्पादक शक्ति, प्रविधि, चेतना र सामाजिक सम्बन्धले ती उदास परिकल्पनालाई साकार पार्न सक्दैनथे भने अहिले २१औँ शताब्दीको विकसित वस्तुगत र आत्मगत परिस्थिति र शक्ति ‘पूर्ण मानव’ बन्नका निम्ति अनुकूल बन्दै गएका छन् । 

अहिलेको विश्वको प्रतिव्यक्ति आम्दानी १० हजार डलरले सबै मान्छेलाई उसका आधारभूत आवश्यकता पूरा हुन सक्छ । अहिलेको डिजिटल प्रविधिको पहुँच र प्रयोगले सबैलाई शिक्षित, सचेत र सीपयुक्त बनाउन सकिन्छ । अहिलेको स्वास्थ्यविज्ञानको अभूतवूर्व प्रगतिले सबैलाई रोगमुक्त गर्न वा उपचार गर्न सकिन्छ । अहिलेको अतिपरिष्कृत र स्वचालित यन्त्र उपकरण र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोगले सबैको श्रमघन्टा न्यूनतममा कटौती गर्न सकिन्छ र बचत समय मानिसको सिर्जनशील, सौन्दर्यशास्त्रीय प्रयोग र विकासमा लगाउन सकिन्छ । समग्रमा, भोजन, स्वास्थ्य, आवास, शिक्षा, श्रम, मनोरञ्जन, सिर्जना, सुरक्षा, पर्यावरणलगायत सबै आवश्यकताको पर्याप्त प्रत्याभूति सबैलाई एकैसाथ गर्न सकिने वस्तुगत अवस्था मानव इतिहासमा पहिलोचोटि सिर्जना भएको छ । यो मानव जातिको सामूहिक प्रयत्नको प्रतिफल हो र यसको उपभोगको समान अवसर प्राप्त गर्ने सम्पूर्ण विश्व मानव समुदायको साझा अधिकार हो । 

परन्तु त्यो उदात्त समाज–व्यवस्था निर्माण र कार्यान्वयनका गम्भीर चुनौती पनि छन् । पहिलो, जैविक र ऐतिहासिक रूपमा प्रत्येक मान्छेभित्र बाँकी रहेको पाशविक गुण र प्रवृत्ति, जसको नियन्त्रण र न्यूनीकरण प्रक्रिया निकै जटिल र दीर्घकालीन प्रकृतिको हुनेछ । दोस्रो, ऐतिहासिक, सामाजिक, सांस्कृतिक कारणले सिर्जना भएका नश्लीय, जातीय, वर्गीय, लैंगिक, भाषिक, धार्मिक, जातपातजन्य विभेदहरू र तिनले निम्त्याउने संघर्ष जसलाई न्यूनीकरण र अन्त्य गर्न लामो सचेतन र व्यवस्थित प्रयत्न आवश्यक हुनेछ ।

तेस्रो, राष्ट्र–राज्यहरूबीचको प्रतिस्पर्धा, प्रभुत्व, सामरिक स्वार्थ, अन्ध–राष्ट्रवादको व्यवस्थापन, न्यूनीकरण र अन्ततः एउटै विश्व महासंघको निर्माण, जुन अहिलेको महाशक्ति र शक्ति राष्ट्रहरूको उपस्थिति रहुन्जेल निकै कठिन र जटिल हुनेछ । चौथो, अन्तर्राष्ट्रिय र भित्री–राज्यस्तरमा विद्यमान आर्थिक असमानता, पुँजी र प्रविधिको एकाधिकार, व्यापार–युद्ध, आप्रवासन आदिको व्यवस्थापन, न्यूनीकरण र अन्त्य निकै चुनौतीपूर्ण रहनेछ । पाँचौँ, आणविक हातहतियार, वातावरण विनाश, आर्टिफिसियल इन्टेलिजेन्सलगायत नवीनतम प्रविधि–आविष्कारको जोखिम व्यवस्थापन र अन्त्य आदि सम्भवतः सबैभन्दा चुनौतीपूर्ण हुनेछन् । 

परन्तु मानव जातिको सामूहिक सामथ्र्य र अन्तर्निहित असलपनको सही परिचालन हुन सकेमा यी चुनौतीहरूलाई उज्ज्वल सम्भावनामा परिणत गर्न उत्तिकै सहज पनि हुनेछ । यसका निम्ति सबभन्दा पहिले हामीले नयाँ युगको संगीन कार्यभारलाई मार्गदर्शन गर्ने वैचारिक कम्पासको आविष्कार गर्नु अपरिहार्य छ । त्यस्तो युगान्तकारी वैचारिक यन्त्रको विकास विश्व मानवीय सामूहिक चेतना र प्रयासबाटै सम्भव हुनेछ र त्यसका निम्ति निश्चित प्रक्रियाबाट गुज्रनुपर्नेछ । त्यो प्रक्रियाको थालनीमा विनम्र योगदान गर्न हामी यहाँ ‘वैज्ञानिक मानवातावाद’को अवधारणा सार्वजनिक बहस विमर्सका निम्ति प्रस्तुत गर्न चाहन्छौँ ।

‘मानवतावाद’ यस अर्थमा कि यसले होमोसेपियन्सबाट जैविक र ऐतिहासिक रूपले विकसित विश्वका सम्पूर्ण मानव जातिको सामूहिक हित र उन्नयनको पक्षपोषण गर्नेछ र त्यस निम्ति उपयुक्त वैचारिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक औजारहरूको आविष्कार र निर्माण गर्नेछ । ‘वैज्ञानिक’ यस अर्थमा कि यो अमूर्त काल्पनिक अवधारणा नभएर ऐतिहासिक रूपले विकसित, नवबानर चरणदेखिका विकासक्रमका कतिपय अवशेषसहितको र विभिन्न जाति, क्षेत्र, वर्ग, लिंग, समुदायमा विभाजित मानव समुदायको विविधतालाई आत्मसात् र सम्बोधन गर्ने वैचारिक हतियार हुनेछ । समग्रमा ‘वैज्ञानिक मानवातावाद’, प्रत्येक मान्छेको र मानव जातिको सामाजिक चरित्रको संरक्षण र प्रवद्र्धन गर्ने आजसम्म मानव जातिले आर्जन गरेको सबै ज्ञान–विज्ञान, अनुभव, योगदान र बलिदानको सर्वोच्च संश्लेषण हुनेछ । – नयाँ पत्रिकाबाट साभार 

Follow @brb1954

Loading...

Related News

Comments are closed




मूलखबर मिडिया प्रालि

सुचना विभाग दर्ता नं - ४६८/०७४/७५

अनामनगर, काठमाडौं

०१-४७७०२७६


अध्यक्ष- रामकुमार कार्की
प्रबन्ध निर्देशक – सन्तोष पौडेल
सम्पादक – संगिता खड्का
संवाददाता – एकराज खनाल,
व्यवस्थापक : पदम लामा
डेस्क – लिलाराज श्रेष्ठ
प्रदेश नं १ संवाददाता – मनोज भट्टराई
प्रदेश नं २ संवाददाता – महेश्वर अधिकारी
प्रदेश नं ३ संवाददाता- लिलाराज श्रेष्ठ
प्रदेश नं ४ संवाददाता- विमला अधिकारी